सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा जोड

1.2K

सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा जोड

बुटवल, २ साउन । बुधबारदेखि लागु भएको सामाजिक सुरक्षा ऐन कार्यान्वयन रोक्नकालागि उद्योगी व्यबसायीहरु आन्दोलित भईरहँदा नेपाल ट्रेड युनियन काँग्रेसले उक्त ऐन कार्यान्वयनमा जोड दिएको छ ।

सरकारले गत मंसिरमा मजदुरकालागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको थियो । तत्कालै ऐन कार्यान्वयनमा समस्या देखिएपछि सरकारले असार मसान्त सम्म उद्योग प्रतिष्ठान सूचिकृत गर्ने र साउनदेखि लागु गर्ने निर्णय गरेको थियो । यो योजनामा नेपाल उद्योग बाणिज्य महासंघ लगायतका व्यबसायिक संघसंस्थाका प्रतिनीधिहरुले कार्यान्वयनकालागि हस्ताक्षर गरिसकेको भन्दै नेपाल ट्रेड युनियन काँग्रेसले उक्त निर्णयबाट कुनै पनि हालतमा पछि नहट्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।

नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश पाँचका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद वेल्वासे र नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरीले बिहिबार संयुक्त प्रेस विज्ञप्ती जारी गरि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा जोड दिनु भएको हो ।

सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्ने पहिले नै सहमति गरेका उद्योगी व्यबसायी आफूले गरेको सहमतिबाट पछाडी फर्केर कार्यान्वयन गर्न सकिँदैन भन्ने बहाना गरिरहेको उल्लेख गर्दै विज्ञप्तीमा कुनैपनि हालतमा ऐन कार्यान्वयन हुनु पर्ने उल्लेख गरिएको छ ।

कानुन अनुसार नै योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सञ्चालन गर्न आग्रह गर्दै अन्यथा भए नेपाल ट्रेड युनियन काँग्रेस ससक्त आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश पाँचका संयोजक समेत रहनु भएका जिफन्ट प्रदेश पाँचका अध्यक्ष हरि कार्कीले पनि बिहिबार नै प्रेस विज्ञप्ती जारी गरि उद्योगी व्यबसायीको आन्दोलन प्रति गभिर ध्यानाकर्षण भएको उल्लेख गर्दै संविधान मै श्रमिकलाई सामाजिक सुरक्षाको हक हुने कुरा उल्लेख रहेको र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, त्यसको नियमावली र कार्यविधि समेत जारी भई कार्यान्वयन तहमा आउने वेलामा त्यसका बिरुद्ध जाने छुट कसैलाई पनि नभएको उल्लेख गर्नुभएको छ ।