हरेक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु

636

हरेक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु

काठमाडौं  । नेपालमा वर्षेनी एक हजार जनाको मस्तिष्क मृत्यु भएपनि अहिलेसम्म एक जनाको मात्रै मानव अंग प्रत्यारोपण भएको छ ।

विभिन्न अध्ययनको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्रै हरेक वर्ष १ हजार जनाभन्दा बढीको सडक  दुर्घटनाबाट  मस्तिष्क मृत्यु अर्थात ब्रेन डेथपछि मृत्यु हुने गरेको छ । तरपनि मानब अंग दान भने एक जनाले मात्रै दिएको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।

२०७३ ,७४ सालको एक वर्षमा मात्रै  उपत्यकामा  २११५ जनाको सडक दुर्घटनाबाट मस्तिष्क मृत्यु भएको थियो भने बर्षेनी एक हजार जनाको सडक दुर्घटनाबाट  मस्तिष्क मृत्यु हुने गरेको छ । मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट आठ जनाले नया जीवन पाउने केन्द्रका कार्यकारी  निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले जानकारी दिएका छन ।

मस्तिष्क मृत्यु भएका मध्येपनि अधिकांश २० देखि ४० बर्ष उमेरकाहरु नै  हुने गरेका छन । उनीहरुको अंग बढी नै सक्षम हुने भएकाले अंग प्रत्यारोपण गर्दा पनि बढी नै लाभदायी हुने श्रेष्ठको दाबी छ । तैपनि डेढ बर्षको यो अबधीमा १६ स्थानबाट मस्तिष्क मृत्यु भएको खबर प्राप्त भएको थियो । १६ स्थानबाट खबर प्राप्त भएपनि १३ का परिवारले अंगदान दिन अस्विकार गरेका थिए । ३ परिवारले स्वीकृती जनाएपनि २ जनाको अंग काम नलाग्ने भएको र एक जना मस्तिष्क मृत्यु भएकाको मात्रै  अंग प्रत्यारोपण गरिएको केन्द्रको तथ्यांक छ ।

ब्रेन डेथ भएकाको खोजीका लागि सबैतिर २४ सै घण्टा संयन्त्र परीचालन भएको केन्द्रले  जनाएको छ ।
मानवअङ्ग प्रत्यारोपण सम्बन्धि कानुन ल्याएर नियमावली पारित गरेको डेढ बर्ष हुदा पनि मस्तिष्क मृत्यु भएका एक जनाको मात्रै दूईवटा मिर्गौला अहिलेसम्म प्रत्यारोपण भएको छ ।

सरकारले २०७२ साल माघमा  मानवअङ्ग प्रत्यारोपण सम्बन्धि कानुन ल्याएर  –२०७३ मंसिरमा नियमावली जारी गरी मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको अङ्ग झिकेर अर्कोमा प्रत्यारोपण गर्ने सहज बाटो खोलेको थियो । यो नियमावलीले अब मस्तिष्कघात भई मृत्यु भएकाका आठ अङ्ग लिन र प्रत्यारोपण गर्न मिल्ने बाटो खुला गरेको हो ।

ब्रेन डेथपछि मृत्यु भएकाबाट दुई वटा मृगौला, दुई वटा फोक्सो, मुटु, प्याङ्क्रियाज, सानो आन्द्रा, आँखा, छालालगायतका ८ वटा मानव अंगलाई अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । ८ वटा अंग प्रत्यारोपण गर्न मिल्ने भए पनि नेपालमा तत्कालका लागि आखा ,मृगौला र कलेजो प्रत्यारोपण भइरहेको छ ।
केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठका अनुसार पश्चिमा मुलुकमा ८० प्रतिशत प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुनेगर्छ । हाम्रो देश पनि धेरै दुर्घटना हुने देशमा परेपनि  जनचेतनाको कमीका कारण अगं दान गर्ने कार्य सन्तोष जनक रुपमा हुन नसकेको उनको गुनासो छ ।

यो संवेदनशील र जटिल विषय पनि भएकाले सरकार, गैरसरकारी संस्था, नागरिक समाजले सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।पछिल्लो समय धेरै मानिस सर्नेभन्दा नसर्ने रोग, मृगौला फेल हुने, मुटुको भल्ब फेर्नुपर्ने, फोक्सो र कलेजोको समस्याबाट ग्रसितको संख्या ह्वात्तै बढेको छ। जसलाई ब्रेन डेथ भएकाको अंग दान गर्न सकेमा उनीहरुले नया जीवन पाउनेछन् ।

अंग निकाल्ने प्रक्रिया
नेपाल सरकारले मस्तिष्क मृत्यु भएको घोषणा भएका व्यक्तिको अंग निकाल्न, व्यवस्थापन गर्न र समन्यात्मक भूमिका खेल्नका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरलाई अख्तियारी दिएको छ।

मस्तिष्क मृत्यु भएका बिरामीको अंग दान गर्न चाहेका परिवारलाई एक लाख रुपैया
कुनै पनि व्यक्तिको मस्तिष्क मृत्युपश्चात् मानव अंग प्रत्यारोपण केन्द्रको समन्वय इकाइमा तत्काल सम्पर्क गरी आधिकारिक रेकर्ड अध्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका बिरामीको अंग दान गर्न चाहेका परिवारलाई एक लाख रुपैयाँ, आफूकहाँ बिरामीको मस्तिष्क मृत्यु भएको खबर गर्ने अस्पताललाई ५० हजार र मिर्गौला प्रत्यारोपण गर्ने अस्पताललाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

हाल संसारभर मानव अंग प्रत्यारोपण कार्यका लागि कसैलाई पनि पैसा दिने चलन छैन। नेपालको मानव अंग प्रत्यारोपण ऐन, २०५५ को दफा १३ मा मानव अंगका लागि खरिद, बिक्री लगायत कुनै प्रकारका आर्थिक कारोबार गर्न नपाइने कुरा प्रष्टसँग लेखिएको छ । तैपनि मस्तिष्क मृत्यु भएकाका परिवारलाई आर्थिक भार कम गर्न र अस्पताललाई अगं झिक्न लाग्ने अप्रेशन खर्च बापत प्रदान गर्ने व्यवस्था मिलाएको केन्द्रले जनाएको छ ।

मस्तिष्क मृत्यु भएपछि अंग दान गर्ने भन्दा पनि मृत्यु पश्चात अंग दान गर्ने प्रतिबद्धता अहिलेदेखि नै गर्नुपर्ने सुझाव सम्बद्ध चिकित्सकहरुको छ । यसका लागि केन्द्रले अनलाइन मार्फत फाराम भर्न सुझाएको छ । यसका लागि hotc.org.np मा गएर फाराम भर्न सकिनेछ ।