आक्रमणको नयाँ रणनीति अपनाउँदै अर्जेन्टिना, विश्वकपमा सफल होलान् साम्पाओली ?

378

आक्रमणको नयाँ रणनीति अपनाउँदै अर्जेन्टिना, विश्वकपमा सफल होलान् साम्पाओली ?

काठमाडौं, २० जेठ – साविकको उपविजेता अर्जेन्टिनालाई रुस विश्वकपमा आफ्नो टीमका तर्फबाट विपक्षीको पोस्टमा आक्रमणको जिम्मा क–कसलाई दिने भन्ने निर्णय गर्न नै कठिन छ । त्यो पनि विकल्प नभएर होइन, धेरै भएर ।

यसपटक अर्जेन्टिना मात्र यस्तो टोली हो, जससँग अग्रपंक्तिमै खेलेर विश्वमा नाम चम्काइसकेका ४ स्टार खेलाडी छन् । अझ इटालीयन सिरीए सिजनका सर्वाधिक गोलकर्ता माउरो इकार्दी त टीममै परेनन् ।

सामान्यरूपमा हेर्दा फूटबल मैदानमा २० खेलाडी (किपरबाहेक) बलकै पछाडि कुदिरहेको देखिन्छ । तर यो निकै कलात्मक खेल हो । हरेक खेलाडीको आ–आफ्नै भूमिका र विभाग हुन्छ । कसैले विपक्षीको प्रहार निस्तेज पार्छन्, कसैले बल पोसेसन राख्दै गोलको अवसर सिर्जना गर्छन् भने कसैले गोल गर्छन् ।

विश्वमा चर्चित फुटबल फर्मेसनको कुरा गर्दा अग्रपंक्तिमा सबैभन्दा धेरै ३ खेलाडी रहने गरेको पाइन्छ । त्यो ४–३–३ फर्मेसनका रूपमा चर्चित छ ।

युरोपकै सफल क्लबहरू बार्सिलोना, रियल मड्रिड लगायतले प्राय यही फर्मेसनमा खेल्छन् ।

यस्तै ४–२–३–१ अर्को चर्चित फर्मेसन हो । इंग्लिस क्लबहरूमा यो फर्मेसन बढी प्रयोग हुन्छ । विश्वभर सबैभन्दा बढी प्रयोग हुने फर्मेसन पनि यही हो ।

यसरी हेर्दा अर्जेन्टिनाले आफ्ना सर्वाधिक अनुभवी र चर्चित ४ स्टारलाई एकैपटक प्रयोग गर्न सक्दैन ।

४–३–३ को फर्मेसनमा खेल्ने हो भने पनि अर्जेन्टिनाले आफ्ना ४ स्ट्राइकरमध्ये ३ जनालाई निर्धक्कसँग अगाडि उतार्न सक्ने अवस्था छैन । किनभने सर्जियो एग्युरो र गोञ्जालो हिगुइन सेन्टर फर्वाड हुन्, यो भूमिका ४–४–२ बाहेक अन्य जुनसुकै फर्मेसनमा पनि मात्र १ खेलाडीका लागि हुन्छ । अर्कातर्फ लियोनल मेसी र पाउलो ड्याबलाको खेल्ने पोजिसन पनि एउटै हो ।

सामान्यतया प्रशिक्षक/म्यानेजरहरूका लागि यो निकै कठिन परिस्थिति हो । तर अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली अलि फरक प्रयोग गर्ने प्रशिक्षकका रूपमा परिचित छन् ।

स्पेनिस टीम सेभियाका पूर्वम्यानेजर साम्पाओलीले अर्जेन्टाइन टीम सम्हालेपछिको पहिलो खेलमै ब्राजिलविरुद्ध नयाँ प्रयोग गरे ।

छिमेकी प्रतिद्वन्द्वीविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २–३–३–२ फर्मेसनमा मैदानमा उत्रियो । रक्षपंक्तिमा ४ खेलाडी नै थिए, तर उनीहरूमध्ये दायाँ र बायाँतर्फका खेलाडीलाई आक्रमणमा सघाउने जिम्मेवारी बढी दिइएको थियो । आवश्यक पर्दा डिफेन्सिभ मिडफिल्डरले डिफेन्सलाई सघाउने गरी जिम्मेवारी बाँडफाँड गरिएको थियो । साम्पाओलीको यो प्रयोग सफल पनि देखियो, अर्जेन्टिना १–० ले विजयी भयो ।

अहिले विश्वकपमा पनि साम्पाओलीले यही रणनीति प्रयोग गर्ने गरी तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ । अर्जेन्टाइन टीम प्रशिक्षणका क्रममा अहिले बार्सिलोनामा छ ।

साम्पाओलीले २–३–३–२ को फर्मेसन अपनाएमा मेसी, एग्युरो, हिगुइन र ड्याबलामध्ये ३ खेलाडीलाई निर्धक्कसँग पहिलो रोजाइमै मैदान उतार्न सक्नेछन् ।

केही दिनअघि हाइटीसँग ४–० ले विजयी भएको खेलमा पनि अर्जेन्टाइन टीम यस्तै फर्मेसनमा मैदान उत्रिएको थियो ।

यस्तो हुनसक्छ फर्मेसन (प्रमुख र वैकल्पिक खेलाडीहरू पोजिसनअनुसार) :

यो पोजिसनमा मेसीसँगै एग्युरो र हिगुइनमध्ये एक गरी २ जना सबैभन्दा अगाडि रहनेछन् ।

त्यसभन्दा पछाडिको क्रममा डी मारिया, ड्याबला र लो सेल्से रहन सक्छन् । विकल्पमा पाभोन, बनेगा लाञ्जिनी र मेजा पनि हुनेछन् ।

डिफेन्सिभ मिलफिल्डरको भूमिकामा मस्चेरानो र बिग्लियामध्ये एक हुनेछन् । अन्य २ डिफेन्डर आक्रमणमै केन्द्रित हुनेछन् भने बाँकी २ डिफेण्डर पछाडि रहनेछन् ।

साम्पाओलीले विश्वकपमा साँच्चै यो प्रयोग गर्लान् या नगर्लान्, प्रयोग गरेमा कत्तिको सफल होला ? त्यो भने भावी दिनले नै देखाउने छ ।[लोकान्तरबाट ]