समाजसेवी गुरुङद्वारा २० लाखको छात्रवृत्ति अक्षयकोष

1K

समाजसेवी गुरुङद्वारा २० लाखको छात्रवृत्ति अक्षयकोष

बुटवल, २४ जेठ । उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नको लागि समाजसेवी रामकाजी गुरुङले २० लाख रुपियाको अक्षयकोष स्थापना गर्नुभएको छ । बुटवल ईटाभट्टी निवासी ९३ वर्षीय रामकाजी गुरुङले कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरि २० लाख रुपैयाको रामकाजी मनकुमारी कल्याणकारी अक्षयकोष स्थापना गर्नुभएको हो ।

अक्षयकोष सञ्चालन र छात्रवृत्ति वितरण सम्बन्धमा विद्यालयमा आयोजित विद्यार्थी सम्मान तथा अक्षयकोष हस्तान्तरण कार्यक्रममा अक्षयकोष दाता रामकाजी गुरुङ र कालिका मानवज्ञान माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले समझदारीपत्र आदान प्रदान गर्नुभयो । समझदारी पत्रमा विस लाख रुपैया मूल राशी भएको अक्षयकोषको ब्याज बापतको रकमले हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने उल्लेख गरिएको छ ।

अक्षयकोषबाट कक्षा १२ का सर्वोत्कृष्ट विद्यार्थीलाई नब्बे हजार रुपैया, द्वितीय हुनेलाई १० हजार रुपिया, एसईईमा सर्वोत्क्रुष्टलाई ५० हजार रुपैया र १० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई जनही एक हजार रुपैया छात्रवृत्ति वितरण गर्ने र ब्याज रकमबाटै कार्यविधि बनाएर हरेक वर्ष सामुदायिक विद्यालय र शिक्षाको बारेमा उत्कृष्ट रिपोर्टिंग गर्ने पत्रकारलाई सम्मान गर्ने विद्यालयले जनाएको छ ।

रामकाजी गुरुंगले स्थापना गरेको अक्षयकोषसंगै कालिका मानवज्ञान माविमा स्थापित अक्षयकोषको संख्या ३९ पुगेको छ । विभिन्न दाताहरुली स्थापना गरेको अक्षयकोषको मूल राशि ५९ लाख ९१ हजार ११३ पुगेको छ । यी अक्षयकोषहरुबाट विद्यालयले हरेक वर्ष ११८ जना विद्यार्थी, ६ जना शिक्षक, एक जना अभिभावक, ३ जना खेलाडी र २ जना पत्रकारलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गर्दै आएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोष दाता गुरुङलाइ विद्यालयको अभिनन्दन गरेको छ । उक्त कार्यक्रममा शैक्षिक सत्र २०७५ मा विद्यालयको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका तथा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न सफल २३७ जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।