ज्येष्ठ नागरिकलाई ब्लाङ्केट र हर्लिक्स

498

ज्येष्ठ नागरिकलाई ब्लाङ्केट र हर्लिक्स

बुटवल, २५ मंसिर । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर बुटवलमा बृद्धबृद्धालाई ब्लाङ्केट र हर्लिक्स प्रदान गरिएको छ । प्रदेश पाँच मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोग पाँच नं. प्रदेश कार्यालयले संयुक्त रुपमा बृद्धबृद्धा (जेष्ठ नागरिक) लाई दिवसका अवसरमा सो समाग्रि प्रदान गरिएको मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका शाखा अधिकृत ईन्द्र क्षेत्रीले बताउनु भयो ।

दिवसको अवसर तीन दिने कार्यक्रममो अन्तिम दिन मंगलबार बुटवल उपमहानगरपालिका वडा नं. २ पाखापानीमा रहेको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई ब्लाङ्केट तथा हर्लिक्स प्रदान गरिएको हो ।

त्यस अवसरमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशवराज आचार्यले बृद्धबृद्धालाई आश्रममा भन्दा पनि आफ्नै घरमा बस्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले घरमा रहन नसकेका बृद्धबृद्धालाई सेवा गरेर आश्रमले राम्रो काम गरेको पनि बताउनु भयो ।

त्यस अवसरमा आश्रमका उपाध्यक्ष वेनबहादुर पौडेलले आश्रममा रहेका बृद्धबृद्धालाई स्याहार सुसार, खाना तथा लत्ता कपडा बिभिन्न संघसंस्था तथा व्यक्तिहरुले प्रदान गरेको दानबाट भईरहेको बताउँदै प्रदेश सरकारलाई यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।

आर्थिक मामिला तथा योजना आयोगका सचिव थानेश्वर गौतमले चालु आर्थिक वर्षकालागि बजेट विनियोजन भई कार्यान्वयनमा रहेकाले अर्को आर्थिक वर्षमा मात्रै केही गर्न सकिने बताउनु भयो । हाल उक्त बृद्धाश्रममा १० जना बृद्धबृद्धाले आश्रय लिईरहेको आश्रम सञ्चालक समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर पहिलो दिन साँझ प्रदेश पाँचको अस्थायी राजधानी बुटवलको राजमार्ग चौराहामा दीप प्रज्वलन गरिएको थियो भने सोमबार प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको राष्ट्रिय मानव अधिकार आयोज प्रदेश कार्यालय बुटवलका प्रमुख पवन भट्टले जानकारी गराउनु भयो ।