Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • काङ्ग्रेस महासमिति बैठक र बुद्धिजीवी – अर्जुननरसिंह के.सी. { केन्द्रिय सदस्य , केन्द्रीय कार्यसमिति, नेपाली काँग्रेस}

    November 24, 2018


     

    यति बेला नेपाली काँग्रेस तेह्रौ महासमितिको बैठकद्वारा आफ्नो विधानलाई युगसापेक्ष संशोधन र परिमार्जनसहित संरचनागत परिवर्तनको संघारमा पुगेको छ । विधानका अतिरिक्त धेरैवटा कारण वा दृष्टिकोणबाट पार्टीको आसन्न महासमिति बैठक दूरगामी प्रभाव राख्ने ऐतिहासिक महत्वको हुनेभएको छ । महासमितिको बैठकलाई एउटा खड्गो मान्ने र छल्न खोज्ने पक्ष पार्टीभित्र छँदैछैन भन्न सकिन्न । तर पार्टीका सारा कार्यकर्ताहरूबाट महासमिति बैठकले पार्टीलाई ऊर्जा र उत्साह दिएर जागृत गराउनुपर्छ भन्ने मत सशक्त भएको हुनाले महासमिति बस्ने निश्चितै छ । महासमितिमा जे–जे विचार प्रकट भए पनि ती सबैको समष्टिगत आसय पार्टीलाई आन्तरिक लोकतन्त्रले सुसज्जित, सशक्त र जनप्रिय बनाउने चिन्तनकै अभिव्यक्ति हुनेछन् । परन्तु बौद्धिक सम्पोषण र वैचारिक पुनर्जागरणको लागि पार्टीका हितैषी बुद्धिजीवीहरूको मार्गदर्शन मात्र होइन बौद्धिक दबाब आज जरुरी भइसकेको छ । यस प्रयोजनमा मैले बुद्धिजीवी समुदायको परामर्श, मार्गदर्शन र नैतिक दबाबलाई विशेष महत्व दिएको छु ।
    मलाई राम्रोसँग सम्झना छ, आजभन्दा २२ वर्ष अगाडि पहिलो पटक मैले काङ्ग्रेस संसदीय दलबाट, पार्टीमा आन्तरिक प्रजातन्त्र हुनुपर्छ र यसलाई विधिसम्मत तथा संस्थागत रुपबाट चलाउनुपर्छ भन्ने आवाज उठाउँदा ठूलै हिम्मत बटुल्नुपरेको थियो । कतिपय साथीले “पत्ता साफ हुने” तर्क गरेपछि साँच्चै भनुँ भने मलाई केही डर पनि थियो । तर त्यसपछि क्रमशः यो आवाजमा देशभरिका पार्टीका साथीहरूबाट दृढ समर्थन पाएपछि उत्तरोत्तर व्यापक हुँदैगयो । २०६६ कार्तिकमा भएको बाह«ौँ महासमिति बैठकमा आएर यो विचारले अझ मूर्त रुप पाउन थालेपछि पार्टीको संगठनात्मक संरचना र आन्तरिक लोकतन्त्रको विकास अब अनिवार्य आवश्यकताको विषय बनिसकेको छ । यो कसैको पराजय वा विजयको भेद होइन, सबैको समान विजय हो । सबैलाई समेट्नुपर्ने जिम्मेवारी बढेको हुनाले पार्टीको वास्तबिक एकता संरचनात्मक सुधार र आन्तरिक लोकतन्त्रको विकासबाट नै सम्भव हुन्छ भन्ने विश्वास आज बलबान भएको छ । पार्टी भक्तिमार्गमा होइन, शक्तिमार्गमा अघि बढेको जनतालाई सत्य सन्देश दिने उपाय हो ।
    निर्वाचनमा पराजय
