गरिमा हत्या प्रकरण : बुवा-आमासँग गृहमन्त्रालयमा वार्ता

1.3K

गरिमा हत्या प्रकरण : बुवा-आमासँग गृहमन्त्रालयमा वार्ता

बाराको जितपुरसिमराकी तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणलाई लिएर अहिले गृह मन्त्रालयमा पीडित परिवार र सरकारबीच वार्ता भइरहेको छ । गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीसँग गृहमन्त्री सुधन गुरुङसहित गृह मन्त्रालयको टोलीले छलफल गरिरहेको हो ।
वार्तामा गरिमा हत्या घटनाको अनुसन्धान, पक्राउ परेका व्यक्तिमाथिको कारबाही, पीडित परिवारलाई न्याय तथा घटनापछि उत्पन्न परिस्थितिबारे छलफल भइरहेको बताइएको छ । छलफलमा कृषिमन्त्री गीता चौधरी र कानुनमन्त्री सोविता गौतम पनि सहभागी छन् ।
तीन वर्षीया गरिमा गत आइतबार बिहान करिब साढे ८ बजेदेखि बेपत्ता भएकी थिइन् । उनको शव मंगलबार साँझ घरबाट करिब २ सय मिटर नजिकै रहेको एक खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
गाउँको बीचमा रहेको उक्त खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनलाई बलात्कार पछि हत्या गरिएकाे क्षतविच्छेत अवस्थामा फेला पारिएकाे हाे ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले तालिमप्राप्त कुकुरसहित खोजतलास गरि उनीहरुलाई पक्राउ गरेकाे थियो । पक्राउ परेकामाथि घटनामा उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।
गरिमाको हत्याको विरोधमा देशभर प्रदर्शनसमेत भएका छन् । दोषीलाई कडा कारबाही गर्नुपर्ने, घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै विभिन्न स्थानमा प्रदर्शन भएको हो ।