बाटिका सहकारीमा अर्गानिक तरकारी उत्पादन तालिम

703

बाटिका सहकारीमा अर्गानिक तरकारी उत्पादन तालिम

बुटवल, ५ जेठ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यबसायिक तथा सीप बिकास तालिम केन्द्र बुटवल र आईडियल ईञ्जिनियरिङ् सर्भिसेज प्रालिको सहकार्यमा बाटिका महिला सामाजिक सहकारी संस्थाले रुपन्देहीको तिलोत्तमामा ग्रामिण कृषि कार्यकर्ता तालिम सुरु गरेको छ ।

४५ दिने उक्त तालिमको आईतबार उद्घाटन गर्दै नेशनल कोअपरेटर्स एलायन्स रुपन्देहीका सभापति रामकृष्ण खाँणले सहकारीले छरिएर रहेको पुँजीलाई एकिकृत मात्रै नगरी समाजमा मानिसहरुको मनलाई समेत एक बनाउने काम गरेको बताउनु भयो । उहाँले सहकारीका माध्यमबाट महिलालाई सम्पत्तिको मालिक बनाउने काम समेत गरेको बताउँदै बिभिन्न प्रकारका सीप प्रदान गरि महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउनकालागि सहकारीको ठूलो भूमिका हुने उल्लेख गर्नुभयो ।

अर्गानिक तरकारी उत्पादन सम्बन्धि उक्त तालिममा सहकारीका २५ जना शेयर सदस्य सहभागि रहेको संस्थाकी अध्यक्ष कमला पाण्डेले बताउनु भयो । तालिमको उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य तथा तिलोत्तमा सहकारीका अध्यक्ष माधवलाल देवकोटाले एक व्यक्ति एक सहकारी सहकारीको मापदण्ड भएपनि फरक प्रकृतिको सहकारीमा सदस्यता लिनकालागि नरोक्ने बताउनु भयो ।

व्यबसायिक तथा सीप बिकास तालिम केन्द्रका प्रमुख विष्णु भट्टराईले पछिल्लो समयमा ग्रामिण क्षेत्रमा कृषि सम्बन्धि तालिम लिने र व्यबसायिक रुपमा कृषि पेशा अंगाल्ने क्रम बढेको बताउनु भयो । कार्यक्रममा आईडिएल ईञ्जिनियरिङ् प्रालिका प्रवन्ध निर्देशक अरुण अर्याल, भगवती बस्याल, किशोर सुवेदी, संस्थाकी उपाध्यक्ष राधा खरेल, सचिव सुभद्रा ज्ञवाली लगायतले तालिममा सहभागिलाई व्यबसायिक रुपमा काम गर्ने गरी दक्षता हासिल गर्न र तालिम पछि व्यबसाय सुरु गर्न समेत सुभकामना व्यक्त गर्नुभएको थियो ।