विकास देखेरै मलाई भोट दिन्छनः कांग्रेस उम्मेदवार भरत शाह

856

विकास देखेरै मलाई भोट दिन्छनः कांग्रेस उम्मेदवार भरत शाह

रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाह संगको कुराकानी –
१) चुनावी अभियानलाई कसरी अघि बढाउनु भएको छ ?
उत्तरः चुनावी अभियान अहिले तीव्ररुपमा अघि बढेको छ । मेरो निर्वाचन क्षेत्र नं. ५ का विभिन्न स्थानमा अहिले घरदैलो, कार्यकर्ता भेला, आमसभा लगायतका कार्यक्रम सञ्चालन भएका छन । विहानदेखि साँझ अवेरसम्म कार्यकर्ताका घरमा जाने, भेटघाट गर्ने र जनताको पीर मर्का बुझ्ने र विकासका कुरा गर्ने क्रम चलिरहेको छ । यसरी भन्दा अहिले क्षेत्र नं. ५ का जनतासंगै नै मेरो दिनचर्या वितिरहेको छ र जनताले मलाई न्यानो र भव्य स्वागत गरेका छन ।
२) जनताको धारणा वा अभिमत के पाउनु भएको छ ?
उत्तरः जनता नेपाली कांग्रेसकै पक्षमा छन । यस क्षेत्रमा भएको विकास देखेर विकासप्रेमी र जनताको काम गर्ने नेताको रुपमा मलाई लिएका छन र अहिलेसम्म जहाँ गएको छु त्यहाँका जनताले मलाई हार्दिकता प्रदान गरेका छन र मलाई जिताउने बाचा गरेका छन । रुपन्देही क्षेत्र नं. ५ का जनताले भरत शाह जस्तो विकास प्रेमी नेता अरु हुन सक्दैन भन्दै फेरी पनि जिताउने प्रतिवद्धता व्यक्त गरेका छन । अहिलेसम्म मेरो क्षेत्रमा भएका विकास हेरेर नै जनताले मलाई पत्याएका छन र अझै विकास गर्नुपर्ने भएकोले मेरो विकल्प अन्य दलका उम्मेदवार हुन सक्दैन भन्दै मेरो उम्मेदवारीलाई निर्विकल्प मानेका छन । जनता मेरो पक्षमा छन र मेरो जित सुनिश्चित छ भन्ने जनताको अभिमत पाएको छु ।
३) बाम गठवन्धनका कारण तपाईलाई मतदान गर्ने मतदाताहरु विभाजित होलान नि ?
उत्तरः बाम गठवन्धनले मलाई कुनै असर गर्ने अवस्था छैन । कम्युनिष्टहरु बाम गठवन्धन भनेर चुनावमा गएपनि नेपाली कांग्रेस र राप्रपासहित मधेशवादी दलहरु पनि लोकतान्त्रिक गठवन्धन गरेर चुनावमा गएका छौं । क्षेत्र नं. ५ मा राप्रपाको बलियो पकड छ । त्यसकारण मेरो उम्मेदवारीमा र मेरो मतमा बाम गठवन्धनले खासै असर गर्ने संभावना नै छैन । अर्कोतर्फ म यही क्षेत्रको विकासमा दिनरात नभनी कृयाशील रहेको छु । त्यसकारण मेरो उम्मेदवारीलाई कुनैपनि शक्ति वा गठवन्धनले प्रभावित गर्ने अवस्था छैन ।
४) तपाईलाई मतदातामाझ घुलमिल हुन नसक्ने नेताका रुपमा चित्रण गरिन्छ । कांग्रेसका कार्यकर्ता समेत यही भन्छन नि ?
उत्तरः मानिसको स्वभाव फरक फरक हुन्छ नै । त्यही आधारमा गुणदोष छुट्याउनु गलत हुन्छ । कसैका लागि म त्यति प्रिय भइन होला त्यो अलग कुरा हो तर क्षेत्र नं. ५ का जनताले मलाई मन पराएका छन । जनताको मनमा म वस्न सफल भएकै छु । त्यही भएर नै यसअघिका निर्वाचनमा पनि मेरो विजय भएको हो । केही प्रतिपक्षले चलाएको हल्लामा मेरो विश्वास नै छैन । तसर्थ अहिले हल्लाका पछि नलागी नेपाली कांग्रेस र रुख चिन्हलाई सम्झिने बेला हो । व्यक्ति आचरणको बारेमा नकारात्मक टिका टिप्पणी गर्ने समय होइन जस्तो लाग्छ । कथंकदाचित त्यस्तो भएको रहेछ र कुनै मतदाता वा कांग्रेस कार्यकर्तालाई अनुभूति भएको रहेछ भने त्यसमा सत्यता नरहेको म भन्न चाहन्छु ।
