ठेक्केदार कम्पनीको लाप्रवाहीका कारण पुल निर्माण अलपत्र

722

ठेक्केदार कम्पनीको लाप्रवाहीका कारण पुल निर्माण अलपत्र

यमलाल भुसाल/

बुटवल, २४ जेठ । बुटवल उपमहानगरपालिकाको तिनकुने देवीनगर जोडने पक्कि पुल निर्माण कम्पनीको चरम लाप्रवाहीका कारण त्यसका उपभोक्ताले सास्ती व्यहोर्नु परेको छ । चालु आर्थिक वर्षको असार मसन्ता भित्र निर्माण सम्पन्न गर्ने गरि गत फागुन २७ गते शिल्यान्यास गरिएको उक्त पक्कि पुलको काममा निर्माण कम्पनीले निर्माणमा ढिलासुस्ती गर्दा समयमा निर्माण हुनु त परै जाओस आउने वर्षायाममा तिनकुने देवीनगर क्षेत्र डुवानमा पर्ने खतरा बढेर गएको स्थानीयले गुनासो गरेका छन् ।

दैनिक २० हजार भन्दा बढी जनसंख्या आवत जावत गर्ने उक्त सडकको पुल ठुलो र पक्कि गर्ने गरि नगरपालिकाको बजेटमा निर्माणका लागि ठेक्कामा दिईएको थियो । निर्माण कम्पनी वावुल दीव्य जेवी कन्टक्सनले १ करोड ४० लाख लागतमा चालु आर्थिक वर्षको असारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेपनि सम्झौता मिति आउन लाग्दा ५ प्रतिशत पनि काम भएको छैन ।

१६÷३६ नहरमा पर्ने उक्त पुल निर्माणमा सुरुमा बिजुलीको पोल नसारेका कारण समस्या भएको र अहिले नहरमा पानीका कारण निर्माणको काम गर्न समस्या भएको निर्माण कम्पनीले जनाएको छ । तर कुलाको पानी साईड लगाई पम्पसेटबाट पानी तानेर पुलको काम गर्न सकिने नगरपालिकाका ईन्जीनियर धर्मराज ढकालले बताउनु हुन्छ । उहाँले निर्माण ठेक्केदारको गैरजिम्मेवारीपनाका कारण पुल निर्माणमा ढिलाई भएको बताउनु भयो ।

निर्माण कम्पनीका प्रतिनिधी सन्दिप थापाले बिभिन्न सस्याका कारण समयमा काम पुरा गर्न नसकिने स्वीकार गर्नुभयो । पहिलाको पुल भत्कायर अलपत्र पारी नयाँपुल समयमा नवनाउदाँ निकै शास्ती भएको स्थानीय प्रौढ समाज बुटवलका अध्यक्ष तिलकराम पौडेलले बताउनु भयो । त्यस्तै पुल निर्माण स्थल नजिकै रहेको होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले पुल निर्माण समयमा नहुदाँ आवत जावतमा मात्र नभई यस क्षेत्रको व्यापारमा समेत गिरावट आएको बताउनु भयो ।

त्यस्तै स्थानीय व्यबसायी यमप्रसाद बस्यालले भएको पुल भत्काएर नयाँ पुल निर्माणको काम लामो समय अलपत्र पार्दा त्यस क्षेत्रको व्यबसाय नै धाराशाही भएको बताउनु भयो । सोह्र छत्तिस सिचाई प्रणालीका अध्यक्ष यज्ञ गैरेले पूर्वाधार निर्माण भन्दा पनि धान रोप्ने सिजन भएकाले किसानकालागि खेतीपाती महत्वपूण भएकाले अहिले तत्काल पानीको मुहान बन्द गर्न नसकिने बताउनु भयो । उहाँले समयमा निर्माण कम्पनीले काम नगर्ने र अन्तिममा आएर अन्तिममा नहरलाई समस्याको रुपमा देखाएर उम्किने काम राम्रो नभएको प्रतिक्रिया दिनुभयो ।