    गत साल २०७४ मा भएका संसदीय, प्रादेशिक र स्थानीय निर्वाचनमा पार्टीले पराजय भोग्नुपर्ने कारण जनताले मत दिन नचाहेकोले होइन । काँग्रेसले आवधिक निर्वाचन हारेको हो, संस्था, इतिहास, राजनीति र यसको छवि हारेको छैन । तर ०५१ को मध्यावधि निर्वाचन र २०६४ को संविधानसभा निर्वाचन पनि हारेको हो भन्दैमा गत निर्वाचनको पराजयलाई बिर्सन सकिन्न । आजको युग कम्युनिस्टको युग होइन, लोकतन्त्रको युग हो । तर युगले जसको औचित्य र सान्दर्भिकता छैन भनेको छ उसको जीत भयो, लोकतन्त्रवादीको औचित्य र सान्दर्भिकता भए पनि लोकतन्त्रको संवाहक काँग्रेस हार्नपुग्यो । समानुपातिक निर्वाचनमा जनताले काँग्रेसलाई इतिहास हेरेर मत दिए । प्रत्यक्ष निर्वाचन ९ँष्चकत उबकत तजभ उयकत भभिअतष्यल० मा वर्तमानलाई हेरेर हराए । जनमतमा काँग्रेसले जितेको छ, मतगणनामामात्र कम्युनिस्ट पार्टीले जितेको छ । यसमा पार्टी नेतृत्वको नीति, नेतृत्व र संरचनामा समन्वय नभएको असंगठित र हचुवा शैली, नेतृत्वको स्वेच्छाचारी गतिविधि निर्वाचन हारमा मूख्य दोषी हुन् भन्ने प्रमाणित भइसकेको छ ।
    पार्टी प्रतिबन्धकालको हचुवा र हैकमी कार्यशैलीको धङ्धङेले अझै छोडेको छैन । पार्टीभन्दा ‘पार्ट’ ठूलो, ‘पार्ट’ भन्दा गिरोह ठूलो मान्ने प्रवृत्तिले पार्टी कदापि सुदृढ र सशक्त हुँदैन । ‘विजयका दाबेदार सहस्र हुन्छन्, तर पराजय सँधै बेवारिश हुन्छ’ भन्ने मान्यतालाई पार्टीले चरितार्थ गर्नु हुँदैन । विगतको हारबाट शिक्षा लिन सकिएन भने काँग्रेस कहिल्यै उठ्न सक्दैन । त्यसैले यसबारे आसन्न महासमिति बैठकमा रौँचिरा विश्लेषण हुनुपर्छ र त्यसै आधारमा आइन्दा यस्तो स्थिति दोहोरिन नदिन पार्टीको आत्मा मानिने अनुशासनलाई अनिवार्य र सबल बनाउनेबारे ब्यापक विचारविमर्श हुनुपर्छ ।

    पार्टी विधानको संशोधन
    सत्य र असत्यका बीचको तटस्थता भन्नु नै असत्यलाई साथ दिनु हो । सत्यलाई उपेक्षा गरेर शक्तिको पछि लाग्ने प्रवृत्ति बुद्धिजीवीमा देखाप¥यो भने समाज गतिशील र जीवन्त नहुनु त छँदैछ, संकटका अनेक रुप देखापर्न थाल्ने अवश्यम्भावी हुन्छ । सेक्सपियरले भनेको सम्झन्छु, “खराब मानिसहरूको हिंसाचारबाट होइन, असल मानिसहरूको मौनताले गर्दा विश्वले ज्यादै कष्ट भोग्नुपर्ने हुन्छ”  । म यहाँ यो कुरा किन उल्लेख गर्दैछु भने हामी नेपाली काँग्रेसलाई संरचनागत परिवर्तनमा लैजान लागिरहेका छौँ । यसलाई आन्तरिक लोकतन्त्र सबल बनाएर विगतको पराजय र वर्तमानका चुनौतीको सामना गर्नसक्ने अवस्थामा पुनस्र्थापना गर्ने प्रयासमा लागेका छौँ । पार्टी–सभापतिलाई मात्र बलियो अवस्थामा राख्ने साविकको परम्परा युगनिरपेक्ष तथा पुरातन हुनथालेको यथार्थ नेपाली काङ्ग्रेसले विगतमा भोगेको कतिपय तीता वास्तबिकताबाटै प्रमाणित हुन्छ । दोष, हाम्रा ग्रन्थमा होइन, ग्रन्थीमा घुसेका थिए वा छन् । यसको अर्थ सभापतिलाई कमजोर र निरिह बनाइनु पर्छ भन्ने कदापि होइन । आजसम्मका सातजना काङ्ग्रेस केन्द्रीय सभापतिमा