बुद्ध मुर्ति तोडफोडको सर्वत्र बिरोध

891

बुद्ध मुर्ति तोडफोडको सर्वत्र बिरोध

बुटवल, २ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सिद्धार्थ राजमार्गमा पर्ने बुटवल भैरहवामा सडक खण्डमा पर्ने तिलोत्तमा नगरपालिका भित्र सडक डिभाईडरमा राखिएका बुद्धको मुर्ति तोडफोड गरिएको छ । तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।

बुधवार साँझसम्म केही नभएका बुद्ध मूर्ति विहिवार बिहान तोडफोड भएको देखिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । मूर्ति कसले र किन तोडेको हो भन्नेबारे पत्ता लागेको छैन । घटनाको प्रहरी टोलीले अध्ययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो । एउटा मूर्तिको तौल नै १ सय १० किलो छ । लुम्बिनीको झल्को दिनेगरी मुख्य सडकको बिचको डिभाईडरमा राखिएका मूर्ति कसले र किन तोडफोड गरे भन्ने प्रश्न अहिले गम्भिर बनेको छ । मूर्तिमा भएको तोडफोडलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । शान्तिका अग्रदुत गौतम बुद्धको मूर्ति तोडफोड गर्नेलाई तुरुन्त पहिचान गरी कारवाही गर्नुपर्ने माग सहित सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ ।

तिलोत्तमा नगरपालिका भित्र सडक डिभाईडरमा राखिएका बुद्धको मुर्ति तोडफोड प्रति नेपाली काँग्रेस संघीय संसद संसदीय दलको कार्यालयले निन्दनीय र आपत्तिजनक भएको बताएको छ । संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहिबार नै प्रेस विज्ञप्ती जारी गरि नियोजित रुपमा बुद्धका मुर्ति तोडफोड गर्ने काम भएको उल्लेख गर्दै घटनाको सत्यतथ्य छानविन गरि संलग्न दोसीलाई कानुनी कारवाही गर्न सरकारसंग माग गर्नुभएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि स्तव्ध भएको जनाएको छ । नेकपा तिलोत्तमा नगर कमिटीले बिहीबार एक विज्ञप्ती जारी गर्दै घटनाप्रति स्तव्ध भएको जनाएको हो । नगर अध्यक्ष मोहन चापागाईद्वारा जारी विज्ञप्तीमा बुद्धमूर्ति तोडफोड जस्तो अराजक गतिविधिप्रति खेद व्यक्त गर्दै उक्त कार्यमा संलग्नलाई पहिचान गरी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।

त्यस्तै नेपाली काँग्रेसका क्षेत्रीय सचिव माधवलाल देवकोटाले पनि प्रेस विज्ञप्ती जारी गरि सडक डिभाईडरमा राखिएका बुद्धका मुर्ति तोडफोड गर्ने काम खेदजनक भएको उल्लेख गर्दै दोषीको पहिचान गरि कडा कारवाहीको माग गर्नुभएको छ ।