Tuesday 26th March 2019
  • New title for a=>html, img=>alt
  • माओवादी होइन, एमालेलाई चिन्न चुक्यो कांग्रेस: गगन थापा

    October 6, 2017


    भरतपुर  महानगरमा माओवादी केन्द्रलाई समर्थन गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाहिर मात्र होइन, भित्र पनि चर्को आलोचना खेपे । परिणाम, प्रचण्डको प्रस्तावका बावजुद प्रदेश २ को चुनावमा तालेमल हुन सकेन ।

     

    प्रचण्डले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि कांग्रेससँग तालमेल गर्न चाहेका थिए । एमालेले ६०/४० को प्रस्ताव ल्यायो भनेर उनले देउवालाई सुनाएका पनि थिए । तर, पार्टीभित्रको गुट-उपगुटको दबाब र खप्कीबाट हच्किएका देउवाले प्रचण्डलाई काउन्टरको ठोस प्रस्ताव दिन सकेनन् ।

    तर, जब माओवादीले एमालेसँग चुनावी तालेमलसँगै पार्टी एकता गर्ने सहमति गर्‍यो, हिजो माओवादीसँग मिल्दा नेतृत्वको कटु आलोचना गर्ने तिनै कांग्रेस नेताहरु माओवादीले धोका दियो भन्दै ‘रुवाबासी’ गरिरहेका छन् । के माओवादीले धोका दिएको हो वा कांग्रेसले एमालेको रणनीति बुझ्न सकेन ?

    यही प्रश्न हामीले कांग्रेस युवा नेता गगन थापालाई राख्यौं, उनले यसरी विश्लेषण गरेः

    कांग्रेसले माओवादीको विश्लेषण गर्न चुकेको होइन । कांग्रेस एमालेको विश्लेषण गर्न चुकेको हो । एमालेले माओवादीलाई ४० प्रतिशत दिन्छौं भनेर निर्णय गरेरै सार्वजनिक गर्‍यो । त्यो कुरा माओवादी नेताहरुले कांग्रेस नेताहरुलाई भेटेरै सुनाउँदै गर्दा एमालेले ४० प्रतिशत दिन्छ भन्ने हामीले मान्दै मानेनौं ।

    एमाले हामीजस्तै पार्टी हो, कांग्रेसको प्रतिद्वन्द्वी र दौंतरी दुवै । खानेपानी, विद्यालय जहाँ चुनाव हुँदा पनि कांग्रेस र एमालेबीचमै हुन्छ । माओवादीसँग देशैभरि चुनावी गठबन्धन गर्दै गर्दा एक सय ६५ मध्ये कुनचाहीं सिट दिने होला । आफूले जित्दै जित्दैनौं भन्ने ठाउँमा एउटा प्रान्त जिम्मा लगाउन त गाह्रो भएको बेला एमालेले ४० प्रतिशत सिट दिन्छ भन्ने कांग्रेस नेताहरुको कल्पनाभन्दा बाहिरको हो ।

    आफूले जित्दै जित्दैनौं भन्ने ठाउँमा एउटा प्रान्त जिम्मा लगाउन त गाह्रो भएको बेला एमालेले ४० प्रतिशत सिट दिन्छ भन्ने कांग्रेस नेताहरुको कल्पनाभन्दा बाहिरको हो

    अहिले ६०/४० भनिएको छ । यो भनेको नयाँशक्तिसहितका दलहरुलाई दिएर बाँकी सिटको हो, त्यस हिसाबले एमालेको भागमा ५० प्रतिशत मात्र पर्ने भयो । आफ्नो पार्टीलाई ६० प्रतिशत मात्र राखेर सहमति गर्नु भनेको एमालेलाई आफ्नो नेतृत्वमा बहुमतको सरकार चलाउनुपर्छ भन्ने हुटहुटी देखियो ।

    कांग्रेसमा तत्कालीन इलेक्टोरल स्वार्थका लागि एमालेले त्यसो गर्नै सक्दैन भन्ने थियो । आफूलाई ५० प्रतिशतमा सीमित गर्नै सक्दैन भन्ने थियो । एउटै कम्युनिस्ट पार्टी बनाउने हुटहुटी पनि एमालेभित्रका सीमित नेताको थोत्रे कुरा मात्र हो भन्ने लाग्यो ।