सबैजसो सभापतिले हरेक कालखण्डमा ऐतिहासिक कीर्तिमान र प्रतिष्ठा राखेका छन्, जसको व्यापकता नेपालको सरहदभन्दा धेरै परसम्म पुगेको छ । त्यसकारण हाम्रो पार्टी–सभापति पदमात्र होइन, पार्टीको अद्वितीय गौरबशाली संस्था हो । यसको कीर्तिमान र प्रतिष्ठाको निरन्तरता खण्डित हुन दिनुहुँदैन । यो गौरबलाई बचाइराख्नु प्रत्येक कार्यकर्ताको जिम्मेवारी हो । आगामी दिनमा यस पदको दुरुपयोग हुन नदिने प्रत्याभूति विधानमा व्यवस्था हुनुपर्छ । यसका लागि विद्वत वर्गको समर्थनले सुनिश्चितता दिन्छ ।
    जब पार्टी राजनीतिमा संस्थागत प्रक्रियाको हत्या हन्छ, सामुहिकताको भावना पनि मर्नथाल्छ, तब गुटबन्दी तीब्र हुन्छ । संस्था र सामुहिकताको अवसानमा विधान र नीतिहरू पनि मृत हुनपुग्छन् । विचार र विवेकको संस्कृतिको अनिकाल लागेको अवस्थामा आखिर महँगो मूल्य, कष्ट र दुर्दिन भोग्ने त आमजनता नै हुन् । त्यस्तो अराजकतावादी परिस्थितिमा राजनीति स्वच्छ रहन सक्दैन, दूषित र दुर्गन्धित हुन्छ, कार्यकर्तालाई आत्मनिर्भर र स्वाभिमानीभन्दा चाकरीकर्ता र दास बनाइन्छ । जनताप्रेमी होइन, नेताप्रेमी कार्यकर्ता प्रिय हुनथाल्छन् । यस्तो अवस्थाको अन्त्य गर्ने प्रयत्न नै हाम्रो देशब्यापी चेष्टा हुनुपर्छ । मैले नेपाली काँग्रेसका लागि उठाउने गरेको वैचारिक पुनर्जागरणको महत्व पनि यो अवस्थाबाट पार्टी राजनीतिलाई जोगाएर लोकतन्त्रको सशक्त माध्यम बनाउने पुनीत लक्ष्यमा केन्द्रित भएरै हो ।
    काङ्ग्रेस प्रजातन्त्रको संस्थापक तथा संवाहक शक्ति भएको कारणले महासमितिमा विचारको विवाद, सैद्धान्तिक प्रतिष्पर्धा र कदाचित देखापर्ने व्यक्तित्वको टकराहट नैसर्गिक सत्य हो । यी गतिविधि आन्तरिक लोकतन्त्रका विशेषता पनि हुन् । लोकतान्त्रिक पार्टीमा राजनीति भनेको कसैले कसैलाई टीका लगाएर बक्सिस, दान दिने वा लिने वा उत्तराधिकार सुम्पिने वस्तु होइन भन्ने मान्यता र मर्म स्थापित गर्नुपरेको छ । गाउँघरमा जनतासँगै हातमा ठेला उठाएर काम गरिबसेका समर्पित, मिहिनेती, शालिन र सिदासादा कार्यकर्तालाई समेत अगाडि बढ्ने यसले अवसर र बाटो दिनुपर्छ । वास्तबमा नयाँ विधानले हामी सबैलाई जिम्मेवार बनाउनुपर्छ, कर्तब्यको अभिभारा थप्नुपर्छ । एउटा सभापतिलाई रिझाएपछि कसैप्रति जिम्मेवार र उत्तरदायी हुनु नपर्ने विकृतिलाई नियन्त्रण गरेर निर्वाचित सामुहिक नेतृत्व पद्धतिले सबैलाई संगठित गर्नुपर्ने जिम्मेवारीको परिपाटी बसाल्नु पर्छ ।
