पेशागत सुरक्षाको माग राख्दै शिक्षकद्वारा मन्त्रालय घेराउ

571

पेशागत सुरक्षाको माग राख्दै शिक्षकद्वारा मन्त्रालय घेराउ

बुटवल, ७ मंसिर । पेशागत सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षक तथा बिद्यालयका कर्मचारीले शुक्रबार प्रदेश पाँचको सामाजिक बिकास मन्त्रालय घेराउ गरेका छन् । बिद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीले नेपाल शिक्षक महासंघको आह्वानमा मन्त्रालय घेराउ गरेका हुन् ।

शिक्षक कर्मचारीको पेशागत माग गरेर पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि मन्त्रालय घेराउ गर्नु परेको नेपाल शिक्षक महासंघका प्रदेश पाँचका संयोजक प्रेम भण्डारीले बताउनु भयो ।

महासंघको आह्वानमा प्रदेश राजधानी बुटवलमा भेला भएका शिक्षक तथा कर्मचारीले बिहान राजमार्ग चौराहाबाट ¥याली प्रदर्शन सहित सामाजिक बिकास मन्त्रालयमा पुगेर मन्त्रालय घेराउ गरेका हुन् । गत कात्तिक १६ गते स्थानीय तह, ३० गते जिल्लामा प्रदर्शन गरेका शिक्षकहरुले यहि मंसिर १४ गते काठमाण्डौमा प्रदर्शन गर्ने र त्यतिगर्दा पनि सरकारले आफूहरुका माग सुनुवाई नगरे यहि मंसिरको २१ गतेबाट अनिश्चितकालिन शैक्षिक हड्तालमा उत्रिने कार्यक्रम तय भएको महासंघले जनाएको छ ।

शिक्षक महासंघले विभिन्न २६ सुत्रीय माग राख्दै पटक पटक सरकारको ध्यानार्कषण गराउदै आएको छ । आन्दोलन गर्नकालागि महासंघले रुपन्देहीका सबै सामुदायिक बिद्यालयलाई बन्द गराएर शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागि गराएको थियो ।

बिद्यालयमा कर्मचारी दरवन्दी व्यबस्था गर्नुपर्ने, बाल बिकासमा काम गर्ने बाल सहयोगी कार्यकर्तालाई प्राबि शिक्षक सरह दरवन्दीको व्यबस्था गर्नुपर्ने, प्राविधिक शिक्षा सञ्चालन गरेका बिद्यालयमा पढाउने प्राविधिक शिक्षकलाई स्थायी गर्ने प्रकृया अंगाडी बढाउनु पर्ने, स्थानीय तहले आफूखुसी बनाएका स्थानीय शिक्षा ऐन खारेज गर्नुपर्ने, उच्च माविमा कार्यरत शिक्षकको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरुको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायतका २६ बुँदे माग गरेर शिक्षक कर्मचारी आन्दोलित भएका हुन् ।