चीनमा भूकम्प

308

चीनमा भूकम्प

कुन्मिङ्ग, २७ माघ । चीनको दक्षिणपश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४.९ रिक्टर स्केल भूकम्पमा परी पाँच व्यक्ति घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

तर भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार साँझ ७ः११ बजे सो भूकम्प गएको थियो । सो भूकम्पको केन्द्रविन्दु लुदिआनको आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । भूकम्पमा परी घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।

सन् २०१४ मा सोही प्रान्त प्रभावित हुने गरी आएको ६.५ रिक्टर स्केलको भूकम्पमा परी ६१७ व्यक्तिको मृत्यु हुनुको साथै भारी मात्रामा सम्पत्ति क्षति भएको थियो । रासस/सिन्ह्वा