Wednesday 24th April 2019
  • New title for a=>html, img=>alt
  • होली पर्वको महत्व र बढ्दो विकृति

    March 20, 2019


    खेमानन्द पाठक/ विभिन्न थरीका कलरले खुशी अनि जीवन रंगीन बनाउने, हिन्दूहरूको प्रमुख पर्वको रुपमा रहेको होली पर्व हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । अन्य ठुला ठुला चाड जस्तै रमाइलो गरी मनाइने होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । हिन्दू धर्म मान्नेहरुको बाहुल्य भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ ।

    फागू पूर्णिमा अर्थात् होलीको प्रचलन कसरी आयो खोतल्ने हो भने विभिन्न धार्मिक कथाहरू भेटिन्छन्, जसको कारणले होली पर्व चलेको छ । प्राचिनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रल्हाद नाम गरेका छोरा थिए । बाबु पापिष्ट राक्षस भएतापनि छोरा प्रल्हाद भने बडो विष्णुभक्त थिए । बाबुले आफ्नो छोरालाई विभिन्न कोशिश गरेर आफ्नो बाटो अँगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रल्हादको डेग नचलेपछि आफ्नी बहिनी होलिकालाई हिरण्यकश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए । तर प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलिका उल्टै भष्म भइन् भने प्रल्हादलाई आगोले केही गर्न सकेन । सोही खुसीयालीमा होलीपर्व चलेको हो भन्ने किंवदन्ती रहेको छ ।

    फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा वृद्ध वृद्धाहरु हातमा रङ र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी दुस्मनीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । होली रङ्गहरूको चाड पनि हो सबै जाति, धर्म, संस्कृतिप्रेमीको यो चाड तराई क्षेत्रमा त झनै विशेष धूमधामका साथ मनाइन्छ । असत्यमाथि सत्यको विजय, कुण्ठा, ईष्र्या र वैमनस्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवको रुपमा लिईन्छ ।

    होलीले सम्पूर्ण नेपाली जनमा हर्षोउल्लास ल्याउने गर्दछ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाउने परम्परा रहेको छ÷गरिन्छ । सदियौंदेखि होली मनाइदै आएको छ, तर एउटा गुनासो प्रत्येक वर्षको होलीमा आउने गर्छ । होली हामी नेपालीको उत्सव हो तर होलीको नाममा पनि हिमाल, पहाड, तराईमा विभाजन गरिएको छ, छुट्टाछुट्टै दिन मनाउने भनेर । यसले गर्दा एउटै देशमा रहेका नेपालीहरुमा टाढा रहेको अनुभूति दिलाउछ । नेपाली हुनुको, दाजुभाई दिदी बहिनी हुनुको सद्भावलाई यसले मनमा खिन्नता ल्याउँदछ । भनाई नै छ नि ‘हिमाल पहाड तराई कोही छैन पराई’ । यसलाई बरु एकैदिन बनाउन आवश्यक देखिन्छ ।

    तराईमा उल्लास हुँदा होलीको पहाडमा पनि खुशीयाली छाएको हुनुपर्छ, अनि हिमाल पनि हासेको हुनुपर्छ । मानव समाजको विकासक्रममा निर्माण भएका विभिन्न संस्कृतिहरूमध्ये हिन्दु समुदायले सांस्कृतिक एवम् धार्मिक दृष्टिकोणले मनाउने पर्वमध्ये ‘होली’ एक हो । पछिल्ला केही वर्षहरूमा नेपालका विभिन्न ठाउँमा मनाइने होलीहरूमा भारतीय चलचित्रहरूको प्रभाव प्रष्ट देखिन्छ । होलीको महत्व र सन्देशलाई नजिकबाट नियाल्दा यस पर्वमा आफन्त, इष्टमित्र, साथीभाइहरूले मिठो चोखो खाएर पनि एकअर्कामा खुसियाली साटासाट गरेको हामीले देख्दै र भोग्दै आएका छौं ।

    वाणगंगा नगरपालिका वडा नम्बर २ मा बस्ने ७६ वर्षिय धनिराम थारुले आफ्नो वाल्यकालमा होली खेलेको स्मरण गर्दै ‘पुर्वसे आवये रामअउर लक्ष्मण, पछि वस्से आवेय गौरा पार्वती । राजा मल्के दुवारे मचे होली’ ।। भन्दै होली गित गाएर रमाईलो गर्दै होली मनाईन्थ्यो । फागु पूर्णिमाको अघिल्लो दिन गाउका साथिभाईहरु जम्मा भई पराल जम्मा गराई ठुलो सम्मद (थुप्रो) बनाई बाबु आमा नभएकाले शुरुमा सो सम्मदलाई आगो लगाइन्छ ।

