बुटवलमा लुम्बिनी एक्स्पो हुँदै

645

बुटवलमा लुम्बिनी एक्स्पो हुँदै

बुटवल, कात्तिक । रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुसमा ‘लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । प्रदेश पाँचको राजधानी, पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र बुटवलमा व्यापारलाई आधुनिकिकरण तथा विशिष्टिकरण गर्ने उद्देश्यले एक्स्पो गर्न लागिएको बुधबार मेला स्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ आगामी पुस ५ देखि १८ गतेसम्म मेला गर्न लागिएको रुपन्देही व्यापार संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक पदमप्रसाद श्रेष्ठले बताउनु भयो ।

२०५७ सालमा स्थापना भएको रुपन्देही व्यापार संघले २०६६ सालबाट मेला गर्न सुरु गरेको थियो । संघले गर्ने मेलाको यो चौथो संस्करण हो । १४ दिनसम्म सञ्चालन गरिने मेलामा स्वदेशी तथा विदेशी समेत गरि ६ सय स्टल समावेश गरिने छ भने मेला अवधिभर ८ लाख दर्शकले मेला अवलोकन गर्ने र ५० करोडको कारोवार गर्ने आयोजकले अपेक्षा गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मेलामा लुम्बिनी सहित प्रदेश पाँचका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरुको प्रवद्र्धन तथा प्रचार प्रसार गरिने संयोजक श्रेष्ठले बताउनु भयो । त्यस्तै यस क्षेत्रको कृषि क्षेत्रको प्रचुर सम्भावनालाई मध्येनजर गरेर कृषिलाई छुट्टै पेभिलियनमा राखिने छ भने सबै औद्योगिक उत्पादन एवं उपभोक्ता विचको सम्बन्धमा सामिप्यता ल्याउन र लगानी कर्तालाई नयाँ व्यबसाय स्थापना गर्न प्रोत्साहन गरिने उहाँले बताउनु भयो ।

त्यस्तैगरी मेलामा स्थानीय साना तथा घरेलु व्यबसायी तथा महिला उद्यमीलाई प्रेरित गरिने छ भने सूचना तथा सञ्चार, शैक्षिक, सेवामुलक, वैकल्पिक उर्जा, स्वदेशी उद्योगका उतपादनलाई विशेष प्राथमिकता दिईएको र मेलामा प्राविधिक तथा ईन्टरनेट सेवा, फ्रि वाईफाई, विशेष विशेष स्थानमा सिसिटीभि क्यामेरा जडान गरिने अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।

नेपाल चेम्वर्स अफ कमर्स काठमाण्डौ, तिलोत्तमा व्यापार संघ, सैनामैना व्यापार संघ, देवदह व्यापार संघको सहआयोजना हुन लागेको मेलाको प्रदेश पाँचको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय, भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय, व्यापार तथा निकासी पर्वद्धन केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड काठमाण्डौ, जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिका प्रवद्र्धक रहेका छन् ।