बुटवलकाे अमरपथमा सुन पसलमा चाेरी : करिव ७० ताेला सुन गायव

1.3K

बुटवलकाे अमरपथमा सुन पसलमा चाेरी : करिव ७० ताेला सुन गायव

बुटवलकाे अमरपथमा एउटा सुन पसलमा चाेरी भएकाे छ ।बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलबाट करिब ७० तोला सुन तथा सुनका गरगहना चोरी भएको हाे ।
हरेक सोमबार बन्द रहने अमरपथ बजारमा सोमबार बिहान उक्त पसलको सटर खुला देखेपछि छिमेकीले पसल सञ्चालक दीपक सेन्चुरीलाई सम्पर्क गर्ने प्रयास गरेका थिए। उनी घुमघामका लागि पोखरा गएको थाहा पाएपछि उनका बुवा तुलबहादुर सेन्चुरी पसलमा पुगेका थिए ।
पसलमा लकर खुला रहेको र सुनका गरगहना गायब भएको देखिएको थियो । घटनास्थलमा ५०/६० वटा चाबी रहेको ठूलो झुप्पा समेत फेला परेको छ ।
चोरी भएको पसलको च्यानल गेट र सटरमा कुनै क्षति नदेखिएकाले ‘मास्टर चाबी’ प्रयोग गरी चोरी गरिएको हुन सक्ने आशंका गरिएको छ । २०४२ सालदेखि सञ्चालनमा रहेको उक्त पसल वरपर अन्य सुनचाँदी पसल समेत छन् भने करिब डेढसय मिटरको दूरीमा प्रहरी बिट पनि छ ।
पसलमा जडान गरिएका भित्री तथा बाहिरी दुवै सीसीटीभी क्यामेरा करिब तीन महिनादेखि बिग्रिएको पाइएको छ । पसलका कर्मचारी नवीन विकका अनुसार बेलुका नियमित रूपमा बन्द गरेर गएको पसल बिहान चोरी भएको अवस्थामा फेला परेको हो । पसलमा रहेका दुई लकरमध्ये सुन तथा गरगहना राखिएको लकर मात्रै खोलिएको र अर्को लकर यथावत रहेको उनले बताए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले पसल सञ्चालकको प्रारम्भिक जानकारी अनुसार सुनका गरगहना र काँचो सुन गरी करिब ७० तोला चोरी भएको छ । घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।