विदेशी नागरिकको सहयोग नेपाली दृष्टिविहीनलाई

698

विदेशी नागरिकको सहयोग नेपाली दृष्टिविहीनलाई

बुटवल, १४ बैशाख । पश्चिम नेपाल विकास ट्रष्ट बुटवलले अमेरिका, बेलायत लगायतका मुलुकका नागरिकले विभिन्न संस्थामार्फत उपलब्ध गराएको सहयोग दृष्टिविहीनहरुलाई वितरण गरेको छ । संस्थाले बुटवल उपमहानगरपालिका १५ उजेलापुरमा रहेको दृष्टिविहीन आश्रमका लागि १ सय २५ किलो चामल, ५० किलो दाल, ४० लिटर तेल, २० किलो चिनी र ५ थान पंखा प्रदान गरेको हो । त्यस्तै सिर्जना आमा समूहको समाज घरका लागि २० वटा कुर्ची र एउटा साउण्ड बक्स उपलब्ध गराएको छ ।

दृष्टिविहीन जीवन बानियाँलाई एउटा ल्यावटप प्रदान गरेको छ भने बर्दिया स्थित विश्वज्योति विद्यालयका लागि दुई थान डेस्कटप कम्पुटर प्रदान गरेको छ । त्यसैगरी बुटवलमा शनिवार एक कार्यक्रम गरी सँस्थाले अपाङ्ग आश्रम देवीनगर बुटवललाई ह्वील चेयर पनि प्रदान गरेको संस्थाका कोषाध्यक्ष पदम घिमिरेले बताउनुभयो । संस्थाकी अध्यक्ष गौरीमाया थापासहित राहत संकलनमा महत्वपूर्ण भूमिका खेलेका संस्थाका अन्तर्राष्ट्रिय प्रतिनिधि मोहन नेपाल, बेलायती नागरिक जुली पवेल, अमेरिकी नागरिक इडी केनाप्टन लगायतले राहत प्रदान गर्नुभएको थियो ।

बुटवल स्थित मायादेवी विद्यालयलाई एक हजार लिटरको पानी टंयाकीसमेत प्रदान गरिएको सँस्थाका कोषाध्यक्ष घिमिरेले जानकारी दिनुभयो । जुलीका छोरा सोहनलीले एजरा फाउण्डेसन मार्फत जम्मा गरेको रकम तथा अमेरिकी नागरिक इडीले तथा सँस्थाका अन्तर्राष्ट्रिय प्रतिनिधि मोहन नेपालको पहलमा संकलित राहत संस्थाकी अध्यक्ष गौरीमाया थापालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार विष्णु घिमिरे, उपाध्यक्ष मोमप्रसाद गुरुङ, सचिव माधव आचार्यले संस्थाले विपन्न क्षेत्रका लागि यस किसिमका सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिइने बताउनु भयो ।

उता शहिद स्मृति प्राथमिक विद्यालय बुद्धनगर बुटवलका प्रधानाध्यापक प्रकाश गौतम, दृष्टिविहिन आश्रमकी अध्यक्ष मिराकुमारी खड्का, अपाङ्ग आश्रम बुटवलका डोरवहादुर रामदाम, दृष्टिविहिन जीवन बानिया लगायतले संस्थाले गरेको कामको प्रशंसा गरेका थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष गौरीमाया थापाले विभिन्न क्षेत्रको सहयोगमा विपन्न क्षेत्रलाई सहयोग गरेको भन्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।

विगतमा बाढी पीडित तथा भुकम्प पीडितलाई पनि ट्रस्ष्ले सहयोग गरेको थियो । पोखराका पर्यटन ब्यवसायी गोपाल भुसालको अग्रसरतामा स्थापना गरिएको संस्थालाई स्वर्गीय वेलसिंह थापाले महत्वपूर्ण नेतृत्व तथा योगदान गरेको संस्थाले जनाएको छ ।