शुक्रबार बहुप्रतिक्षित टिमहरु स्पेन र पोर्चुगल भिड्दै

474

शुक्रबार बहुप्रतिक्षित टिमहरु स्पेन र पोर्चुगल भिड्दै

काठमाडौं । विश्वकप फुटबलमा शुक्रबार बहुप्रतिक्षित टिमहरु स्पेन र पोर्चुगल भिड्दै छन् । समुह बी को खेलमा यी दुई टोलीले पहिलो खेल खेल्न लागेका हुन् । खेल शुक्रबार राति ११ः४५ बजे सुरु हुनेछ ।

अहिले व्यवस्थापनको हिसाबमा स्पेन केही समस्यामा रहेको देखिएको छ । स्पेनले प्रशिक्षक बर्खास्त गरेपछि भने व्यवस्थापकीय हिसाबमा स्पेन केही कमजोर बन्न पुगेको छ । स्पेनको टोलीमा विश्वकप सुरु हुनुभन्दा एक दिनअघि मात्र बाँकी रहेको अवस्थामा स्पेनको टोलीमा देखिएको समस्याले नकारात्मक प्रभाव पार्नसक्ने देखिन्छ ।

प्राविधिक हिसाबमा अहिले स्पेन निकै बलियो अवस्थामा रहेको छ । रियाल मड्रिड र बार्सिलोनाको मिडफिल्डले स्पेनको टोलीलाई थप बल प्रदान गरेको छ । यद्यपि पछिल्लो समय स्पेनको टोली केही कमजोर भने देखिएको छ । सन् २००८ र २०१२ को युरो विजेता टोलीले सन् २०१० को विश्वकप जितेको थियो ।

यो टोलीको डिफेन्स पनि निकै राम्रो छ । विश्वकपको वार्म अपको खेलमा पनि यो टोलीले निकै राम्रो प्रदर्शन गरेको थियो । साथै विश्वकपअघिका २० खेलहरुमा स्पेनले हारेको छैन ।

त्यसैले टोलीका नयाँ प्रशिक्षकलाई यो विश्वकपमा टोलीलाई आठ वर्षपछि उपाधि जिताउने मौका हुनेछ । यो टोलीको लागि गोलकिपर डेभिड गिया, रामोस, इनिस्टा, सिल्भाजस्ता खेलाडीहरुको साथ निकै महत्वपूर्ण हुनेछ ।

पोर्चुगलको टोली पनि यो विश्वकपको बलियो टोलीमध्येको एक हो । सन् २०१६ को युरो विजेता टोलीले यसपटकको विश्वकपमा राम्रो प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ ।

यो टोलीमा केही एक्लै पनि खेल जिताउन सक्ने क्षमताका खेलाडीहरु रहेको कारण पोर्चुगलको यात्रा केही सहज हुनसक्छ । यो टोलीले पछिल्लो २९ खेलमा केवल दुई खेलमात्र हारेको छ । जसमा चिलीसँगको कन्फेडेरेसन कपमा बेहोरेको हार पनि सामेल छ ।

पछिल्लो १० खेलमा यो टोलीले ३२ गोल गरिसकेको छ । जसले स्पेनलाई यो खेलमा समस्यामा पार्नसक्छ । यो टोलीका लागि रोनाल्डो, पेपे, ग्युरेरियोजस्ता खेलाडीहरुको प्रदर्शन महत्वपूर्ण रहनसक्छ ।

हेड हु हेड 
यी दुई टोलीहरु अहिलेसम्म ३६ पटक भिडेका छन् । जसमा स्पेनले आधा अर्थात् १८ खेलहरु जितेको छ भने केवल छ खेलहरु हारेको छ । सन् १९५० यता भएको १६ खेलमा पोर्चुगलले पाँच खेल जितेको छ भने सात खेल बराबरीमा सकिएको छ ।

सन् २०१२ को युरोमा पनि यी दुई टोलीहरु एकापसमा भिडेका थिए । सो खेल पेनाल्टी सुटआउटमा स्पेनले जितेको थियो । विश्वकपमा भने यी टोलीहरु एकपटक मात्र भिडेका छन् । सन् २०१० को विश्वकपको अन्तिम १६ मा भएको खेलमा स्पेनले डेभिड भिल्लाको गोलको सहयोगमा पोर्चुगललाई हराएको थियो ।

प्लेयर्स टू वाच 
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
पोर्चुगलको टोलीमा कप्तान क्रिस्टियानो रोनाल्डो नै मुख्य हतियार हुन् । उनले फुटबलको विभिन्न कीर्तिमानहरु हेर्ने हो भने पनि यस कुराको पुष्टि हुन्छ । उनले यो विश्वकपको छनोटमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । यी खेलाडीले युरोपको छनोटमा अन्य कुनै पनि टोलीको खेलाडीले भन्दा बढी गोल गरेका छन् । उनले १५ गोल गरेका थिए भने तीन मौकाहरु सिर्जना गरेका थिए ।

 

सर्जियो रामोस (स्पेन)
रोनाल्डोलाई रोक्नसक्ने एउटै विपक्षी खेलाडी हुन् रामोस । केहीले उनीहरु प्रत्यक्षरुपमा आँखा जुधाएर हेर्दैनन् भन्ने कुरा पनि गर्छन्, यसले पनि उनीहरुको व्यक्तिगत प्रतिस्पर्धा कत्तिको छ भन्ने देखाउँछ । रामोस उत्कृष्ट क्षमता भएका खेलाडी हुन् तर उनको धेरै गोलहरु क्लबको जर्सीमा मात्र भएका छन् ।