लन टेनिसका खेलाडी तथा प्रशिक्षकलाई सम्मान

832

लन टेनिसका खेलाडी तथा प्रशिक्षकलाई सम्मान

बुटवल, १४ भदौ । लिटल एन्जल्स जुनियर लन टेनिस प्रतियोगितामा सहभागि भई उत्कृष्ट भएका क्लवका लन टेनिस बिद्यार्थी तथा खेल प्रशिक्षकलाई बुटवल लन टेनिस क्लवले सम्मान गरेको छ । बिहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि अखिल नेपाल लन टेनिस महासंघले सञ्चालन गरेको प्रतियोगितामा उत्कृष्ट भएका खेलाडी तथा क्लवका प्रशिकक्षलाई क्लवले प्रशंसा पत्र सहित नगद पुरस्कारले सम्मान गरेको हो ।

महासंघले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको लिटल एन्जल्स लन टेनिस प्रतियोगिता यहि अगस्ट २२ देखि २९ (२०७५ भदौ ६–१३) सम्म काठमाण्डौमा भएको थियो । उक्त प्रतियोगितामा बुटवल लन टेनिस क्लवबाट २० जना खेलाडी सहभागि भएकामा ८ वर्ष भन्दा कम उमेर समुहमा बृजेश अर्याल नेपाल प्रथम, यमन राना नेपाल दोस्रो र रितेस ज्ञवाली नेपाल तेस्रो भएका थिए ।

त्यस्तै १० वर्ष उमेर समुहमा रितेश ज्ञवाली नेपाल तेस्रो भएका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन वराल र शसस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म बुटवलका प्रहरी नायव उपरीक्षक गमबहादुर कुवँरले मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मान गर्नु भएको थियो । यस्तै प्रशिक्षक बिकास खड्कालाई नगद २० हजार रुपैंया पुरस्कार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले पहिले खेललाई फूर्सदको समयमा खेलिने भएकाले विलासिताको रुपमा हेरिएपनि समयक्रमसंगै अहिले खेल जीवनको अभिन्न अंगको रुपमा स्थापित भएको बताउनु भयो । उहाँले खेल ठूला देशको प्रतिष्ठाको विषय बनिसकेको बताउँदै नेपालमा भने नीतिगत तथा योजनागत अस्पष्टता कायम रहेको उल्लेख गर्नुभयो । मन्त्री बरालले प्रदेश सरकारले पाँच नम्बर प्रदेशमा खेलकुदको बिकासकालागि सबै स्थानीय तहमा सुविधा सम्पन्न खेलकुँद मैदान बनाउने अभियानलाई अंगाडी सारेको र यसैवर्षदेखि मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिताको तयारी गरेको जानकारी गराउनु भयो ।

त्यस्तै रुपन्देही खेलकुद बिकास समितिका अध्यक्ष योग गुरुङले सबैभन्दा पछि दर्ता भएरपनि बुटवल लन टेनिस क्लवले छोटो समयमा धेरै प्रगति गरेको उल्लेख गर्नुभयो । उहाँले खेल बिस्तारै जीवनको अभिन्न अंगका रुपमा बिकास हुँदै गएकाले संघीय सरकार र प्रदेश सरकारलाई खेलकुदको बिकासमा योगदान गर्न आग्रह गर्नुभयो । बुटवल लन टेनिस क्लवका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लवका सदस्य बालकृष्ण अर्यालले गर्नुभएको थियो ।