Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • ‘चिसो बढ्यो, स्वास्थ्यकालागि सजग रहौँ’

    November 21, 2018


    मदन शर्मा/
    बुटवल, ५ मंसिर । चिसो मौसम सुरु भएसंगै चिसोका कारण बिभिन्न खाले शारीरिक समस्या देखा पर्न थालेका छन् । जाडोयाममा विशेषगरी शोर थ्रोट, मुटु सम्बन्धी समस्या, रुगाखोकी, कोल्ड डाईरीया, बातका समस्या, मृगौला सम्बन्धी समस्या, अस्थमा जस्ता समस्याहरु देखा पर्ने गर्दछन् ।

    लुम्बिनी अञ्चल अस्पतालका फिजिसियन डा. नन्दु पाठकका अनुसार मौषमी बदलाव, खानपिन र स्वास्थ्यप्रति न्युन ध्यानाकर्षणका कारण यस्ता समस्याहरु देखा पर्ने गर्छन् । यस्ता समस्या सुरुमा साना भएपनि उचित हेरचाह भएन भने समस्याले भयानक रुप लिन पनि सक्ने उहाँको भनाई छ ।

    शोर थ्रोटमा घांटी दुख्ने, कुक्याएजस्तो हुने गर्छ भने रुगाखोकीमा नाकबाट पातलो सिंगान बग्ने, छ्युँका आउने तथा खोकी लाग्ने गर्छ । त्यस्तै मुटुका समस्यामा चिसो मौसमका कारणले शरीरका नशाहरु सांगुरीने भएकाले उक्त रक्तचाप अत्याधिक हुने गर्छ । अस्तमाका रोगीलाई स्वास प्रस्वासमा समस्या हुने गर्दछ भने बातका तथा हड्डी खिईएका रोगीलाई हातखुट्टाका जोर्नी दुख्ने समस्या अत्याधिक हुने गर्छ । साथै फ्रोष्ट बाईटमा हातखुट्टाका औंलाहरुमा घाउ हुने र निलो हुने गर्छ ।

    चिसोबाट देखिने यस्ता समस्याहरु मुख्य गरी बच्चा, बुढा, असक्तमा, बात, मुटु र मृगौलाका बिरामी तथा क्यानसरको उपचार भईरहेकालाई अत्याधिक हुने गरेको डा. पाठक बताउनु हुन्छ । उहाँले चिसोका समयमा विशेष सावधानी अपनाउन पनि सल्लाह दिनुहुन्छ । यस्ता समस्याको बचावकालागि मुख्यतः खानपिनमा ध्यान दिनुपर्ने उहांको भनाई छ ।

    जसमा प्रोटिन र कार्बोहाईड्रेडको मात्रा बढी भएका (जस्तै :– दुध, रोटी, हरीयो सागपात, अन्डा लगायत) का खानेकुराहरु खानपान गर्न र स्वच्छ वातावरणको उपयोग गर्न पनि सल्लाह दिनुभयो । त्यस्तै रोग संक्रमण हुनबाट बच्नको लागि व्यक्तिगत सरसफाई देखि घरपरिवार र आसपासको वातावरणको सरसफाईमा ध्यान दिन पनि उहाँले सुझाव दिनुभयो ।

    जाडो मौषममा अन्य समयमा भन्दा १० प्रतिशत बढी बिरामी अस्पतालमा आउने गरेका छन् । स्वासप्रस्वास, निमोनिया, कोल्ड डाईरिया लगायतका समस्याका कारण जाडो मौषममा बिरामी अस्पताल आउने गर्दछन् । लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार अन्य समयमा भन्दा जाडो मौषममा तुलनात्मक रुपमा १० प्रतिशत बढी बिरामीको चाप हुने गर्दछ ।