लेखनाथका योगदानलाई जीवन्त राख्न कवि शिरोमणि सङ्ग्रहालय

899

लेखनाथका योगदानलाई जीवन्त राख्न कवि शिरोमणि सङ्ग्रहालय

snapshotवासुदेव पौडेल
पोखरा,। नेपाली साहित्यका विशिष्ट प्रतिभा कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थान लेखनाथ नगरपालिका वडा नं ६ अर्घौं अर्चलेमा निर्मित कवि शिरोमणि सङ्ग्रहालय साहित्यानुरागीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।

कवि शिरोमणि पौड्यालले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानलाई जीवन्त राख्न कवि शिरोमणि जन्मस्थल विकास समिति गठन गरी उक्त समितिको सक्रियतामा विगत ६ वर्ष यता उहाँको जन्मघरलाई सङ्ग्रहालयका रुपमा विकास गरिएको हो ।

जन्मघरलाई संरक्षण गर्नुका साथै उहाँको जीवनीका सम्पूर्ण पक्षलाई एकै ठाउँबाट जानकारी पाउन सक्ने व्यवस्था मिलाउन पक्की भवन निर्माण कार्य अघि बढाइसकिएको छ ।

समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार लेखनाथको जन्मस्थानका साथै यस आसपासमा समेत उहाँको योगदानलाई चिरस्थायी बनाउन बृहत्तर गुरुयोजनाका साथ काम अघि बढाइएको छ ।

“अर्घौं अर्चलेमा कवि शिरोमणिको जन्मघर समेतलाई समेटेर लगभग २५ रोपनी क्षेत्रफलमा उहाँका जीवनका विभिन्न पक्ष समेटिने गरी सङ्ग्रहालय, साहित्यिक समारोह कक्ष, साहित्यकारहरूका लागि अतिथि गृह जस्ता संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ,” उहाँले भन्नुभयो, “अर्चले जाने बाटोमा पर्ने ठूली पोखरी क्षेत्रको लगभग १४ रोपनी क्षेत्रफल जग्गामा तरुण तपसी पार्क निर्माण गर्ने योजना अघि सारिएको छ ।”

कवि शिरोमणिले आफैं तपस्वी बनी रुखलाई पात्र बनाएका कारण निर्माणाधीन पार्कमा पिपलको चौतारो बनाएर उक्त चौतारामुनि तरुण तपसी सुतिरहेको मूर्ति निर्माण गरिने लामिछानेले जानकारी दिनुभयो ।

सङ्ग्रहालय एवम् पार्क निर्माणको योजना चरणबद्ध रुपमा अघि बढ्ने बताउँदै उहाँले पार्क परिसरमा रहने पोखरीमा प्रकृतिप्रेमी लेखनाथको सालिक राख्ने र साहित्य सम्मेलनका लागि ट्रष्ट सहितको सभाकक्ष बनाउने सोच राखिएको छ ।

अर्चलेकै दोपहरे पाखाबाट बाल्यकालमा लेखनाथ पौड्यालमा कवि बन्ने प्रेरणा जागृत भएको घटनालाई स्मरणयोग्य बनाउन उक्त पाखामा गाई चराउँदै गरेको, काका पितृप्रसादले कविता लेखेको र पछाडिबाट लेखनाथले कविता भट्याएको विम्बात्मक दृश्य राख्ने तयारी गरिएको छ ।

नेपाली साहित्यका प्राध्यापक एवम् विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराका प्राचार्य अम्बिकाप्रसाद भट्टराई कवि शिरोमणिलाई बाल्यकालमा काका पितृप्रसादको वचनले कवि बन्ने मार्गमा डो¥याएको बताउनुहुन्छ ।

उहाँका अनुसार बाल्यकालमा गाई चराउन जाँदा काका पितृप्रसादले कविता लेखेको देखेका पौड्यालले पछाडिबाट कविता भट्याउँदा ‘तँ फुच्चेले कविता भन्न सक्दैनस्’ भन्ने जस्ता वचनबाट लेखनाथमा कवि बन्ने तीव्र इच्छा जागृत भएको हो । पछि लेखनाथलाई स्वर्गद्वारी महाप्रभुको ठूलो कवि बन्ने आर्शिवाद पनि प्राप्त भएको प्राचार्य भट्टराईको भनाइ छ ।

