पिडितका छोरीलाई पढाउने सहमतिपछि शव उठाईयो

655

पिडितका छोरीलाई पढाउने सहमतिपछि शव उठाईयो

बुटवल, २६ चैत । अस्पतालको कमजोरीका कारण नवजात शिशुको ज्यान गएकोमा अस्पतालले पीडितका छोरीलाई १० कक्षा सम्म पढाईदिने सहमति भएपछि शव अस्पतालवाट उठाईएको छ ।

आम्दा अस्पताल बुटवलमा उपचारका क्रममा बुटवल सुख्खानगरका नारायण दर्लामीका १० महिनाका छोरा ओम दर्लामीको सोमवार साँझ ज्यान गएको थियो । अस्पतालको लापरवाहीले आम्दा अस्पताल बुटवलमा पटक पटक यस्ता घटना भइरहेको भन्दै पीडित अभिभावकले घटनाको निष्पक्ष छानबिन गर्न र क्षतिपुर्ती दिन अस्पताल प्रशासनसंग माग गरि आन्दोलित भएका थिए ।

जसका कारण २५ घण्टा पछिमात्र शिशुको शव बुझिएको छ । अस्पताल र पीडित पक्ष बिच मंगलवार दिनभरी चलेको वार्ताले पीडित नारायणका दुई छोरीलाई १० कक्षा सम्म अस्पतालले निशुल्क पढाईदिने, बुवा, आमा र दुई छोरीको उपचार अस्पतालले निशुल्क गर्ने, छोरीहरुको योग्यता पुगेपछि अस्पतालले रोजगारीका लागि प्राथमिकता दिने सहमति भएको वडा प्रहरी कार्यालय बुटवल रामनगरले जनाएको छ ।

नारायणका दुई छोरी र एक नावालक छोरा रहेकोमा छोराको मृत्यु भएसंगै दुई छोरीमात्र रहेका छन् । बुटवलको युनाईटेड एकेडेमीवाट जेठी छोरीले कक्षा ५ को र कान्छी छोरीले कक्षा दुईको फाईनल परिक्षा दिएका छन् । निमोनिया भएर आम्दा बुटवलको आकस्मिक कक्षमा पु¥याए पनि समय मै डाक्टरले उपचार नगरिदिदा शिसुको मृत्यु भएको अभिभावकले आरोप लगाएका छन् ।

साँझ पौने ६ बजेतिर अस्पताल पुगेको र साढे सात बजे शिसुको ज्यान गएपछि मात्र डाक्टर आएको मृतकका बाबु नारायणले आरोप लगाउनु भएको छ । भैरहवा मेडिकल कलेजले आम्दा बुटवलमा रिफर गरेपछि नारायणले छोरालाई त्यहाँ पु¥याउनु भएको थियो । आम्दा पुग्नुअघि नारायणले डा. सन्तोष पोखरेललाई मेडिकलमा जाँच गराउनु भएको थियो । डा. सन्तोषले पनि भर्ना नै गर्नुपर्ने भन्दै औषधि लेखेर आम्दामा पठाउनु भएको थियो ।

डा. सन्तोषले लेखेको औषधि आम्दामा नर्सहरुले शिसुलाई दिए तर थप चेकजाँच गर्न डाक्टरहरु नआएको आमा ज्ञानु दर्लामीले बताउनु भयो । डाक्टर बोलाइदिनुस भनेर आफुले पटकपटक आग्रह गर्दा पनि नर्सहरुले कुनै वास्ता नगरेको र शिसुको मृत्यु भएपछि मात्र डाक्टर आएको उहाँको भनाई छ ।