बिचौलिया विरुद्ध कुखुरा किसान सडकमा

634

बिचौलिया विरुद्ध कुखुरा किसान सडकमा

बुटवल, १८ मंसिर । सरकारले आफूहरुका माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै ब्रोइलर कुखुरा पालक किसानले बुटवलमा विरोध प्रदर्शन गरेका छन् । गएको मंसिर ५ गते विभिन्न मागसहित प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई नौं बुँदे ज्ञापनपत्र बुझाएका किसानले यसबीचमा मन्त्रालयले माग सम्बोधन गर्न चासो नदेखाएपछि मंगलबार सडकमा उत्रेर विरोध प्रदर्शन गरेका हुन् ।

मन्त्रालयले एक हप्ताभित्र मागबारे अध्ययन गरी समस्या समाधानका लागि छलफलमा बोलाउने प्रतिवद्धता जनाएको थियो । लुम्बिनी ब्रोइलर कुखुरा पालक किसान संघले आफूहरुको सहभागितामा लागत अनुसार जिउंदो कुखुराको वैज्ञानिक मूल्य निर्धारण गरिनुपर्ने, चल्ला र दाना विक्रिमा बिचौलिया प्रवृत्ति र एकाधिकार अन्त्य हुनुपर्ने, कुखुराको औषधि उपचारमा अनुदानको व्यवस्था हुनुपर्ने, बिचौलिया र माफियातन्त्र अन्त्य गर्नुपर्ने, भारतीय चल्ला र कुखुराको आयात नियन्त्रण गरिनुपर्ने लगायतका माग राखेका छन् ।

यस्तै अस्वस्थ कुखुराको आयातलाई रोक्न, ब्रोइलर कुखुरापालक किसानहरुको तथ्याङ्क संकलन गर्न, कोल्ड स्टोरको व्यवस्था गर्न, कुखुराको वजार मुल्य र गुणस्तरको निरिक्षण गर्ने छुट्टै संयन्त्र बनाउन पनि संघले माग गरेको छ । संघले अठार सय ग्राम तौल भन्दा बढी तौलका जिउँदो कुखुरा मानव स्वास्थ्यका लागि हानिकारक भएको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसकेकाले त्यस्ता कुखुराहरुमाथि प्रतिबन्ध लगाउन पनि माग गर्दै आएको छ ।

किसानहरुको विरोध प्रदर्शन बुटवलको गोलपार्कबाट शुरु भई अस्पताललाइन, अमरपथ हुंदै हाटबजारलाइनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडि पुगेर कोणसभा गरी सकिएको थियो । कोणसभामा बोल्दै विरोध प्रदर्शनका संयोजक कमलकान्त गौतमले किसानका माग सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्दै जाने बताउनुभयो । खासगरी बिचौलियाका कारण आफूहरुले लागत अनुसार कुखुराको मूल्य पाउन नसकेको गौतमले गुनासो गर्नुभयो ।

रुपन्देहीमा किसानका कुखुरा थोकमा खरिद गर्ने २७ जना बिचौलिया रहेको उहांले बताउनुभयो । किसानहरुलाई एक आपसमा लडाएर न्यूनतम मुल्यमा खरिद गरी मासु पसललाई ठूलो अन्तर राखेर विक्री गर्दा किसान र उपभोक्ता दुबै मर्कामा परेको किसानहरुको गुनासो छ । ४५ दिनमा विक्रीका लागि तयार हुने एउटा कुखुरा उत्पादन गर्दा करिब ४ सय रुपैयाँ लागत लाग्ने किसानहरु बताउंछन् ।

जिउंदो कुखुराको विक्री मूल्य १ सय ३५ देखि १ सय ४० रुपैयाँ मात्र रहेको छ । तयारी मासुको बजार मूल्य भने करिब ३ सय रुपैयाँ बढी छ । रुपन्देहीमा करिब एकहजार कुखुरापालक किसान छन् । बुटवलमा मात्रै दैनिक ३० हजार किलोग्राम जिउंदा कुखुराको मासु विक्री हुने गरेको तथ्यांक छ ।