    एउटै कम्युनिस्ट पार्टीको सपना एमाले नेताहरुले देख्लान् भन्ने लागेकै थिएन । त्यो सपना देख्नुपर्ने त एमालेले होइन, मोहन वैद्य, मोहनबिक्रम सिंहले हो भन्ने थियो । एमालेले त मुठ्ठी पनि कस्दैन, लेनिनको तस्बिर पनि राख्दैन भन्थ्यौं ।

    एमाले त नाम मात्रको कम्युनिस्ट मात्र बाँकी रहेको विश्लेषण हुँदै आएकै हो । अब त एमाले कांग्रेसभन्दा फरक छैन भन्ने पनि थियो । इलेक्टोरल गठबन्धनमा पनि यसरी अगाडि आउला भन्ने सोच्न चुकेको छ, कांग्रेस । र, एउटा ठूलो राष्ट्रिय कम्युनिस्ट पार्टी बनाउने कुरा एमालेले सोच्ला भन्ने कसैलाई लागेको थिएन ।

    त्यो वामदेव गौतमको व्यक्तिगत तहमा थियो, उनले लामो समयदेखि यो कुरालाई उठाउँदै आएका थिए । कहिलेकाहीं लेख्थे पनि । तर, केपी ओली र माधव नेपालले पनि वामदेवको आइडिया समात्लान् भन्ने लागेको थिएन ।

    यस्तो मार्ग एमालेले पछ्याउला भन्ने कल्पना नै गरिएको थिएन । त्यसैले एमालेलाई चिन्न हामीले सकेनछौं ।

    तर, माओवादीलाई हामीले चिन्न नसकेको होइन । यस्ता यु-टर्न पटक-पटक लिएको थियो, माओवादीले ।

    पहिलो, संविधानसभा गठनलगत्तै मधेससँग मिलेर संविधान कुनै हालतमा बन्न नदिएर कुर्सी, टेबल भाँच्नेसम्मका अतिवादी काम गरेको थियो । त्यस्तो पार्टी एकैचोटी भूकम्पका कारण राष्ट्रियताबाट ओतप्रोत भएर मधेसी दललाई आन्दोलन स्थलमै छाडेर संविधानमा हस्ताक्षर गर्न आइपुग्यो ।

    राष्ट्र जोगाउने नाममा फेरि एमालेलाई काँधमा हाल्यो । फेरि संविधान जोगाउन भनेर कांग्रेससँग आयो । फेरि कम्युनिस्ट आन्दोलन जोगाउन भन्दै एमालेतिर गयो ।

    युद्ध लडेर आएको माओवादीका हकमा त्यो कुनै अनौठो कुरा भएन । युद्धको बाटोबाट आएको नेता (वार लिडर)को मनोविज्ञान प्लान ए, प्लान बीमा काम गर्ने हुन्छ नै । ट्याक्टिस र स्ट्राटेजीको कुरा त्यस्तो नेतामा कहिल्यै छुट्दैन । ट्याक्टिस जहिले पनि परिवर्तन गर्न सक्छ । उसको स्ट्राटेजी पार्टी बलियो बनाउने भन्ने हुन्छ ।

    यस्तो ट्याक्टिकल गतिविधिले चुनाव पछाडि राम्रो सिट संख्या आयो या आएन भने पनि फेरि परिवर्तन आउन सक्छ ।

    तर, एउटै चुनाव चिन्हमा लड्ने कुरा सामान्य होइन । अहिले प्राविधिक हिसाबले मात्र एउटै चुनाव चिन्हमा लड्न सकिएन भन्ने कुरा गरेका छन् ।
    एउटै चुनाव चिन्हमा चुनाव लड्न तयार नहुने कुराले भोलि चुनाव पछाडि यो या त्यो कुरामा चित्त बुझेन भने त्यो ट्याक्टिकल मुभ अर्कातिर नहोला भनेर कसले भन्न सक्छ र ? सधैं यस्तै रहन्छ भन्ने कुराको जिम्मा कसले लिन्छ ?

    कांग्रेसले के चाहेको थियो ?