    अनि फागु पूर्णिमाको दिन विहानै सोहि ठाउँमा गई परालको खरानी लिएर घरमा आई अरु रङ्गमा मिलाएर एक–आपसमा रङ्ग दलेल होली पर्व मनाएको सुनाउदै आज भोली होली मनाएको देख्दा दुख लागेर आउँछ । होलीको दिन विशेष गरेर महिलाहरुले भेल–भेलक्कड भन्दै गाउँभरि चामल माग्दै हिँडेर चामल जम्मा गराई सवै मिलेर पकाएर खाएर रमाईलो गर्दै होली मनाउने गरेको सुनाउनु भयो ।

    आजभोली होलीको दिन लुकेर बस्नु पर्दछ । लुकेर बस्दा पनि खोज्दै कोठा –कोठामा आउछन् । यस्तो पवृतिलाई बेलैमा रोकिएन पछिका सन्ततिले होली पर्वको महत्व नै बुझ्न पाउदैनन् भन्ने चिन्ता उनिमा छ । त्यस्तै स्याङजा जिल्ला बाट बसाई सराई गरी कपिलबस्तु आएका प्रकाश न्यौपानेले आफुहरुले पहाड हुदाँ साथिभाई जम्मा भई ‘होलि खेलेन हो फागु खेलेन, फागु खेल्नी केटालाई देउ दक्षिणा होली’ भन्दै होली खेलेर चामल जम्मा गराई साथिहरु जम्मा भई बनभोज गएर रमाइलो गरेको न्यौपाने बताउनुहुन्छ। आजभोली त के पहाड के तराई सवै तिर साउण्ड सिस्टम बजाएर नाचगान गरी होली पर्व मनाएको देख्दा दङग परेको उनि बताउहुन्छ ।

    यी सबै विषयहरूलाई हेर्दा होली पर्वको महत्व धेरै छ । यसबाट हामीले धेरै कुरा सिक्न सक्दछौं । तर, केही समय यता होलीपर्व विकृतिका रूपमा देखापरेको छ । होली पर्वलाई जथाभावी लोला हान्ने, कालोमोसो दल्ने, रंग छ्यापी दिने र नशालु पदार्थ सेवन गरी आनन्द लिने दिनका रूपमा पनि यसलाई प्रयोग गर्ने जमातहरू बढ्दै गएको छ, जुन हामीले गएको वर्षहरूमा देखेका छौं । यसवर्ष पनि यो कुरा पूर्णरूपले हट्छ भन्नेमा हामी ढुक्क छैनौं । यही रवैयाबाट होली पर्वलाई प्रयोग गर्नेहरूको जमात बढ्दै गयो भने भविष्यमा राज्यले नै कडा रूपमा यसलाई बन्देज लगाउनेसम्मको कार्य गर्न बाध्य हुनेछ भन्नेमा शंका छैन ।

    सबैजसो पर्वका राम्रा सन्देश रउद्देश्यहरू रहेका हुन्छन् । तर,समाजमा हामीले नै यसलाई विकृत बनाउने काम गरिरहेका छौं । होलीको सन्दर्भमा पनि यदि हामीले यसमा बढ्दै गएका विकृतिहरू रोक्ने सन्दर्भमा ध्यान दिएनौं भने यसको नकारात्मक दुष्परिणाम हामी सबैले भोग्नुपर्ने हुन्छ । फागू पूर्णिमाको एक हप्ताअगाडिदेखि नै आफ्नो कार्यालय, स्कुल, क्याम्पसका साथी एवम् बाटो हिँड्ने व्यक्तिहरूलाई जथाभावी रंगाइदिने, लोला हान्नेजस्ता घटना सामान्य भैसकेका छन् । यस्तै किसिमको सामान्य घटनाले उग्र रुप लिई जनधनको ठूलो नोक्सान नहोला भन्न सकिन्न । रंग उत्सवको खुशीयालीपूर्ण चाडलाई नबुझी हिंसात्मक वा त्रास र विकृतिपूर्णरुपमा मनाउनु मूर्खता हो ।

