नयाँ शक्तिको भेला सकियो

1.3K

नयाँ शक्तिको  भेला सकियो

naya sakti

काठमाडौं/नयाँ शक्ति नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ।आन्दोलनरत पक्षका माग सम्बोधनका लागि संविधान संशोधन गरिनुपर्ने, भ्रष्टाचार र जनताले भोग्नुपरेका कालोबजारीका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने लगायतका विभिन्न ८ बुँदे समसामयिक प्रस्ताव पारित गरेर नयाँ शक्ति नेपालको राष्ट्रिय भेला मंगलबार सम्पन्न भएको हो।भेलाको समापनका क्रममा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पार्टीको दुष्मन कोही नरहेको भन्दै जतिसक्दो धेरैलाई समेट्ने कार्यशैली अपनाएर संगठन विस्तार गर्न साधारण सदस्यहरुलाई निर्देशन दिए।उनले साधारण सदस्यहरुको ठूलो संख्याले सामूहिक रुपमा सपथ खाएर सानदार ढंगले पार्टीको सुरुवात भएको भन्दै पार्टीले अब समुद्रको गहिराइमा पुगेर मोती निकाल्ने गरी काम गर्ने बताए। उनले भारत र चीन जस्ता ठूला बजार नजिकै रहेको तथा प्राकृतिक र जैविक रुपमा नेपाल निकै धनी रहेको भन्दै सकारात्मक सोच लिएर काम गर्दा मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको बताए। उनले आलोचना गर्नेहरुलाई जवाफ फर्काएर भन्दा रुखले झैं फल दिने गरी काम गरेर मुलुकलाई समृद्ध बनाइ छाड्ने अठोट गरे।नयाँ शक्तिले भेलाको समापनका क्रममा पार्टीको आम्दानी र खर्चको विवरण पनि सार्वजनिक गरेको छ। पार्टीकी लेखा शाखाकी सविना अर्यालले आम्दानीतर्फ सदस्यताबाट १७ लाख ५ हजार, चन्दाबाट २५ लाख, प्रवेश शुल्कबाट ७ लाख ५० हजार तथा  सचिवालयका सदस्य र अन्तरिम परिषद् सदस्यबाट ८ लाख ६० हजार रुपैयाँ संकलन भएको जानकारी गराइन्। सदस्यता शुल्कवापत १ करोड ३ लाख २२ हजार रुपैयाँ संकलन हुन बाँकि छ। सार्वजनिक गरिएको विवरण अनुसार भेलाका क्रममा १ करोड ४ लाख रुपैयाँ खर्च भएको छ। प्रचार प्रसार, मञ्च निर्माण, खाना खर्च लगायतका शीर्षकमा भएको खर्चमध्ये ५० लाख रुपैयाँ मात्र तिरिएको नयाँ शक्ति नेपालले जनाएको छ।भेलाले केन्द्रीय समिति बनाउन नसके पनि समापनका क्रममा संगठन विभाग प्रमुख देवेन्द्र पौडेल लगायतका नेता तथा कार्यकर्ताहरुले नाचगान गरेर खुसी बाँडेका थिए।