बस बिसौनी बाहेक अन्यत्र बस नरोक

1.3K

बस बिसौनी बाहेक अन्यत्र बस नरोक

तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने क्षेत्रमा सार्वजनिक सवारीसाधनलाई तोकिएको बस बिसौनीबाहेक अन्यत्र रोक्न तथा अनावश्यक रूपमा हर्न बजाउन रोक लगाएको छ ।
नगरपालिकाले यातायात व्यवसायीहरुलाई पत्र पठाउँदै उक्त निर्देशन गरेको हो । नगरपालिकाले यस क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रदान गरेका पश्चिम नेपाल बस व्यवसायी प्रालि र सिद्धार्थनगर सार्वजनिक यातायात प्रालिलाई पत्र पठाउँदै मुख्य चोक, चौबाटो तथा अत्यधिक भिडभाड हुने स्थानमा जथाभावी सवारी रोक्ने, यात्रु चढाउने–ओराल्ने र तीव्र आवाजमा हर्न बजाउने कार्य नगर्न निर्देशन दिएको हो ।
जथाभावी बस रोक्दा सडक दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा गम्भीर असर परेको र अनावश्यक हर्नका कारण सर्वसाधारण, विद्यार्थी तथा बिरामीलाई प्रत्यक्ष असर परेको गुनासो आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले क्षेत्रभित्र तोकिएका बस बिसौनीमा मात्रै यात्रुवाहक सवारी रोक्ने व्यवस्था मिलाउन, मुख्य चोक, मोड तथा अत्यधिक भिडभाड हुने सडकखण्डमा सवारी रोकी यात्रु चढाउने–ओराल्ने कार्य नगर्न र अनावश्यक रूपमा तीव्र आवाजमा हर्न (प्रेसर हर्न) नबजाउन निर्देशन दिएको छ । नगरपालिकाले यातायात व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन निर्देशनको पालना गर्न सम्बन्धित यातायात व्यवसायी तथा चालकलाई आग्रह गरेको छ । निर्देशन कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवा र अस्थायी प्रहरी पोस्ट मणिग्रामलाई समेत बोधार्थ पठाइएको छ ।