लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

347

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

बुटवल, १ मंसिर । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्विय दर्शनको विबिधता विषयमा अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एसियाली प्राकृतिक दर्शनको विबिधिकरण विषयक सेमिनार शुरु भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शुरु भएको सेमिनारमा नेपाल, चीन र भारतका बौद्ध विद्धानको सहभागिता रहेको छ । विज्ञान सभ्यताअघिको प्राचिन सभ्यताको पुर्नउत्थान, खोज अनुसन्धान र प्रवद्र्धन गर्ने उद्देश्यले यो सेमिनार आयोजना गरिएको हो ।

दुई दिनसम्म चल्ने सेमिनारमा तीन देशका विज्ञहरुले २४ वटा कार्यपत्र प्रस्तुत गर्दैछन् । पूर्विय दर्शनको प्रभाव विश्वव्यापीकरण भइरहेका बेला यसको अध्ययन पूर्वी क्षेत्रबाट नै हुनुपर्ने लक्ष्य सहित आयोजना भएको सेमिनारले आगामी दिनमा खोज अनुसन्धानका लागि कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीमा आयोजित सेमिनारको उद्घाटन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्टार तिलक आचार्यले पूर्विय सभ्यताले विश्वलाई मार्गदर्शन गरेको बताउदै यसको थप खोज अनुसन्धानका लागि विश्वविद्यालयले काम थालेको बताउनु भयो । चीन, भारत, श्रीलंका लगायत देशका विश्वविद्यालयसंग सहकार्य गरी बौद्ध दर्शन र यसको विकासको काम शुरु भएको उहांले बताउनु भयो ।

कार्यक्रममा बोल्दै बेइजिङ नर्मल युनिर्भसिटीका प्रोफेसर लिउ स्याओ थिङ्गले पूर्विय दर्शनलाई बहुआयामिक रुपमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । २६ सय वर्षअघि बुद्धले दिएका उपदेश झनपछिझन व्यवहारिक र प्रयोगसिद्ध भएको भन्दै यसले नै पूर्विय दर्शनमा कति बल छ भन्ने दर्शाउने उहांले बताउनु भयो । चीनले वान रोड वान बेल्टसंग जोडिने देशसंग भाषिक र सांस्कृति सम्बन्ध विस्तार गर्न शुरु गरिसकेको भन्दै नेपालमा पनि चिनिया भाषा र संस्कृतिको अध्ययन बढाउदै लैजाने उहांले वताउनु भयो ।

बरिष्ट पुरातत्वबिद् वसन्त बिडारीले चिनीया यात्रुकै यात्रा विवरण अनुसार लुम्बिनी र बौद्ध स्मारकहरुको पहिचान हुन सकेको भन्दै चीन लुम्बिनीको विकासमा पाचौ शताब्दी देखि नै साझेदार रहेको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान केन्द्र प्रमुख प्रो. डा. काशिराज न्यौपानेले पूर्विय दर्शनका करोडौं हस्तलिखित दस्तावेजहरु अनुसन्धान हुनुपर्ने बताउनु भयो । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राचिन हस्तलिखित ग्रन्थमाथि अनुसन्धान, प्रकाशन र अध्ययनमा जोड दिनुपर्ने उहांले सुझाव दिनुभयो ।

लुम्बिनी विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्यले बौद्ध शिक्षा र दर्शनको विकास, अध्ययनका लागि खुलेको विश्वविद्यालयले सिक्ने चरणमै महत्वपूर्ण काम थालनि गरेको बताउनु भयो । सेमिनार उद्घाटनमा लुम्बिनी विश्वविद्यालयका क्याम्पस प्रमुख फणिन्द्र न्यौपाने, उपप्राध्यापक इन्द्र काफ्ले, डा. शारदा पौडेल, डा. सागर न्यौपाने लगायतले एसियाली दर्शनको विषयमा बोल्नु भएको थियो ।

सेमिनारमा नेपालीका तर्फबाट ८, चिनियाका तर्फबाट १३ र ३ भारतीय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दैछन् । बौद्ध दर्शन, हिन्दु दर्शन, कन्फ्युसियजिम, ताओजिअम दर्शनका विषयमा कार्यपत्र रहेका छन् । सेमिनारमा चिनको बेइजिङ नर्मल विश्वविद्यालयबाट १३ जना प्रोफेसर सहभागि छन् भने नेपालको त्रिभुवन विश्वविद्यालय, संस्कृत विश्वविद्यालय र बौद्ध विश्वविद्यालयका विज्ञ तथा अध्येताहरुको सहभागिता रहेको छ ।