आज तिहारकाे मुख्य दिन भाइटीका

1.3K

आज तिहारकाे मुख्य दिन भाइटीका

नेपालभर आज नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका हर्षोल्लासका साथ मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्छन् ।
दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार र सौभाग्यका प्रतीक सामग्री प्रदान गर्ने परम्परा रहिआएको छ । दिदीबहिनीलाई पूजा गर्दा ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ । यद्यपि, आज दिनभर टीका लगाउन कुनै बाधा नरहेको समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालले जानकारी दिएका छन् । समितिका अनुसार, राज्य सञ्चालनकर्ताले भने साइतमै टीका लगाउनुपर्ने प्रचलन छ ।
यस वर्ष तिथि वृद्धि भई भाइटीका छैटौं दिन परेको छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ र भाइटीकाको दिनलाई यमद्वितीया नामले चिनिन्छ । यस दिन दिदीबहिनीले पूर्वतर्फ र दाजुभाइले पश्चिमतर्फ फर्केर टीका लगाउने परम्परा छ, जसअनुसार तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने विश्वास गरिन्छ ।
टीका लगाउँदा शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद्हरू बताउँछन् । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्ट चिरञ्जीवी (मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम), चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपत्यादि देवता र नवग्रहको पनि पूजाआराधना गरिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाइदिएपछि मखमली, सयपत्री र गोदावरी फूलका माला लगाइदिन्छन् र शुभकामना व्यक्त गर्छन् ।
तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन प्रचारमा आए पनि धर्मशास्त्रविद् एवम् समितिका सदस्य देवमणि भट्टराईका अनुसार शास्त्रीय रूपमा भाइटीकामा पाँच रंगको—रातो, सेतो, पहेंलो, हरियो र नीलो—टीका लगाउनुपर्ने हुन्छ ।
टीका पश्चात् दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला, सेलरोटी जस्ता परम्परागत परिकार प्रदान गर्छन् भने दाजुभाइले पनि गच्छेअनुसार कपडा, दक्षिणा र उपहार दिई स्नेह र सम्मान प्रकट गर्छन् ।
यसरी भाइटीका पर्वले दिदीबहिनी र दाजुभाइबीचको प्रेम, स्नेह र आत्मीय सम्बन्धलाई अझ गाढा बनाउने कार्य गर्दछ ।