रिप्दीकोटको कला संस्कृति जगेर्ना गर्न भैरबस्थानमा ‘सांस्कृतिक महोत्सव’

रिप्दीकोटको कला संस्कृति जगेर्ना गर्न भैरबस्थानमा ‘सांस्कृतिक महोत्सव’

बुटवल, ५ चैत । पाल्पाको रिप्दीकोट गाउँपालिकाको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले साताव्यापी रुपमा ‘भैरबस्थान सांस्कृतिक महोत्सव’ आयोजना गरिएको छ ।

विश्व रंगमञ्च दिवसको अवसर पारेर यहि चैत ७ गतेदेखि सुरु हुने सांस्कृतिक महोत्सवमा रिप्दीकोट गाउँपालिकाका ८ वटै वडाका कलासंस्कृती प्रदर्शनी गरिनुका साथै ती कला संस्कृति संरक्षण र जगेर्नाकालागि गाउँपालिकाले पहल कदमी उठाउने रिप्दीकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानका अध्यक्ष दुर्गाप्रसाद खनालले बताउनु भयो ।

रिप्दीकोट गाउँपालिका र भैरवस्थान मन्दिर व्यबस्थापन समितिको आयोजनामा हुन लागेको मेलाको सुरुको दिन ७ गते फागु (होली) महोत्सव गरिने छ । फागु महोत्सवमा ८ वटै वडाबाट परम्परागत रुपमा खेली फागुको टोली सहभागि हुने भैरवस्थान मन्दिर व्यबस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताउनु भयो । त्यस्तै उक्त महोत्सवमा छिमेकी गाउँपालिका तथा नगरपालिकालाई पनि निमन्त्रणा गरिएको छ ।

चैतको १३ गते विश्व रंगमञ्च दिवस परेको छ । उक्त दिन रिप्दीकोट गाउँपालिका भित्रका कला संस्कृति झल्किने झाँकी सहितको ¥याली प्रदेश गरिने छ । परम्परागत फागुन महोत्सवसंगै ७ गते महोत्सवको उद्घाटन हुनेछ । ८ र ९ गते भैरवस्थान मन्दिर तथा बजार क्षेत्र सरसफाई कार्यक्रम गरिने छ भने १० गते रक्तदान, ११ र १२ गते गाउँपालिका भित्रका कला संस्कृति सम्बन्धि प्रचारात्मक कार्यक्रम गरिने छ ।

१३ गतेको बिशेष कार्यक्रममा प्रदेश पाँच उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रम सम्पन्न गर्नकालागि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । उक्त समितिमा वडाका पदाधिकारी, राजनीतिक दल, संघसंस्थाका प्रतिनीधि सदस्य छ ।

भैरवस्थान मन्दिर परिषरमा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, स्थानीय कला संस्कृती तथा जनजातीहरुको भेषभुषाको प्रदर्शनी गरिने छ । कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्नकालागि सोमबार गाउँपालिकाकी उपाधयक्ष तथा कार्यक्रम संयोजक खनालको नेतृत्वमा प्रदेश राजधानी बुटवल आएको टोलीले मुख्यमन्त्री तथा विषयगत मन्त्रालयहरुमा भेटघाट तथा छलफल गरेको छ भने रिप्दीकोट गाउँपालिकाबाट बुटवलमा आई बसोबास गरेका व्यक्तिहरुसंग समेत छलफल गरेको छ ।

Share This
  • 136
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    136
    Shares