सरकारको रफ्तारमा कर्मचारी बाधक : मन्त्री ज्ञवाली

667

सरकारको रफ्तारमा कर्मचारी बाधक : मन्त्री ज्ञवाली

बुटवल, २१ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारी आवश्यक तयारी पूरा गरी भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणलाई निरन्तरता दिने बताउनु भएको छ । सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगीत गर्नुपरेको बताउँदै उहाँले सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या नगर्न आग्रह गर्नुभयो ।

नेकपा बुटवल नगर कमिटीले शनिबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले तयारी बिना विषादी परीक्षण गरिंदा यो अवस्था आएको भन्दै ६ महिनाभित्र तयारीका सबै काम सकेर विषादी परीक्षणलाई निरन्तरता दिइने बताउनु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको पनि दावी गर्नुभयो । उहाँले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र संघीयतालाई स्थापित गर्न सफल भएको बताउनु भयो । मन्त्री ज्ञवालीले वर्तमान सरकारको मुख्य ‘मिसन’ मुलुकको समृद्धि भएको बताउँदै अहिलेसम्म भएका सबै खाले आन्दोलनबाट प्राप्त अधिकारको जगमा उभिएर आर्थिक समृद्धिमा देश अघि बढेको दाबी गर्नुभयो ।

उहाँले जनताका अपेक्षा अपार रहेको बताउँदै वर्तमान सरकारलाई जनताको अपार समर्थन प्राप्त भएजस्तै सरकारले पनि जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले सरकारको काम गर्ने रफतारमा कर्मचारी संयन्त्रको ढिला सुस्ती समस्याको रुपमा रहेको बताउँदै कार्यान्वयन गर्ने संयन्त्रमा रहेको समस्याले अपेक्षाकृत उपलब्धि प्राप्त हुन नसकेको बताउनु भयो । उहाँले पार्टी एकीकरण टुंगिन लागेको र नेताहरुको कार्यविभाजन बाँकी रहेको भन्दै यसलाई पनि छिटै टुंगोमा पु¥याइने बताउनु भयो । कार्यक्रम पार्टी नगर कमिटी अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा भएको थियो ।