Tuesday 20th November 2018
  • New title for a=>html, img=>alt
  • पाल्पामा व्यबसायिक बन्दै आरन पेशा

    September 6, 2018


    पाल्पा, २१ भदौ । रिब्दीकोट गाउँपालिकाले परम्परागत आरन व्यवसायमा सुधार गरी दलित समुदायका युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउन थालेको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा प्रशस्त भेटिने कृषि औजार उत्पादन गर्ने परम्परागत आरन पेशा छाड्न थालेपछि गाउँपालिकाले व्यावसायिकरूपमा आरन सञ्चालनमा ल्याएको हो ।

    गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने कृषि औजार प्रयोगमा उत्साह थप्दै किसानलाई सेवा र आरन सञ्चालनलाई रोजगारकारको वातावरण सिर्जना गर्न थालेको हो । स्थानीय तहबाट आरन पेशा सुधारका लागि तालीमसँगै अनुदानको समेत व्यवस्था गरेपछि दलित समुदायको पुख्र्यौली पेशाका रूपमा रहेको कृषि औजार निर्माण गर्ने पेशामा युवापुस्ताको आकर्षण पुनःबढेको हो ।

    लोपोन्मुख परम्परागत आरन पेशालाई व्यावसायिकरूपमा बदल्ने र किसानले स्थानीयस्तरमा कृषि औजार पाउने भएपछि किसानलाई सहज हुने छ । नयाँ पुस्ता आरन पेशामा आकर्षित हुन नसक्दा रिब्दीकोट गाउँपालिकाले आरन व्यवसाय सुधार गर्न थालेको हो । परम्परागत ज्ञान, सीप, क्षमतालाई थप आधुनिकीकरण गरी व्यावसायिक बनाउन गाउँपालिकाले तालीमसहित अनुदान दिएको हो । दलित समुदायको पुख्र्यौली पेशाबाट ठूलो मात्रामा युवा विस्थापित बन्दै गएपछि हराउन थालेको पेशा संरक्षण गर्न जुटेपछि स्थानीयबासी खुशी छन् । गाउँपालिकाले २७ युवालाई तालीमसहित अनुदान प्रदान गरेको छ ।

    रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले गाउँघरमा भएको पुरानो प्रविधिको जर्गेना गरी स्थानीय युवालाई आयआर्जन गर्न तथा किसानलाई सहयोग पुग्ने बताउनुभयो । आव २०७४÷७५ मा गाउँपालिका भित्रका परम्परागत आरन व्यवसायलाई व्यवस्थित बनाउन व्यवसायीलाई तालीमसहित अनुदानको व्यवस्था गरेको हो ।

    गाउँपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलले २७ जनालाई रु आठ हजार ६०० देखि रु १५ हजारसम्म अनुदान उपलब्ध गरिएको बताउनुभयो । आरन पेशामा युवालाई आकर्षित गरी दलित समुदायका युवालाई घरमा बसीबसी आम्दानी गर्न सहज भएको छ । परम्परागत पेशाको संरक्षणसँग आम्दानी हुने गर्दछ । रिब्दीकोट गाउँपालिका–१ ख्याहाका गोपाल सुनारले अनुदानपछि दैनिक रु दुई हजारदेखि रु चार हजारसम्म कारोबार हुने बताउनुभयो ।

    फलामको कोदाला, हँसिया, बन्चरो, दाउलगायतका कृषि औजार आरनमा उत्पादन हुँदै आएको छ । स्थानीयवासी गोपाल सुनारका अनुसार घरबाट नै प्रतिकोदालोलाई रु दुई हजार, दाउलाई रु एक हजार २००, हँसियालाई रु ५०० देखि रु एक हजार ५०० सम्म, कुटीलाई रु दुई सयसम्म बिक्री हुने गरेको छ । रासस