Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • कुस्तीमा रुपन्देहीका पहलमान राजेन्द्र यादव विजयी

    December 12, 2018


    भैरहवा, २६ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा रुपन्देहीको भैरहवामा जारी राष्ट्रिय लुम्बिनी महोत्सव–२०७५ (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) को सातौं दिन बुधबार कुस्ती पहलमानले दर्शकलाई मेलातर्फ आकर्षित गरेका छन् ।

    तराईमा अत्याधिक रुचाइएको यो खेल हेर्न रुपन्देही लगायत प्रदेश नम्बर ५ का अन्य जिल्ला र भारतबाट समेत घुँइचो थियो । कुस्ती प्रतियोगितामा भाग लिन भारतको दिल्ली देखि हरियाणासम्मका पहलमान भैरहवा आएका थिए । बुधबार कुस्तीको फाइनल प्रतियोगिता भएको कारण पनि मेलामा दर्शकको भिड बढी थियो ।

    फाइनल प्रतियोगितामा मध्यप्रदेश भारतका बाबा नायकलाई हराउँदै रुपन्देहीका राजेन्द्र यादव प्रथम हुन सफल भएका छन् । त्यस्तै बाबा नायकलाई हराउँदै गांजीपुर, भारतकै मन्नु पहलमान द्वितीय र भारतका बाबा नायक तृतीय भएको महोत्सवका कुस्ती तथा खेलकुद व्यवस्थापन समिति संयोजक एवं सिद्धार्थनगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गंगासागर अग्रहरीले बताउनु भयो । महिलातर्फ कुस्तीमा सहभागि भएका ४ जोडीको खेल बराबरीमा टुंगिएको पनि उहाँले जानकारी गराउनु भयो ।

    प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैंया, द्वितीयलाई १५ हजार रुपैंया र तृतीयलाई ११ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ । चार दिनसम्म चलेको कुस्ती प्रतियोगिता नेपाल र भारत गरी ५२ जोडी पहलमान भिडेका थिए । त्यस्तै बुधबार आधुनिक गायक मेलिना राई, नेपाल आइडल प्रतियोगी अफसर अली, लोकदोहोरी गायक बाल चन्द्र बराल, दोहोरी गायिका आरती रुसाल र हांस्यकलाकार पुर्खे बा तथा डिजे कार्यक्रमको प्रस्तुती रहेको थियो ।

    त्यस्तै आज नेपाल आईडल फाइनलिस्ट प्रताप दास, लोक दोहरी गायिका शान्ता परियार, बिष्णु ठडराइ, लोकदोहरी गायक रामप्रसाद पौडेल र हास्य कलाकार अजय भुषाल (हजुर बा) को प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम व्यवस्थापन समिति संयोजक दिपेन्द्र प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार भैरहवा खुल्ला नृत्य प्रतियोगिताको फाइनल शनिबार हुने छ ।

    ‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नाराका साथ आयोजित मेलामा मायादेवी पेभिलियन समेत गरी २ सय ७५ स्टलहरु रहेका छन् । कृषि पेभिलियन तर्फ २० हस्तकला तर्फ २५, औद्योगिक तर्फ ५५, होजेरी तथा गार्मेन्ट ६५ अटोमोबाईल तर्पm १३, बैक तथा वित्तिय संस्था ५, होटल तथा रेष्टुरेन्ट तर्फ १६, इलेक्ट्रोनिक्स ८, खाद्यान्न तर्फ १९, कस्मेटीक ४, शैक्षिक परामर्श, २, फुटवयर ९, स्वास्थ्य तर्फ २, पर्यटन तर्फ ७ वटा रहेका छन् ।

    पुस १ गतेसम्म सञ्चालन हुने महोत्सवमा मुख्य आकर्षणको रुपमा प्रदेश नम्बर ५ प्रमुख मध्ये दुई गन्तव्य लुम्बिनीको मायादेवी मन्दिर र नेपालको ताजमहलको रुपमा परिचित पाल्पाको रानीमहलको आकृतिको निर्माण गरिएको छ ।