महंगी, कर र असुरक्षा बढेको काँग्रेस जिल्ला सभापतिहरुको ठहर

649

महंगी, कर र असुरक्षा बढेको काँग्रेस जिल्ला सभापतिहरुको ठहर

बुटवल, ३० कात्तिक । नेपाली काँग्रेसका प्रदेश नम्वर ५ का जिल्ला सभापतिको २ दिने बैठक प्युठानको स्वर्गद्धारीमा सम्पन्न भएको छ । प्रदेशस्तरीय दोश्रो बैठकले ६ बुदे निणर्य गरेको छ । प्युठानका सभापति अमर भण्डारीको अध्यक्षतामा बसेको बैठकमा कपिलवस्तु सभापति सुरेन्द्रराज आचार्य, बर्दिया सभापति सञ्जय गौतम, पाल्पा सभापति बीर बहादुर राना, नवलपरासी सभापति अर्जुन कुमार पोखरेल, गुल्मी सभापति भुवन श्रेष्ठ, अर्घाखाँची सभापति बिष्णु खनाल मुस्कान, दाङ्ग सभापति कृति बहादुर खड्का, बांके सभापति किरण कोइराला र रोल्पा सभापति अमरसिंह पुन सहभागि हुनुहुन्थ्यो ।

रुपन्देही सभापति अब्दुल रज्जाक र पुर्व रुकुम सभापति केशरमान रोका भने बैठकमा सहभागि हुन सक्नु भएन । रुपन्देही सभापति रज्जाक अस्वस्थताका कारण अस्पतालमा भर्ना हुनुहुन्छ । बैठकले वर्तमान सरकार गठन भएको ९ महिनामा महंगी बढेको, कर बढेको र असुरक्षा बढेको ठहर गर्दै महंगी नियन्त्रण गर्न, बढाएको कर फिर्ता लिन र शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकारसंग माग गर्ने निणर्य गरेको छ ।

त्यस्तै प्रदेश सभाको बैठकमा शसक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निणर्य गर्दै प्रदेश सरकारलाई प्रदेशको स्थायी राजधानी र नामाकरण तय गर्न माग गरेको छ । त्यसैगरी प्रदेशका सबै जिल्लामा संगठन र गाउँ केन्द्रित अभियान सञ्चालन गर्ने तथा पार्टीको आसन्न महासमिति बैठकमा हेटौडामा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले निर्देश गरेका बिषयलाई बिधानमा समेट्ने गरी प्रस्तुत हुने निणर्य गरेको छ । यसअघि जेठ ६ र ७ गते बुटवलमा प्रदेश ५ का पार्टीका जिल्ला सभापतिहरुको पहिलो बैठक बसेको थियो ।