अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

202

अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

dahal

काठमाडौंँ, १४ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले आज भेटवार्ता भएको छ ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, नेपाल चीन सम्बन्धका विभिन्न आयामबारे कुराकानी भएको थियो ।

अध्यक्ष दाहालले वर्तमान राजनीतिक घटना क्रमबारे प्रष्ट्याउँदै अब केही दिनभित्र आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो नेतृत्वमा अब बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता एवम् शान्ति, पुनःनिर्माण र विकासलाई तीव्रताका साथ आगाडि बढाउने बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा अध्यक्ष दाहालले पछिल्लो चरणमा आफूहरुसमेत सहभागी सरकारले चिनियाँ सरकारसँग गरेका सन्धि, सम्झौता र समझदारी आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका सहमतिकै परिणाम भएको बताउनुभएको थियो ।

उहाँले अब बन्ने सरकारले चिनियाँ सरकारसँग भएका सन्धि, सम्झौता र समझदारीलाई कार्यान्वयन गर्दै अझ नयाँ सहमति निर्माण गर्ने बताउनुभयो ।

उक्त भेटका क्रममा राजदूत चुन्ताईले अब बन्ने सरकारलाई चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने बताउनुभएको थियो ।

उहाँले अब बन्ने सरकारमार्फत नेपालको विकासको निम्ति चिनियाँ सरकारको पूर्ण साथ, सहयोग र समर्थन रहने उल्लेख गर्नुभएको थियो ।