अमलटारीका महिलामा अङ्ग्रेजी सिक्दै

649

अमलटारीका महिलामा अङ्ग्रेजी सिक्दै

amaltari

कावासोती, ३० साउन । थारु घरबासका महिला अहिले अङ्ग्रेजी बोलचाल सिक्नमा व्यस्त छन् । तीनवर्ष अगाडि नवलपरासीको कावासोती– १५ स्थित अमलटारी गाउँलाई थारु घरबासका रुपमा सञ्चालन गरिएपछि यहाँका महिलामा अङ्ग्रेजी मोह बढेको हो ।

पाहुनाको स्वागत–सत्कारदेखि खाना र बासका लागि महिलाले नै बढी काम गर्ने भएकाले उनीहरुलाई अमलटारी थारु घरबासले प्रशिक्षक नियुक्ति गरेर अङ्ग्रेजी सिकाएको होम स्टेका व्यवस्थापक धनीराम गुरौले जानकारी दिनुभयो ।

“नब्बे दिनको सामान्य अङ्ग्रेजी बोलचालको अभ्यास गराएका छाँै” व्यवस्थापक गुरौले भन्नुभयो – “विदेशी पाहुनाको सङ्ख्या वर्षका ६०० का हाराहारीमा आउँछन् । उनीहरुका लागि अङ्ग्रेजी चाहियो, त्यसैले सिकाएका हौँ ।” घरमा बस्दा पाहुनासँग बोल्ने गर्दा उनीहरु रमाउने र हाम्रो संस्कृति बुझाउन सकिने भएकाले अङ्ग्रेजी बोलचाल प्रभावकारी भएको होम स्टे सञ्चालक धनमाया महतोले बताउनुभयो ।

प्रकृति पथप्रदर्शक रुपमा समेत काम गरी अङ्ग्रेजी भाषामा दख्खल राख्ने धनबहादुर मर्दनियाले ३० थारु महिलालाई अङ्ग्रजी सिकाउनुभएको छ । सरकारले अमलटारी गाउँलाई पर्यटकीय गन्तव्य गाउँ घोषणा गरेको छ ।

थारु महिलासँगै बोटे समुदायका पाँच महिला पनि यहाँ अङ्ग्रेजी सिक्छन् । बोटे संस्कृतिको पनि प्रस्तुति हुने भएकाले उनीलाई अङ्ग्रेजी कक्षामा सहभागी गराइएको व्यवस्थापक गुरौले जानकारी दिनुभयो ।