निकासी बन्द हुदा कालोबजारी : निर्माण व्यवसायी

183

निकासी बन्द हुदा कालोबजारी : निर्माण व्यवसायी

Nirman

भैरहवा, ८ भदौ । नदीजन्य पदार्थको निकासी बन्द हुदां बजारमा ढुंगा गिट्टी बालुवाको कालोबजारी मौलाएकोप्रति लुम्बिनी निर्माण व्यवसायी संघले चासो देखाएको छ । संघका महासचिव त्रिभुवनदत्त मिश्रले बुधबार प्रेस विज्ञप्तीजारी गर्दैै नदीजन्य पदार्थको ठेक्का समयमा नखुल्दा ठेक्का सम्झौता भईसकेका निर्माणका कामहरु समेत प्रभावित भएको जनाएका छन् ।

संघले ढुंगा गिट्टी बालुको मुख्य स्रोत क्रसर उद्योगको सन्चालन नहुदा निर्माणको काम समेत प्रभावित भएको जनाएको छ । मिश्रद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ “ जिल्ला विकास समितिले नदीजन्य पदार्थको समयमा ठेक्का नगर्दा अरबौँ लागतका क्रसर उद्योग समेत प्रभावित भएका छन् । क्रसर उद्योग बन्द हुदां महंगो मूल्यमा ढुंगा गिट्टी, बालुवा अन्य जिल्लाबाट खरिदगर्नुपर्ने बाध्यता सृजना भएको छ ।”

संघले निर्माण सामग्रीहरुको मूल्यमा आइरहेको उतारचढाव प्रति पनि ध्यानकर्षण भएको जनाएको छ । उसले भनेको छ “हामी निर्माण व्यवसायीहरु निश्चित समयमा काम सम्पन्न गर्नेगरी निश्चित योजना र लागतको सीमिततामा रही विभिन्न निर्माण सम्बन्धी ठेक्का करार सम्झौता गरेका हुन्छौँ तर आवश्यक ढुङ्गा गिट्टी बालुवा समयमा पाउन नसक्दा हाम्रो व्यवसाय प्रभावित भएको छ । ”

निर्माण क्षेत्रका निर्माण व्यवसायी आवद्ध संघका सदस्यहरुले सरकारी तथा गैरसरकारी निर्माणको कामको सम्झौता गर्दा निर्माणको लागि आवश्यक  गिट्टी, बालुवा र ढुङ्गा सजिलै र पर्याप्त मात्रामा पाउने वातावरण नबनाएसम्म समस्या आइरहने पनि जनाएका छन् । विज्ञप्तीमा अगाडी भनिएको छ “हामी भूकम्प पछिको पुर्ननिर्माणको समयमा छौँ यस्तो बेलामा गुणस्तरीयतामा विशेष ध्यान दिनु जरुरी छ ।

यसर्थ हाम्रो आग्रह छ, निजी आवास तथा राष्ट्रिय आयोजना एवं स्थानीय परियोजना र सबै किसिमका निर्माण क्षेत्रमा गुणस्तरीयतालाई कायम गर्न राज्यले अनुगमनलाई प्रभावकारी बनाओस् । जिल्ला विकास समितीले विशेष रुपमा चासो राख्दैं यथाशिघ्र नदिजन्य पदार्थको कानुन बमोजिम ठेक्का लगाओस्,  मापदण्ड पुगेका क्रसरलाई निर्वाध चल्न दिइयोस् र राष्ट्रिय आयोजना एवं स्थानीय परियोजना समयमै सम्पन्न गर्न सबै पक्षबाट आवश्यक सहयोगको अपेक्षा गर्दछौं ।”