    यस्तो पवित्र दिन टोलै र्थकाउने गरि होटल, रेष्टुरेन्ट, पार्टि प्यालेसमा ठुला–ठुला साउन सिष्टम बजाएर नाचगान गर्ने, नसालु चिज खाने, रक्सी खाने र विभिन्न प्रकारका रंगका पुरिया राखेर मोटरसाइकलमा सार्वजनिक स्थलमा गई जथाभावी रंग दल्ने , विभिन्न किसिमका रसायन मिसाइएको रंग, कालोमोसो, अबिरमा बालुवा, लोलामा नालीको लेदो, पोखरीको दूषित पानी बेलुनद्वारा हाल्ने, सार्वजनिक सवारीसाधनलाई रोकि सोमा सवार यात्रुलाई जबरजस्ती रङ्गको लोला हान्ने,पैदलयात्रुलाई पनि जबरजस्ती रङ्ग लगाइदिने, कुहेको अण्डाले हान्ने ,मादक पदार्थ सेवन गरी एक–आपसमा लगाएका कपडा च्यातेर नाङगै हो– हल्ला गर्दै हिड्ने जस्ता निन्दित एवम् घृणित कार्य हुने गरेको पाइन्छ ।

    शहरका युवकहरू र विदेशी पर्यटकलाई समेत रंगले विरुप पारिदिन्छन् । होलीको नाममा यस्ता उच्छृंखल गतिविधि दिन–प्रतिदिन बढ्दै गएको छ । विडम्बना, हाम्रा महान् पर्व हिजोआज विकृतिमा परिणत भएका छन् । यस्ता गतिबिधि गर्ने जो सुकै भएपनि प्रहरी प्रशाशनले कडा कारवाही गर्नुपर्दछ । जुन विशुद्ध उद्देश्यबाट हेली पर्व परापूर्वकालदेखि शुरु भयो, सो अनुरुप हाल व्यवहारमा देखा पर्न सकिरहेको छैन । धर्म मान्ने र पर्व मनाउने क्रममा विदेशी तडकभडक र छाडा संस्कृति भित्र्याउने गरेको अवस्था कसैबाट छिपेको छैन । यस्ता पर्वको खुसीयाली मनाउने क्रममा हाम्रो समाजमा अनेकौं विकृति र विसंगतिले प्रश्रय पाउँदै आएको छ । यस्ता किसिमका गलत प्रवृत्तिलाई हटाउन बेलैमा सम्पूर्ण नेपाली सचेत हुनुको साथै सरकारले पनि कडाभन्दा कडा कदम चाल्नुपर्दछ ।

    यसले गर्दा हाम्रो धर्म–संस्कृतिमा सृजित विकृतिको अन्त्य हुन जान्छ । नत्र भने हाम्रो अनादिकालदेखि नै चल्दै आएको संस्कृति, संस्कार, सभ्यता, परम्परा एवम् रीतिरिवाजलाई विकृतिले जरो गाडी यसको अस्तित्व नै संकटमा पर्न जाने तथ्यलाई नकार्न सकिन्न । यति बेलाको समय संक्रमणकालीन छ । यस्तो अवस्थामा हरेक कार्यबाट समाजमा हिंसा, अन्याय, अत्याचार हुने सामाजिक सद्भावमा गम्भीर असर पुग्ने कामहरू बढी हुने गर्दछन् । त्यसैले होलीका नाममा पनि यी कार्यहरू नहुन भनेर सजगता अपनाउन वेश हुन्छ । होली पर्व सद्भाव र भातृत्वको मियो हो ।

    समाजमा बढ्दै गएको अपराध मानसिकताले पनि होलीपर्वलाई विकृतियुक्त बनाउने सन्दर्भमा भूमिका निर्वाह गरिरहेको छ ।सभ्य समाज निर्माणका लागि पनि अपराधिक मानसिकता र प्रवृतिलाई निरूत्साहित पार्ने काममा सबै लाग्नु जरूरी छ । होली पर्वलाई मर्यादित रूपमा सबैले मनाउने वातावरण निर्माण गर्ने काम सबैको हो । होली पर्वलाई बिकृत रुप लिनबाट रोक्नका लागि हरेक जिल्ला र स्थानीयस्तरमा पनि विशेष तयारी र सजगता अपनाउँदै सचेतनाको पाटोलाई खरो ढंगबाट अगाडि बढाउन जरूरी छ ।

    आफ्नो सभ्यता र संस्कृतिलाई संरक्षण गर्दै आगामी दिनमा होली पर्वलाई मर्यादित पर्वको रूपमा चिनाउन आवश्यक छ । यस पर्वलाई अनुशासित रुपमा मनाउने परम्पराको मानसिकतालाई जीवन्त राख्नु सबैको परम कर्तव्य हो । यस तर्फ सवैको ध्यान समयमै पुगोस् ।