५) विकास गरेकै आधारमा तपाईलाई भोट देलान त जनताले ?
उत्तरः हो मेरो क्षेत्रमा मैले विकास गरेकै आधारमा निर्वाचन जित्छु भन्ने मलाई पूर्ण विश्वास छ । जनतालाई विकास चाहिएको छ र अझैपनि जनताले विकासकै माग गरेका छन । क्षेत्र नं. ५ का धेरै क्षेत्रमा अझै विकास भएको छैन । सडक पिच गर्नुपर्ने आवश्यकता छ । स्कुल स्थापना गर्नुपर्ने छ । भएका स्वास्थ्य चौकी समेत पूर्वाधारयुक्त छैनन । सिंचाईको व्यवस्था छैन । वर्षायाममा धेरै स्थानमा मोटर पुग्न सक्दैन । त्यसकारण मेरो आवश्यकता अझै छ । अहिलेसम्म जति विकास गरेको छु त्यो पर्याप्त छ भन्दिन । अझै गर्नु जरुरी छ र त्यो भरत शाहले नै गर्न सक्छ भन्ने विश्वास मतदातामा रहेको छ । त्यसकारण विकासका लागि भरत शाह जनताका लागि प्रिय नाम हो र त्यही कारण मेरो जीत सुनिश्चित छ भन्ने कुरामा म दृढ रहेको छु ।
६) अहिलेसम्म जनताका लागि के के गरेको जस्तो लाग्छ ?
उत्तरः म २०७० सालमा निर्वाचित भएदेखि नै मेरो ध्यान क्षेत्र नं. ५ का जनताका लागि केन्द्रित भएको छ । अन्यायमा परेका जनतालाई न्याय दिने, मुद्दा मामिलामा फसेका जनतालाई मिलापत्र गराएर भएपनि समाजमा पुनस्र्थापित गराउने, विकास त मेरो पहिलो मुद्दा नै भैहाल्यो । रुपन्देही क्षेत्र नं. ५ मा आएर हेर्नुहोस मैले के गरेँ र अव के गर्नुपर्दछ भन्ने कुरा तपाईहरु आफै भन्नुहुन्छ । जनताकै लागि मेरो उम्मेदवारी हो र अहिलेसम्म मैले गरेको कामको मूल्याँकन जनताले गर्नेछन । निश्चित रुपमा प्रतिपक्षीहरुले मेरो विरोधमा जनतालाई भ्रमित वनाउने प्रयास गरेका होलान तर जनताले बुझेका छन । रुपन्देही क्षेत्र नं. ५ मा मेरो विकल्प छैन । जनताकै लागि मेरो उम्मेदवार हो भन्ने कुरा म पुनः दोहो¥याउन चाहन्छु । अझै धेरै गर्नु छ जस्तो लाग्छ । गाउँ गाउँ बाटो, पुल, कल्भर्ट वनाउनु छ । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जना गर्नुछ । त्यसकारण धेरै गर्नु छ । अहिलेसम्म मैले जति गरेको छु त्यसवाट सन्तुष्टी लिदै अझै धेरै गर्ने प्रतिवद्धता गरेको छु ।
७) अन्त्य केही भन्नुहुन्छ ?
उत्तरः हो विकासका लागि मेरो उम्मेदवारी हो । रुपन्देही क्षेत्र नं. ५ का मतदाताहरुसंग मेरो आग्रह छ कि विकासका लागि मलाई एकपटक मतदान गर्नुहोस । म विकास गरेर देखाउँछु । अहिलेसम्म भएका विकासका कामले मलाई जनताले मतदान गर्ने प्रण गरिसकेका छन । तसर्थ पनि मेरो उम्मेदवारी मेरो क्षेत्रमा निर्विकल्प जस्तो लाग्छ । अन्तमा धेरै भन्नु त केही छैन । रुख चिन्हमा मतदान गरेर रुपन्देही क्षेत्र नं. ५ मा भैरहेको विकासलाई अझै बढाउने दिशामा केन्द्रित हुन सवै आमा बुवा, दाजुभाई, दिदी बहिनीहरुमा मेरो अपील छ ।प्रस्तुती –  छवि पाण्डे