उत्पादनशिल क्षेत्रमा लगानी बढाउन गभर्नर नेपालको निर्देशन

932

उत्पादनशिल क्षेत्रमा लगानी बढाउन गभर्नर नेपालको निर्देशन

गोरुसिंङ्गे, १९ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले उत्पादनशिल क्षेत्रमा लगानी बढाउन बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन दिनुभएको छ । उहाँले बैंक तथा बित्तिय संस्थाहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्ने र स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारले पनि लगानी मैत्री वातावरण बनाउन सके मात्रै समृद्धि हासिल गर्न सकिने बताउनु भयो । उत्पादनशिल क्षेत्रमा लगानी बढाउन सकिएन भने मुलुकलाई समृद्ध मुलुक बनाउन नसकिने बताउँदै उहाँले उत्पादनशिल क्षेत्रमा लगानी गर्ने हो भने सम्भावना प्रसस्त रहेको पनि उल्लेख गर्नुभयो ।

कपिलबस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिङ्गेबाट सुरु गरिएको सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेडको शनिबार औपचारिक उद्घाटन गर्दै बित्तिय अवस्था कमजोर भएका गरिबिको रेखा मुनी रहेका व्यक्तिहरुको आर्थिक अवस्था सुधारकालागि लघुबित्त कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।

गभर्नर नेपालले बिकट र दुर्गम क्षेत्रका जनतालाई लक्षित गरेर लघुबित्त कार्यक्रमको स्वीकृति प्रदान गरिएकाले यसले ठूलो जनसंख्यालाई सहयोग गरिरहे पनि नेपालमा अझै ६० प्रतिशत जनसंख्या बैंक तथा बित्तिय संस्थाको पहुँचमा आउन नसकेको जानकारी गराउनु भयो । उहाँले नेपालको ९० प्रतिशत भूभागमा बैंक तथा बित्तिय संस्थाको उपस्थिती रहेपनि अझै ११६ वटा वटा स्थानीय तहमा बैंक तथा बित्तिय संस्था पुग्न नसकेको जानकारी गराउनु भयो ।

नेपालमा करिव १५० बैंक तथा बित्तिय संस्था रहेको र ६७ वटा लघुवित्त बित्तिय संस्था रहेको जानकारी गराउँदै गभर्नर नेपालले मुलुकको पूनःसंरचनासंगै अव प्रत्येक स्थानीय तहमा बैंक तथा बित्तिय संस्थाको उपस्थिती हुन सक्यो भने नजताको बित्तिय संस्थासंगको पहुँचलाई सुधार गर्न सकिने बताउनु भयो । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा बित्तिय संस्थालाई ग्रामिण क्षेत्रमा सेवा बिस्तारकालागि निर्देशन गरेकाले उहाँले चाँडै नै सुधार हुने आशा व्यक्त गर्नुभयो ।

बैंक तथा बित्तिय संस्थाको बिकास तथा बिस्तारले गरिव तथा विपन्न परिवारका सदस्यलाई धनी हुने एउटा अवसर पनि भएको बताउँदै गभर्नर नेपालले अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो । ‘पैसा कमाउनकालागि बिदेश नै जानुपर्छ भन्ने हाम्रो सोंच छ ।’ उहाँले भन्नुभयो–‘तर नेपालमा बसेरै पनि प्रसस्त पैसा कमाउन सकिन्छ, लगानीका सम्भावना प्रसस्त छ, बैंक तथा बित्तिय संस्थाहरु घरघरमै आउँदैछन्, यो अवसरको सदुपयोग गरौं ।’
उहाँले विश्वमा उत्पादन हुन नसक्ने बस्तु उत्पादन हुने अनुकुल हावापानी नेपालमा रहे पनि दैनिक उपभोग्य बस्तु समेत भारतबाट आयात गरिरहन परेकाले आयात प्रतिस्थापन गर्नेगरी उत्पादन गर्न सकेपनि नेपालमै बसेर प्रसस्त पैसा कमाउन सकिने बताउनु भयो ।

प्रदेश पाँच र छ का नवलपरासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान र जाजरकोट गरी १० जिल्ला कार्यक्षत्र रहने गरी नेपाल राष्ट्र बैंकले क्षेत्रीय स्तरको लघुवित्त बित्तिय संस्थाको रुपमा इजाजतपत्र प्रदान गरेको छ । २०७४ फागुन १४ गते नेपाल राष्ट्र बैंकबाट कारोवार इजाजत लिएको उक्त लघुबित्तले गत बैशाखबाट कारोवार सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष कमलप्रसाद ज्ञवालीले जानकारी गराउनु भयो ।

कृषि, उद्योग, सेवा, व्यापार, तथा अन्य व्यबसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशिल व्यबसायको स्थापना, बिकास, बिस्तार र क्षमता एवम् उत्पादकत्व बृद्धिकालागि आवश्यक बित्तिय साधन भरपर्दो रुपमा सहयोग गर्ने गरी सञ्चालन सुरु गरिएको उक्त लघुवित्त बित्तिय संस्थाको हालसम्म अधिकृत पुँजी ४ करोड, जारी पुँजी २ करोड २६ लाख चुक्ता पुँजी १ करोड ५८ लाख २० हजार रहेको संस्थाका कार्यकारी अधिकृत बाबुलाल नेपालले जानकारी दिनुभयो ।

उहाँले संस्थापक शेयर धनीहरुको स्वामित्व ७० प्रतिशत चुक्ता भईसकेको र बाँकी ३० प्रतिशत सर्वसाधारणलाई बिक्रिकालागि छुट्याईएको जानकारी गराउनु भयो । उक्त लघुवित्त बित्तिय संस्थाले हालसम्म रुपन्देही, नवलपरासी र कपिलबस्तु गरी तीन जिल्लाका १८ वटा स्थानीय तहमा बित्तिय सेवा बिस्तार गरिसकेको जनाएको छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाका निर्देशक अशोक पौडेलले तराईका तीन जिल्ला मध्ये कपिलबस्तु बित्तिय पहुँचका हिसावले कमजोर देखिएको बताउनु भयो । कपिलबस्तु जिल्लामा बैंक तथा बित्तिय संस्थाको संख्या ६८ रहेको जानकारी गराउँदै उक्त जिल्लाबाट १० अर्व बराबरको निक्षप संकलन, ८ अर्व बराबरको कर्जा वितरण भईरहेको र यो आँकडा छिमेकी जिल्ला रुपन्देही र नवलपरासीको तुलनामा ज्यादै न्यून रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा बुद्धभूमि नगरपालिकाका प्रमुख केशवराज श्रेष्ठ र शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले जनताको जीवनस्तर सुधार गर्न र उत्पादन बृद्धिकालागि लघुवित्त संस्थाले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । संस्थाका सञ्चालक माधवप्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा सञ्चालक रमा ज्ञवाली पन्थीले स्वागत गर्नुभएको थियो ।