यहि असाेज १६ गते देखि गर्ने भनिएकाे नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछि सरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार विज्ञप्ती जारी गरेर महाधिवेशन असोज १८ गते देखि गर्ने जनाएको छ ।
यसअघि महाधिवेशनअन्तर्गतका वडा, गाउँपालिका तथा नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेको थियो । तर पछिल्लो समय देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएको कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा केही निर्वाचन क्षेत्रमा अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया जारी रहेको उल्लेख गरेको छ ।
यही परिस्थितिलाई मध्यनजर गर्दै १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया पूरा गर्ने क्रममा मौसमजन्य प्रतिकूलताले पारेको प्रभावलाई समेत ध्यानमा राखेर उद्घाटन समारोहको मिति परिवर्तन गरेको जनाएको छ ।
यसअघि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।