काठमाडौं, जेठ ,केहीबेर अघि स्थगित भएको संसद् बैठक फेरि सुरु भएको छ । बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अहिले अर्थमन्त्री विष्णु पाैडेलले जवाफ दिएका छन।
व्यवस्थापिका संसदमा सोमबार सुरु भएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल आज सकिएको छ । बजेटमाथि सांसदहरुले राखेको प्रश्नहरुको जवाफ अपरान्ह तीन बजे अर्थमन्त्री विष्णु पौडेलले दिनेछन् । त्यतिन्जेल सम्मको लागि संसद बैठक स्थगित भएको सभामुख ओनसरी घर्तीमगरले जानकारी दिइन् ।यसैबीच बजेट छलफलमा विभिन्न दलका विभिन्न सांसदहरुले आ-आफ्नो मन्तवय राखेका छन् ।राससका अनुसार सत्तारुढ दलका सांसदले सरकारले ल्याएको बजेट कार्यान्वयनमुखी भएको र प्रतिपक्षी सांसदले बजेट हचुवामा वितरणमुखी भएको धारण राखेका छन् ।व्यवस्थापिका–संसदको आजको बैठकमा पनि आव २०७३/७४को राजस्व व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहँदा सत्ता पक्ष र विपक्षका सांसदले दलगत धारणा राखे ।छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद दीपक गिरीले सामाजिक सुरक्षाभत्ता वृद्धि बजेटले गर्नु सकारात्मक पक्ष भएको तर स्थानीय, प्रदेश तथा संसद्को निर्वाचनका लागि बजेट पर्याप्त नभएको धारणा राखे ।नेकपा (एमाले)का सांसद सुरेन्द्र पाण्डेले आफ्नो स्रोतमा द्रूतमार्ग आफैँ बनाउन रु १० अर्ब बजेट विनियोजन हुनु सकारात्मक पक्ष भएको तर तराई–मधेसका २० जिल्लामा नयाँ सहर बनाउने कार्यक्रमअन्तर्गत चितवन र दाङलाई पनि समावेश गर्न माग गरे ।उनले रु २० करोड विनियोजन गरेर हरेक गाउँमा मोटरबाटो पुर्याउने कार्यक्रम अति महत्वकांक्षी भएको पनि बताए ।पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले सार्वजानिक खरिद ऐनलाई संशोधन गर्न, पुँजीगत र वैदेशिक खर्च बढाउन, खर्च गर्न गर्ने क्षमता बढाउन, कृषिमा राखिएका अपेक्षा पूरा गर्न ध्यान दिन सुझाव दिए ।नेकपा (माओवादी) केन्द्रका हितराज पाण्डेले राष्ट्रिय पुँजीको स्रोत निर्माण गर्न निजी, सहकारीलाई साथ र विश्वासमा लिन बजेटले ध्यान नदिएको चर्चा गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न बजेटले प्राथमिकता नदिएको टिप्पणी गरे ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद सयेन्द्र वान्तवाले बजेटले समग्रमा सबै क्षेत्रलाई समेटेको, संविधान कार्यान्वयन गर्नमा केन्द्रित रहेको चर्चा गर्दै राजनेताको स्मृतिमा विनियोजित बजेट विनियोजन गर्दा तत्कालीन प्रम स्वर्गीय सूर्यबहादुर थापा, मरिचमानसिंह श्रेष्ठ र राप्रपा नेपालका नेता चन्द्रबहादुरुर गुरुङको नाम छुट भएकाले सच्याउन माग गरे।राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् परशुराम तमाङले भूकम्पका समयमा राहत, उद्धार गरेँ भनी फेसबुकमा फोटो राखेको भरमा सरकारले पदक वितरण गरेकामा आपत्ति जनाए ।नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले प्रज्ञा प्रतिष्ठान राजनीतिक दलका कार्यकर्ताका भर्ती केन्द्र भएको भन्दै ‘गानेगुसे सबै एकै नासे’ जस्तै अधिल्ला सरकारले जस्तै वर्तमान सरकारले बजेट ल्याएको टिप्पणी गरिन् ।नेपाली काँग्रेसका मनमोहन भट्टराईले पुँजीगत खर्च, वैदेशिक सहायता, कृषि, जलविद्युत्का क्षेत्रबाट अपेक्षित प्रतिफल नयाँ बजेटबाट ननिस्कने बताउनुभयो । उनले आर्थिक समृद्धिका लागि बजेटले निजी क्षेत्रबाट राखेको अपेक्षा पनि पूरा नहुने, समृद्धिको शब्द बजेटमा राख्दैमा समृद्धि नआउने बताए ।नेकपा (एमाले)का केशव बडालले बजेटले सहकारीलाई उच्च प्राथमिकता दिएको, संविधानको कार्यान्वयनमा जोड दिएकाले उसलाई सबैले समर्थन गर्नुपर्नेमा जोड दिए ।सांसद आशा चुतर्वेदीले दिउँसै सपना देख्ने गरी बजेट आएको टिप्पणी गर्दै बजेट कार्यान्वयनमा ध्यान दिन सुझाव दिइन् ।
तराई मधेस आन्दोलनरत दलले व्यवस्थापिका–संसदको आजको बैठक पनि बहिष्कार गरेका छन् ।बैठक सुरु हुनेबित्तिकै सांसद शिवजी यादवले तराई मधेस केन्द्रीत दलहरुले विभिन्न माग राखी आन्दोलन सुरु गरेको वर्ष दिन पुग्दा पनि सरकार गम्भीर बन्न नसकेकामा आपत्ति जनाए ।
तराई मधेसको आन्दोलनलाई छिमेकी देशसँग जोडेर भ्रम सिर्जना गर्न खोज्नु आफैँमा दुर्भाग्य भएको भन्दै सांसद यादवले शान्तिपूर्ण आन्दोलन नयाँ चरणमा प्रवेश गरेको जानकारी दिए
आन्दोलन ती पार्टीले सरकारद्वारा सदनमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफलमा सहभागी भएका छैनन् ।