    पहिलो, हामीले माओवादीलाई सँगै राखेर चुनावमा जान चाहेकै हो । जुन हामीले सकेनौं र चुक्यौं ।

    दोस्रो, अबको चुनावमा सँगै राखे पनि नराखे पनि अरुसँग माओवादी नमिलोस् भन्ने चाहेकै हो ।

    तेस्रो, चुनावपछि गठबन्धन (पोस्ट इलेक्सन एलायन्स) होस् भन्ने चाहेकै हो तर, यो रणनीतिमा पनि सफल भएनौं ।

    तर, के कांग्रेसले ४० प्रतिशत दिन सक्थ्यो त ? सक्दैनथ्यो । त्यो व्यवस्थापन गर्न सकिने कुरा नै थिएन ।

    अर्कोले ४० प्रतिशत दिन सक्छ भन्ने नलाग्दा कांग्रेसले कुनै अफर नै गरेन । एमालेले दिन सक्छ भन्ने थाहा पाएको भए ४० होइन, ४२ प्रतिशत दिने थियो । त्यसो गर्न असम्भव भए उसलाई इंगेज गर्न अन्य रणनीति अख्तियार गर्ने थियो । शुरुमा प्रधानमन्त्री बनाउने र २० प्रतिशत सिट दिने प्रस्ताव गर्न पनि सक्थ्यो ।

    तर, प्रधानमन्त्री बन्ने कुरामा ५० प्रतिशतमा पनि खुम्चेर एमाले अगाडि बढ्ला भन्ने कांग्रेसलाई लाग्दै लागेन ।

    प्रदेश २ को चुनावपछि माओवादी नेताहरुले कांग्रेस नेताहरुसँगको भेटमा एमालेको ४० प्रतिशतको अफरबारे बताएकै हुन् । कांग्रेसको कुरा के हो भनेकै थिए ।

    फेरि वाम एकताको कुरा आयो । कांग्रेससँग माओवादीको एकता सम्भव थिएन । यदि हिजो माओवादीसँग मिल्ने कुरा गलत थियो भने त्यो भोलि पनि सही हुँदैनथ्यो । त्यसो भए सबै वाम एक ठाउँमा आएर ठीक भयो भन्नुपर्छ ।

    तर, हामीले के बिर्सन हुँदैन भने अहिले पनि निर्वाचन सजिलै भएको होइन । प्रदेश २ मा निर्वाचन नभएको भए के हुन्थ्यो ? स्थानीय चुनाव नभएको भए मंसिरको चुनाव हुने थिएन । माओवादीसँगको गठबन्धनबाट मुलुकले यो उपलब्धि त हासिल गर्‍यो नि ।

    अब कांग्रेसले के गर्नु पर्छ त ?

    सबैभन्दा पहिले वाम एकताको कुरा गर्दै गर्दा नेताहरुले ६०/६२ प्रतिशत आफ्नो पोल्टामा आएको बताइरहेका छन् । त्यसलाई तन्काएर ७५ प्रतिशत पुर्‍याउने उनीहरुको कुरा हो । यो गलत तर्क हो ।

    नेपालमा करिब ७० प्रतिशत स्थान प्रजातान्त्रिक मूल्यलाई स्वीकार्नेहरुको हो । नेपालका कम्युनिस्टहरुको स्थान भनेको ३० प्रतिशत मात्र हो । एमालेले ७० प्रतिशत प्रजातान्त्रिक ‘स्पेस’मा प्रतिस्पर्धा गरिरहेको हो । त्यो स्पेसमा आफू मात्र रहेको दाबी कांग्रेसले गथ्र्यो, जनताले एमालेलाई त्यही स्पेसमा छिराएका थिए ।

    अब बन्ने भनेको नेपाल कम्युनिस्ट पार्टीको स्पेस ३० प्रतिशत हो । अर्थात्, एमाले ७० प्रतिशत छाडेर ३० प्रतिशतमा खुम्चियो । अब कांग्रेसका लागि मैदान खाली भयो । माओवादी ७० प्रतिशतमा आएको होइन, एमाले ३० प्रतिशतमा गएको हो । त्यसैले ७० प्रतिशतमा अब कांग्रेस मात्र छ ।

    तथापि, ७० प्रतिशत जनता प्रजातान्त्रिक मूल्यलाई मान्ने जनता हुन्, कांग्रेसलाई मान्ने जनता होइनन् । अब कांग्रेसले त्यो प्रजातान्त्रिक मूल्य मान्ने जनताको मत आफूसँग सुरक्षित गर्नुपर्छ । तत्कालै हामीले के के कुरामा परिवर्तन गर्‍यौं भने ७० प्रतिशत जनता साथमा रहन्छन् भन्ने मूल्यांकन गर्न ढिलाइ गर्नु हुँदैन । भविष्यको कांग्रेस राजनीति पनि यसैको सेरोफेरोमा घुम्नुपर्छ ।{अनलाइनखबर}