    महासमितिले पारित गरेको विधानको परिणाम र प्रभाव पार्टीको आगामी चौधौँ महाधिवेशनमा देखिनुपरेको छ । यसवीचमा हामीमाथि आएका केही यक्ष प्रश्न र परिक्षाको हामीले जनतालाई चित्त बुझ्ने प्रकारले सामना गर्नुछ । नेपाली काङ्ग्रेस र तराई पर्यायवाचीजस्तो लाग्दथ्यो, आज तराईमा हाम्रो गढ किन भत्कियो ? काङ्ग्रेसलाई जनजाति र दलितको पार्टी भनिन्थ्यो, त्यो कसरी ओझेलमा पर्न पुग्यो ? महिला समुदायको सबैभन्दा बढी समर्थन तथा सहयोग प्राप्त गर्ने पार्टी नेपाली काङ्ग्रेस नै हो, तर आज यसमा ह्रास आउनुको कारण के हो ? साविकमा पार्टीको नेतृत्व तरूण उमेर समुहको हातमा थियो, आज तरूणहरूलाई नेतृत्वको हैसियतबाट केले पछाडि पा¥यो ? पार्टीमा नयाँ पुस्ताको सहभागितामा किन शिथिलता आइरहेको छ ? पार्टीको लक्षलाई सर्बप्रथम २००४ सालमा नेपालको माटोमा आन्दोलनद्वारा उतार्ने र २००७ को जनक्रान्तिलाई सफल बनाउन बलिदानी सहयोग दिने वर्ग मजदूर नै हो, तर आज मजदूर फाँटमा पार्टी किन कमजोर भइरहेको छ ? आसन्न महासमितिको बैठकमा यी सबालहरूमाथि सशक्त मन्थन हुनुपर्छ र निष्कर्ष पाउनुपर्छ ।
    महासमितिले पार्टीको विधान पारित गर्न धेरै समय र ऊर्जा खर्च गर्नुपर्दा माथि उल्लेखित प्रश्न र अन्य एजेण्डामाथि यथेष्ट छलफल र निष्कर्ष बनाउन नसकिएला । काङ्ग्रेसको आगामी स्वरुप, संरचना, संगठन निर्माण, सामना गर्नुपर्ने चुनौति र आन्तरिक लोकतन्त्रको कार्यान्वयन, महासमितिले दिएको म्याण्डेटलाई हामीले साकार बनाउनु छ । उत्साहको नयाँ वातावरणमा हामीले यी विषयलाई उचित टुङ्गो दिनुछ ।
    म यहाँ आसन्न महासमिति बैठकले टुङ्गो लगाउनुपर्ने एजेन्डाका बुँदा प्रस्तुत गर्दछु—
    १.पार्टीका सबै पदाधिकारी संसदीय समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरू, अनुशासन समितिका अध्यक्ष र सदस्यहरू लगायत ८५ प्रतिशत केन्द्रीय सदस्यहरू महाधिवेशनबाट निर्वाचित हुनुपर्छ ।
    २.समानुपातिक प्रतिनिधित्व जनसंख्याको आधारमा गराइनु पर्दछ । एकपटक समानुपातिकमा अवसर पाएकालाई सरकारी स्तरमा होस् या पार्टीस्तरमा, दोहो¥याउनु हुँदैन ।
    ३. पार्टीको विधानमै एक व्यक्ति एक पदको प्रावधान राख्नुपर्छ ।
    ४.काँग्रेसको पार्टी संगठनलाई कार्यकर्तामा आधारित (क्याडर बेस्ड्) र जनसमुदायमा आधारित, बीचको संयोजनपूर्ण बाटोबाट अघि बढाउनुपर्छ ।
    ५.भातृसंस्थाहरूको विधान र संस्थागत विकासमा हस्तक्षेप नगरी पूर्ण लोकतान्त्रिक प्रक्रियाद्वारा आवधिक निर्वाचन सुनिश्चित गर्नुपर्छ ।
    ६.भ्रष्टाचारबिरूद्ध सचेतना अभियानका साथै यसबिरूद्ध विभिन्न कार्यक्रम चलाई पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्नुपर्छ ।
    ७.नयाँ पुस्तालाई आकर्षण दिने र नेतृत्वको विकास गर्ने अवसर र वातावरण पार्टीभित्र संस्थागत रुपले विकसित गर्नुपर्छ । पद्धति, विचार र आचरणलाई एकीकृत तरिकाबाट प्रोत्साहित गर्नुपर्छ ।
