Monday 27th May 2019
  • New title for a=>html, img=>alt
  • द्विपक्षीय साझेदारीकालागि समझदारीपत्रमा हस्ताक्षर

    May 15, 2019


    बुटवल, १ जेठ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र छिमेकी मुलुक चीनको कान्छु प्रदेशका गभर्नर थाङ् रनचान बिच भेटवार्ता भएको छ । प्रदेश पाँच मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेशको विशेषता तथा सम्भावना जानकारी गराउँदै चालु वर्षमा आवधिक योजना र कानुन निर्माणलाई प्राथमिकता दिएको तथा योजनावद्ध बिकासको बाटो तय भएको जानकारी गराउनु भयो ।

    त्यस्तै उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनी सहित धेरै बौद्ध संस्कृतिसंग सम्बन्धित सम्पदास्थलहरु रहेको र ती क्षेत्रमा पर्यटन प्रवद्र्धन गरी लाभ लिने गरी योजना अघि सारिएको जानकारी गराउनु भयो । भेटमा गर्भनर रनच्यानले नेपाल र चीन बीचको सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउँदै सम्बन्धलाई मजबुत र फराकिलो बनाएर द्विपक्षीय हितमा धेरै काम गर्न सकिने बताउनुभयो ।

    उहाँले प्रदेश पाँचको अवस्था बारे मुख्यमन्त्रीबाट जानकारी पाएपछि प्रदेश पाँच र कान्छु प्रदेशको अवस्था मिल्दोजुल्दो भएको बताउनुभयो । उहाँले कान्छु प्रदेशले कृषि उत्पादन र पर्यटन प्रवद्र्धन गरी राम्रो लाभ लिएको जानकारी गराउनु भयो । भेटमा मुख्यमन्त्रीले नेपालको पूर्वाधार विकासमा चिनियाँ सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको हिमाली क्षेत्रमा पनि स्याउ उत्पादनको राम्रो सम्भावना रहेकाले चिनिया प्रविधि हस्तान्त्रणको अपेक्षा गर्नुभयो ।

    त्यसै अवसरमा द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री पोखरेल र गर्भनर रनच्यानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्छु प्रदेशका सांस्कृतिक तथा पर्यटन निर्देशक थन वइतोङले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी गराउनु भयो ।

    सांस्कृतिक आदान प्रदान र पर्यटन पवद्र्धनका लागि दुई देशका विज्ञ, उद्यमी र सरकारी अधिकारीको भ्रमण आदान प्रदान बढाउने, नेपालको पर्यटन विकासका लागि चिनियाँ लगानी बढाउने समझदारी पत्रमा उल्लेख छ ।