Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • मजदुर र सरकारबीच ८ बुंदे सहमतिः बन्द यातायात सुचारु

    September 21, 2018


    काठमाडौं, ५ असोज । मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुर र सरकारबीच सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रवार भएको वार्तापछि ८ बुँदे सहमति गर्दै यातायात मजदुर गाडी चलाउन तयार भएका हुन् ।

    वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालका अनुसार नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाउने सहमति भएको छ ।

    यस्तै ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने सहमतिमा उल्लेख छ । सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने सुनिश्चित गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेबारे पनि सरकारले सहमति जनाएको छ ।

    यस्तै ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृहले आवश्यक व्यवस्था मिलाउने, आन्दोलनका क्रममा गिरफ्तारीमा परेका सवारी चालकलाई शुक्रवार नै रिहा गर्ने लगायतका सहमति भएको छ । मुलुकी संहिताको विरोध गर्दै यातायात मजदुरहरुले विगत चार दिनदेखि सवारी नचलाएर आन्दोलनमा उत्रिएका थिए । गाडी नचल्दा सर्वसाधारण यात्रु समस्यामा परेका थिए ।

    काठमाण्डौमा भएको सहमति पछि यस क्षेत्रमा रहेका पश्चिम नेपाल बस ब्यवसायी समिति, बुटवल यातायात ब्यवसायी समिति, सिद्धार्थ यातायात समिति मातहतका गाडी शुक्रवार सांझवाट संचालनमा आएका छन् । गाडी संचालन भएपछि यात्रुहरुले शनिवारका लागि समेत अग्रीम टिकट बुकिङ्ग गरेको पश्चिम नेपाल वस समितिका बरिष्ठ उपाध्यक्ष नारायाण घिमिरेले जानकारी दिनुभयो ।