कालाजारका बिरामी भेटिए

1.3K

कालाजारका बिरामी भेटिए

kalajar

पाल्पा, २९ साउन । जिल्लामा पछिल्ला दुई वर्षको अवधिमा कालाजारको बिरामी भेटिन थालेका छन् । तराईका जिल्लामा महामारीका रुपमा रहेको कालाजारको जीवाणु यसवर्ष पाल्पाका छ जना बिरामीमा भेटिएको छ ।

अघिल्लो वर्ष तीन जनामा कालाजारको जीवाणु भेटिएको थियो । पाल्पाका मानिस तराईमा बसोबास गर्ने र आफन्तका घरमा आवतजावतले गर्दा कालाजारका बिरामीको सङ्ख्या बर्सेनि बढ्ने खतरा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेढ वर्षअघि रुप्सेमा दुई र गेझामा एक जना बिरामीमा कालाजारका जीवाणु भेटिएको थियो । यो वर्ष मस्याम, दोभान, देउराली, सत्यवती, हुँगी र पीपलडाँडामा एक÷एक जना गरी छ जना कालाजारका बिरामी फेला परेको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार कालाजारका बिरामीलाई तीव्र ज्वरो आउने, छालामा कालो दाग देखिने, वान्ता हुनेलगायत लक्षण देखिन्छ । युनाइटेड अस्पताल मिसन र लुम्बिनी मेडिकल कलेजमा कालाजार रोगको परीक्षण र उपचार हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाशङ्करप्रसाद चौधरीले बताउनुभयो ।

बढ्दो गर्मी, प्रदूषण, बसाइँसराइ, स्याण्डफ्लाइ भुसुनाको टोकाइबाट कालाजार सर्न सक्ने बताइएको छ ।