“लेखनाथका कवि जीवनका यावत् पक्षलाई समेटेर सङ्ग्रहालय, पार्क लगायतका संरचना निर्माण गरिनाले अर्घौं अर्चले साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्ने कुरालाई सुनिश्चित गरेको छ,” उहाँले भन्नुभयो ।

नेपाली साहित्यलाई माध्यमिक कालबाट आधुनिक कालतर्फ डो¥याउने सेतुका रुपमा लेखनाथ पौड्याल रहेको बताउने साहित्यकार तीर्थ श्रेष्ठ उहाँका योगदानलाई चिरस्थायी बनाउने सोचका साथ सङ्ग्रहालय, पार्क जस्ता संरचना बनाउने योजना प्रत्येक साहित्यानुरागीका लागि हर्षको विषय भएको बताउनुहुन्छ ।

उहाँका अनुसार स्थानीय तहको चासोबाट मात्र यी कार्यहरू सम्पन्न हुन नसक्ने हुँदा यसलाई राज्यको प्राथमिकतामा पारिनुपर्छ ।

सङ्ग्रहालय, पार्क लगायतका स्थानमा पौड्यालका जीवनीका विभिन्न पक्ष समेटिएका संरचना निर्माण गर्न विश्वविद्यालय, प्रतिष्ठान र प्रकाशन संस्थाको सहयोग पनि आवश्यक हुने उहाँले बताउनुभयो ।

विकास समिति एवम् सरोकारवाला निकायले विभिन्न विश्वविद्यालय, प्रतिष्ठानका साथै सङ्घ संस्थासँग समन्वय गरी अघि बढ्नुपर्ने श्रेष्ठको धारणा छ ।

पृथ्वी राजमार्गको लेखनाथ चोकबाट यातायातका साधन प्रयोग गरी लगभग २० मिनेटमा पुग्न सकिने अर्घौं अर्चलेस्थित कवि शिरोमणिको जन्मघरलाई सङ्ग्रहालयका रुपमा विकास गर्न थालिए सँगै धेरै साहित्यानुरागी तथा पर्यटकहरू सङ्ग्रहालय आउने क्रम सुरु भएको उक्त सङ्ग्रहालयको रेखदेख गर्दै आउनुभएका कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

“कवि शिरोमणिका कवि जीवनका धेरै पक्ष समेटिने गरी सङ्ग्रहालयमा विभिन्न सामग्री राखिएका छन्,” उहाँले भन्नुभयो, “सङ्ग्रहालयको मुख्य प्रवेशद्वारभित्र कलात्मक ढुङ्गामा लेखिएका कविता पढ्दै जन्मघरको अवलोकन गर्न पर्यटक लोभिने गरेका छन् ।”

विशेष गरी सार्वजनिक विदाको दिन साहित्यकार तथा पर्यटक सङ्ग्रहालयमा आउने गरेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्र, राष्ट्रियता, अध्यात्म, नेपाली संस्कृति लगायतका विषयमा लेखिएका पौड्यालका कविता सङ्ग्रहालयको प्रवेशद्वार हुँदै जन्मघरसम्म विभिन्न ढुङ्गामा लेखिएका कारण आउने पर्यटकले त्यसलाई निकै चाखका साथ हेर्ने गरेका छन् ।

राष्ट्र र राष्ट्रियताको चर्को बहस चलेको वर्तमान अवस्थामा सङ्ग्रहालय भित्र लेखिएको

“रहन सहन वा भाषा भेष
फरक भएता पनि यो देश ।
सबको प्यारो मङ्गल माली
यसका जनता सब नेपाली ।।”

जस्ता कविताले प्रत्येक नेपालीको मर्मलाई छुने गरेको नेपाली विषयका अध्यापक एवम् पत्रकार विष्णुहरि पौडेल बताउनुहुन्छ ।

नेपाली साहित्यमा कवि शिरोमणि पौड्यालले गर्नुभएको विशिष्ट योगदानलाई युगौंयुगसम्म बचाई राख्न निर्माणाधीन सङ्ग्रहालय तथा पार्क अत्यन्त उपयोगी हुने बताउँदै उहाँले यसले साहित्य तथा पर्यटनलाई पनि एकै ठाउँमा जोड्ने विश्वास व्यक्त गर्नुभयो । रासस