सिटिइभिटीद्वारा मापदण्ड परिवर्तन

794

सिटिइभिटीद्वारा मापदण्ड परिवर्तन

ctvt

भक्तपुर, २४ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना हुन मापदण्ड परिवर्तन गरेको छ ।

सिटिइभिटी राष्ट्रिय पाठ्यक्रम बोर्डको आज बसेको बैठकले भर्ना मापदण्ड परिवर्तन गरीे प्राविधिक विषयको डिप्लोमा कोर्समा भर्ना हुन यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको हो ।

सिटिइभिटीले एसएलसीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘डी प्लस’ ल्याउने विद्यार्थीले समेत डिप्लोमा कोर्समा भर्ना हुन पाउने व्यवस्था गरेको सिटिइभिटीका सदस्य–सचिव डा रामहरि लामिछानेले जानकारी दिनुभयो ।

यसअघि डिप्लोमा तहको सबै विषय अध्ययनका लागि अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी ग्रेड’ ल्याएको हुनुपर्ने व्यवस्था गरेकामा अहिले यो परिवर्तन गरेको हो । सिटिइभिटीले स्वास्थ्य विषयको डिप्लोमा कोर्सका लागि जिपिए कम्तीमा दुई, अङ्ग्रेजी, गणित र विज्ञानमा ‘सी’ ल्याएको हुनुपर्ने व्यवस्था भने यथावत् राखेको छ ।

इन्जिनियरिङतर्फ डिप्लोमा पढ्न अङ्ग्रेजीमा ‘डी प्लस’, विज्ञान र गणितमा ‘सी’ भए पुग्ने आजको बैठकले निर्णय गरेको लामिछानेले जानकारी दिनुभयो ।

कृषि र वनमा डिप्लोमा कोर्स पढ्नको लागि अङ्ग्रेजी, गणित र विज्ञानमध्ये दुई वटामा ‘सी’ र एउटामा ‘डी प्लस’ भए पनि भर्ना हुन पाउने र होटल म्यानेजमेन्ट, उद्यमशीलता विकास र सोसल वर्कजस्ता विषयमा डिप्लोमा कोर्सका लागि अङ्ग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ भए पनि भर्ना पाइने व्यवस्था गरेको सदस्य–सचिव लामिछानेले जानकारी दिनुभयो ।