Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • ‘प्रत्येक ४० सेकेन्डमा एकजनाले आत्महत्या प्रयास गर्दछन्’

    November 22, 2018


    बुटवल, ६ मंसिर । पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको सरोकारवालाले बताएका छन् । समयको ब्यस्तता तथा सामाजिक, शारिरिक तथा सन्तुलित खानपानको समस्याले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको उनीहरुले बताएका हुन् ।

    सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुर रुपन्देहीले बुटवलमा गरेको मानसिक स्वास्थ्य सम्बन्धि पत्रकार अभिमुखिकरण कार्यक्रममा मानसिक स्वास्थ्य समस्यालाई कम गर्नका लागि जीवनशैलीलाई सरल र सहज बनाउनु पर्ने मनोचिकित्सक डा. मनोज ढुंगानाले बताउनु भयो ।

    चौतारी नेपाल हेल्थ फाउण्डेशन तिलोत्तमामा कार्यरत मनोचिकित्सक डा. ढुंगानाले विश्वमा प्रत्येक ४ मा एक जनामा मानसिक स्वास्थ्यको समस्या हुने बताउँदै प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने जानकारी गराउनु भयो । विश्व स्वास्थ्य संगठनले कुनै पनि रोग वा असक्तता नहुनु मात्र नभई मानसिक तथा शारीरिक रुपमा पनि स्वास्थ हुनुलाई स्वास्थ्यको परिभाषामा राखेको छ । मानसिक स्वास्थ्य समस्या पनि अन्य रोग जस्तै भएकाले मानसिक अस्वस्थ्यता हुँदैमा लाज मान्ने भन्दा पनि त्यसको उपचारमा लाग्नुपर्ने उहाँले बताउनु भयो ।

    हाल नेपालमा समस्याको हिसावले सबैभन्दा अंगाडी क्यान्सर छ भने त्यसपछि उच्च रक्तचाप, सुगर (मधुमेह) र चार नम्बरमा मानसिक समस्या रहेको बताउँदै उहाँले मानसिक समस्या बढ्दै गएकाले अवको केही वर्षमा मानसिक समस्या एक नम्बरमा आउन सक्ने उल्लेख गर्नुभयो ।

    सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रेमबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा यूएमएनका कार्यक्रम ब्यवस्थापक ईश्वर केसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ, सुनगाभाकी मानसिक स्वास्थ्य परियोजना प्रमुख अमृता थापा, दिब्या राना लगायतले मानसिक स्वास्थ्य समस्यालाई कम गर्नका लागि ब्ययामसँगै खानपान र जीवनशैलीलाई सहज बनाउनु पर्ने बताउनुभयो ।

    सुनगाभा सामुदायिक बिकास केन्द्रले विगत ५ वर्षदेखि रुपन्देहीका रोहीणी, सुद्धोधन र कोटहीमाई गाउपालिकामा मानसिक स्वास्थ्य सम्वन्धि कार्यक्रम संचालन गरेको छ । तीन वर्षदेखि लगातार पत्रकारसंग पनि छलफल गर्दै आएको सुनगाभा सामुदायिक बिकास केन्द्र मानसिक स्वास्थ्य परियोजना प्रमुख अमृता थापाले जानकारी दिनुभयो ।