Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • बजेट प्रतिक्रिया : ‘कुलामा हराउने पानी लगाएर खेत सिँचाई हुँदैन’

    June 16, 2019


    बुटवल, १ असार । प्रदेश पाँचको सरकारले आईतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेट वितरणमुखी रहेकाले प्रदेशको दीगो बिकासका लागि कमजोर रहेको उद्योगी व्यबसायीले प्रतिक्रिया दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री पोखरेलले आगामी आर्थिक वर्ष २०७६/७७ कालागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाको बजेट प्रस्तुत गर्नुभएको थियो ।

    उक्त बजेटले सबै क्षेत्रलाई समेटेकाले सतही रुपमा हेर्दा राम्रो देखिएपनि सबैलाई समेट्ने नामा छरिएको र छरिएको बजेटले प्रदेशको दीगो बिकासको लक्ष्यलाई भेटाउन नसक्ने उनीहरुले प्रतिक्रिया दिएका छन् । बजेट पछि प्रतिक्रिया दिँदै बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद अर्यालले बजेट सबैलाई समेट्ने नाममा छरिएर आएको बताउनु भयो ।

    सैद्धान्तिक रुपमा उठान गरिएका बिषयहरु राम्रा भएपनि बजेटको भोलुम सानो भएकाले समृद्ध प्रदेशको लक्ष्य हासिल गर्न नसक्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो–‘कुलामा हराउने पानी लगाएर खेत सिँचाई गर्ने सपना बोकेको बजेट आएको छ ।’ सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा लगानी प्रवद्र्धन गर्ने खालको बजेट आउँछ भन्ने उद्योगी व्यबसायीले आशा गरेपनि त्यसो हुन नसकेको बताउँदै अर्यालले बजेटमा ठोस कुरा नदेखिएको र बजेट प्रदेशको बिकास र समृद्धि उन्मुख नभएको बताउनु भयो ।

    त्यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष गणेसप्रसाद अधिकारीले पनि समग्रमा सबैलाई समेटेको बजेट आएपनि उत्पादनमुखी बजेट नआएको प्रतिक्रिया दिनुभयो । उत्पादनलाई अलि बढी जोड दिनुपर्ने थियो, हामीले पनि त्यही आशा गरेका थियौं ।’ उहाँले भन्नुभयो–‘पर्यटन, कृषि तथा स्वरोजगारमुलक उद्योगलाई केही छोएको छ, तर प्रयाप्त छैन ।’

    उहाँले स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमुलक उद्योगलाई अली बढी जोड दिनुपर्ने भएपनि त्यस्ता उद्योगलाई बजेटले समेट्न नसकेको बताउँदै बजेटले प्रदेशको आर्थिक बिकासलाई त्यती जोड नदिएको बताउनु भयो ।