‘सरकारले मजदुरलाई उपेक्षा गर्यो’

687

‘सरकारले मजदुरलाई उपेक्षा गर्यो’

बुटवल, १० जेठ । सरकारले मजदुर हितकालागि ल्याएको भनिएको सामाजिक सुरक्षा योजना कायक्रम प्रचारबाजीकालागि मात्रै ल्याइएको गुनासो सरोकारवालाले गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले बुटवलमा गरेको सामाजिक सुरक्षा जागरण अभियान कार्यक्रमका सहभागी मजदुर नेताहरुले सामाजिक सुरक्षा योजना लागु गर्ने तर्फ सरकारले चासो नदेखाएको बताएका हुन् । योजना ल्याइएको ६ महिना सम्म कार्यान्वयनमा कुनै पहल नगरेर सरकारले मजदुर बर्गलाइ उपेक्षा गरेको उनीहरुको गुनासो छ ।

जागरण अभियानका संयोजक तथा प्रदेश पाँचको सार्वजनिक लेखा समितिका सभापती डिल्लीबहादुर चौधरीले सरकारले मजदुर बर्गको हितकालागि कुनै काम गर्न नसकेको बताउनु भयो । निकै तामझामका साथ ल्याएको योजना कार्यान्वयन गर्न नसकेको भन्दै उहाँले ओली सरकारमा जनताको पक्षमा काम गर्ने इच्छाशक्ति नै नभएको आरोप लगाउनु भयो । मजदुर, गरीब र बिपन्न बर्गको हित गर्न नसक्ने, महिला बालबालिकाको सुरक्षा र शुसासन कार्यम गर्न नसक्ने ओली सरकार पतनको बाटोमा हिडेको आरोप लगाउँदै उहाँले काँग्रेसले सुरु गरेको जागरण अभियानले काँग्रेस नेता कार्यकर्तालाइ एउटै सुत्रमा बाँधेर सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्ने बताउनु भयो ।

कार्यक्रममा काँग्रेस रुपन्देहीका उपसभापती फणेन्द्र शर्मा, प्रदेश सभा सदस्य रमा अर्याल, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेस महासमिति सदस्य काजिमान श्रेष्ठ, ट्रेड युनियनका प्रदेश उपाध्यक्ष कृष्ण बेलबासे, जिल्ला अध्यक्ष तुलाराम गुरुङ, बरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरी, शिक्षक संघका कुलप्रसाद लामीछाने, काउनका जेवि गुरुङ, व्युटिसियन संघका बिष्णु थापा लगायतले बोल्दै सरकारले मजदुर बर्गलाई उपेक्षा गरेको बताउनु भएको थियो । सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकारले चासो नदेखाएको भन्दै मजदुर नेताहरुले अव नेपाली काँग्रेसले मजदुरको हित र विकासकालागि सरकारलाई दवाव दिनुपर्नेमा जोड थियो ।