जमिन बाँझो राखे कारवाही हुन्छ भनेर मात्र हुन्छ ? : मन्त्री खनाल

697

जमिन बाँझो राखे कारवाही हुन्छ भनेर मात्र हुन्छ ? : मन्त्री खनाल


बुटवल, २२ चैत । कृषि तथा पशुपंक्षि बिकास मन्त्री चक्रपाणी खनाल बलदेवले मुलुकको बिकासका लागि कृषिमा आश्रीत ६७ प्रतिशत जनसंख्यालाई २५ प्रतिशतमा झार्नुपर्ने बताउनु भएको छ । उहाँले बाँकी रहेको जनसंख्यालाई अन्य काममा कन्भर्ट गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले यति ठूलो जनसंस्या भएको कृषि क्षेत्रलाई छुट्याईने बजेट पनि झिनो भएको र विनियोजित बजेट समेत खर्च गर्न नसकिनुले कृषिको बिकासमा आशातित लक्ष हासिल गर्न नसकिएको उल्लेख गर्नुभयो । आज (शुक्रबार) बुटवलमा आयोजना गरिएको अर्गानिक कृषिको आधुनिकिकरण र व्यबसायीकरण सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै मन्त्री खनालले मुलुकको बिकासको पहिलो आधार र प्रयाप्त सम्भावना बोकेको कृषि क्षेत्रको बिकासकालागि प्रयाप्त बजेट र विनियोजित बजेटको कार्यान्वयनमा जोड दिनुभएको हो ।

अहिले मुलुकमा साढे १३ अर्व रुपैंया बराबरको कृषिजन्य उत्पादन निर्यात भएको र १४० अर्व रुपैंयाको आयात भएको तथ्यांक प्रस्तुत गर्दै आयात प्रतिस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राख्नुभयो । कृषिको व्यबसायिक बिकासकालागि छिमेकी मुलुकहरुमा पनि राम्रो व्यबस्था भएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले मुलुकको बिकासकालागि जग्गाको बर्गिकरण गर्नुपर्ने र खण्डीकरण रोक्नुपर्ने धाराणा राख्नुभयो ।

सरकारले पर्वत र नवलपरासीमा गरेको अध्ययनले ४२ प्रतिशत जमिन बाँझो रहेको देखिएको बताउँदै मन्त्री खनालले युवालाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याउन नसक्ने हो भने कारवाही गर्छु भनेर मात्रै काम नहुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘जमिन बाँझो राखे कारवाही हुन्छ भनेर मात्रै हुँदैन, मुलुकभित्र प्रयाप्त रोजगारी सिर्जना गर्न सक्नुपर्छ ।’

कृषि सम्बन्धि धेरै कार्यक्रमहरु सञ्चानलन भएपनि प्रभावकारी नभएको उहाँको भनाई छ । ‘अहिले पछिल्लो पटक प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम आएको छ ।’ उहाँले भन्नुभयो–‘त्यसमा के कति काम भएको छ, सबै छर्लङ्गै छ, मन्त्रीको हिसावले यो भन्दा बढी बोल्न नमिल्ला ।’

आर्थिक समृद्धिको लागि ग्रामिण कृषि उद्यमशिलता प्रालिको आयोजनामा भएको कार्यक्रममा प्रदेश पाँच भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले विगतका तुलनामा कृषिका क्षेत्रमा धेरै लगानी भएको र त्यसका सकारात्मक प्रभावहरु देखिन लागेको बताउनु भयो । उहाँले प्रदेश पाँचको सरकारले पनि कृषिलाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो ।

त्यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले वास्तविकता एकातिर पन्छ्याएर व्यक्तिगत हितमा काम गर्ने प्रबृत्तिका कारण मुलुकमा कृषिको व्यबसायिक बिकासमा बाधा पुगेको बताउनु भयो । सरकारले वातावरण बनाउने हो भने कृषिको बिकासमा धेरै समय नलाग्ने बताउँदै आफ्नो गाउँपालिकाको तर्फबाट काम गर्नकालागि आफू प्रतिवद्ध रहेको भनाई राख्नुभयो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष बामदेव क्षेत्रीले कम्पनीले किसानले उत्पादन गरेका कृषि उपज संकलन गरि बिक्रि वितरण गर्नुकासाथै किसानकालागि सहुलियत रुपमा ऋण, कृषि औजार तालिम प्रदान गर्ने गरी योजनावद्ध रुपमा अंगाडी बढीएको जानकारी गराउनु भयो ।

त्यस अवसरमा कृषि बिकास बैंकका क्षेत्रीय प्रवन्धक सुदिप दाहाल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरे, गुणाराम घिमिरे, टिका केसी लगायतले भनाई राख्नुभएको थियो । सोही अवसरमा उक्त संस्थाले प्रकाशन गरेको कृषि आह्वान मासिक पत्रिकाको समेत विमोचन गरिएको थियो । गोष्ठि शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्नेछ ।