खेतीयोग्य जमिन माफियाको कब्जामा : मन्त्री खनाल

1.2K

खेतीयोग्य जमिन माफियाको कब्जामा : मन्त्री खनाल

बुटवल, २३ जेठ । कृषि मन्त्री चक्रपाणी खनालले नेपालमा व्यबसायिक कृषि उत्पादनकालागि उपयुक्त जमिन नभएकाले सरकार पहिला जमिनको व्यबस्थापनमा लागेको बताउनु भएको छ । उहाँले कृषिजन्य बस्तुमा आयात प्रतिस्थापन गर्नेगरी सरकारले काम सुरु गरेको बताउनु भयो । रिपोटर्स क्लवले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री खनालले खेतीयोग्य जमिन भू–माफियाको कब्जामा पुगेको बताउँदै भू–माफियाको जालो तोडेर नेपाललाई व्यबसायिक कृषि प्रणालीका माध्यमबाट कम्तिमा आत्मनिर्भर बनाएरै छाड्ने दावी गर्नुभयो ।

उहाँले सार्वजनिक जग्गा हडप्ने माफियाको गिरोह माल, नापी, वकिल हुँदै अदालतसम्म जोडिएको बताउँदै यहि स्थिती रहेमा अवको १० वर्षभित्रमा रुपन्देही लगायतका तराईका जिल्लामा सबै कुरा किनेर खानुपर्ने स्थिती आउने दावी गर्नुभयो । सरकारले कृषियोग्य जमिन बचाउन नया कार्ययोजना र नीति बनाउन लागेको बताउँदै उहाँले भुमिसम्बन्धि नीति, ऐन भु–उपयोग लगायतका नीतिहरु बनाएर कृषियोग्य जमिन बचाउन ठोस कदम चालिने उहाँले उल्लेख गर्नुभयो ।

अहिले दुई तिहाईको सरकारबाट जनताको धेरै अपेक्षा गरेको र जनताको अपेक्षा अनुसार काम गर्न सरकार लागिपरेको बताउँदै मन्त्री खनालले यातायातमा जस्तै कृषि क्षेत्रमा देखिएको सिन्डिकेट अन्त्य गर्ने बताउनु भयो । कृषिको लागी आवश्यक मल, किटनासक बिसादी लगायतका कुराहरु सिण्डीकेटकै सञ्जालभित्र रहेको उल्लेख गर्दै मन्त्री खनालले किसान चर्काे समस्यामा रहेको बताउनु भयो । ‘आयात प्रतिस्थापन गर्ने हो भने कृषिमा आत्मनिर्भर हुन आवश्यक छ ।’ उहाँले भन्नुभयो–‘यसलाई उल्ट्याउने गरी काम सुरु गरेका छौं ।’

सरकार तानाशाही भयो भन्ने प्रतिपक्षको आरोप छ नी, भन्ने पत्रकारको जिज्ञाशामा मन्त्री खनालले सरकार तानाशाही होईन, कठोर भएर जनतालाई राहत दिने काम गर्न जरुरी छ, भन्नुभयो । उहाँले दुई तिहाई बहुमतको सरकार चल्ने तरिकाले चल्न नसकेको बताउँदै अव प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यबस्थालाई मुद्धा बनाएर छलफलमा लैजान आवश्यक रहेको बताउनु भयो । ‘हामीले हिजो उठाउदै आएको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डा अगाडि बढाउछौं ।’ उहाँले भन्नुभयो ।