गुल्मी, १५ असार । जिल्ला अदालत गुल्मीले लापरबाही गरी बस दुर्घटना गराएको भन्दै बसका चालक पाल्पा अर्गली–२ निवासी २५ वर्षीय श्रीधर पाण्डेयलाई दुई वर्षको कैद सजायको फैसला गरेको छ ।
बस चालक पाण्डेले नौ महिनाअघि रेसुङ्गा नगरपालिका–१४ अन्तर्गत बुटलबाट तम्घास आउने क्रममा उर्लेनीमा लापरबाही तरिकाले बस दुर्घटना गराएको अभियोगमा पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत गुल्मीका न्यायाधीश मातृकाप्रसाद मरासिनीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) बमोजिम दुई वर्ष कैदको फैसला गर्नुभएको हो ।
पाँचजनाको ज्यान जानेगरी भएको उक्त दुर्घटनामा लापरबाहीको अभियोग लागेका पाण्डेयलाई प्रहरी आफँैले तीव्र गति भनी दिएको बयान, भिडियो रेकर्ड, सडक दुर्घटनाको अवस्था, प्रत्यक्षदर्शी र घाइतेको भनाइका आधारमा उक्त फैसला गरेको न्यायाधीश मरासिनीले बताउनुभयो ।