    ८.पार्टीलाई प्रजातान्त्रिक समाजवादको बाटोबाट अगाडि बढाउन गतिशील सामाजिक न्याय, सुरक्षा, मूल्य, समावेशीकरणका मान्यताहरूलाई व्यापक परिमार्जन गर्दै पार्टीभित्र देशब्यापी प्रशिक्षण तथा वैचारिक पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्छ ।
    ९.परराष्ट्र सम्बन्धलाई सुदृढ गर्नुका साथै मुलुकबाहिर रहे–बसेका पचासौँ लाख नेपाली नागरिकहरूको पेशागत र जीवन सुरक्षालाई केन्द्रित गर्दै पार्टीको प्रभावलाई अझ विस्तार र प्रगाढ बनाउनु पर्छ ।
    १०.महाधिवेशन हुने वर्षबाहेक नेपाली कांग्रेस महासमितिको बैठक पार्टीको विधानअनुसार प्रत्येक वर्ष अनिवार्यतः हुनुपर्छ । निर्वाचन महाधिवेशन र नीति निर्माण महाधिवेशन गरी एक कार्यकालमा दुई प्रकारका महाधिवेशन गर्ने व्यवस्था हुनुपर्छ ।
    ११.महासमितिको बैठकमा हाम्रा विगतका भूल–चुक, कमि, कमजोरी र गल्तीहरूउपर कसैप्रति निहित आग्रह वा पूर्वाग्रह नराखी आस र त्रासबाट मुक्तभएर उदात्त मानसिकताका साथ छलफल गरी संस्थागत निष्कर्षमा पुग्नु अनिवार्य छ ।
    १२.सामुहिक नेतृत्व, विधिसंगत तथा संस्थागत प्रक्रिया, पारदर्शिता, योगदान तथा दक्षता एवं निष्पक्षता आधारमा पद्धति र प्रक्रियामा पार्टी सुदृढीकरणले मात्र आजका चुनौतीहरूको सामना गर्न सकिन्छ ।
    १३. पार्टीलाई नेताप्रधान होइन, नीति र संस्था–प्रधान हुने सुनिश्चितता प्रदान गर्नुपर्छ ।
    सत्तारुढ पार्टी बलियो छ, तर जिम्मेवार छैन । हिंसा, मुठभेड र अराजकतामा उसको राजनीतिक पृष्ठभूमी र गतिविधि आधारित भएको हुनाले विचारको राजनीतिभन्दा अराजकतावादी बोलवाला छ । हिंसा र अराजकतामा विश्वास हुनेलाई संविधानमाथि आस्था वा विश्वास हुँदैन । संकटको पिँधैमा पुगिसकेको नेपाल असफल राज्यको घोषणा हुने खतरामा छ । यो कुनै प्राकृतिक प्रकोपको परिणाम होइन, मानवीय व्यवस्थाको विफलताको परिणाम हो ।
    नदी बाङ्गोटिङ्गो बगे पनि बहाव अग्रगतिशील नै हुन्छ । भनिन्छ, बादल जतिसुकै कालो होस् तर त्यसमा चाँदीको घेरा टल्किरहेको हुन्छ । मुलुक जतिसुकै संकटग्रस्त होस् तर समाधानका सम्भावना मानिसहरूसँगै जीवित हुन्छन् । जातीय, धार्मिक र भाषागत विविधतामा राष्ट्रिय एकता खोज्नु नेपाली काङ्ग्रेसको अनवरत चेष्टा हो । हिमाली, पहाडी, तराईबासी–मधेसी सबैलाई राष्ट्रिय परिवारका समान अंशियार सन्तान मान्ने हाम्रो आदर्श, संस्कार र सभ्यता हो । समताका साथ ममता, अधिकारका साथ आत्मीयता, वैभवका साथ सादगी र सदाचार नेपालको नवनिर्माणका परम्परागत स्तम्भ हुन् । यिनै आधारस्तम्भमा अडिएर भावी नेपालको रुप स्थापित गर्ने संकल्प हाम्रो लोकतन्त्रको अन्तिम लक्ष हुनुपरेको छ । आसन्न महासमितिबाट हामी यही दिशानिर्देशको अपेक्षा गर्नसक्छौँ ।

    ७, मंसिर , २०७५