नारायणघाट–बुटवल सडक बिस्तार आयोजना सिलान्यास

652

नारायणघाट–बुटवल सडक बिस्तार आयोजना सिलान्यास


बुटवल, ८ चैत । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आगामी ८० सालसम्ममा मुलुकमा सडक निर्माण तथा बिस्तारको कामसम्पन्न गरिने बताउनु भएको छ । उहाँले ८० सालसम्मको युग सडक बिकासको युग भएको बताउँदै त्यसपछिको समय सुरुङ् युगको हुने उल्लेख गर्नुभयो । उहाँले सडक बिस्तारको काम सम्पन्न भएपछि बर्दघाट–दुम्किबास सडकमा सुरुङ् मार्ग निर्माण गरिने बताउनु भयो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणघाट–बुटवल खण्डको चारलेन बिस्तार तथा स्तरोन्नती आयोजनाको शुक्रबार बुटवलमा सिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बिकासलाई कसैले पनि रोक्न नसक्ने बताउनु भयो । उहाँले ८० साल भित्रै सडक बिकासका काम सम्पन्न गरिने बताउँदै आवश्यक ढुङ्गागिट्टि अभावले आयोजनाको काम नरोकिने बताउँदै पहाड फोरेर भएपनि कच्चा पदार्थको अभाव हुन नदिने उल्लेख गर्नुभयो ।
आयोजनालाई समय भित्र निर्माण सम्पन्न गर्न ठेक्केदार कम्पनीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा सडकको सिद्धबाबा खण्डमा छिटै समस्या समाधान हुने बताउनु भयो । त्यस्तै उहाँले कपिलबस्तुको जीतपुर तौलीहवा, लुम्बिनी–तौलीहवा सडकलाई पनि चारलेन बनाउन आयोजना संशोधनकालागि मन्त्रालयलाई निर्देशन दिनुभयो । अहिले भैरहवा–लुम्बिनी सडक बिस्तारको काम भईरहेको छ ।
प्रधानमन्त्री ओलीले लुम्बिनीमा विद्युतीय सवारी साधन चार्ज गर्नकालागि राखिएको स्टेशन हटाउन निर्देशन दिनुभएको छ । लुम्बिनीमा फोहोर गर्ने, प्रदुषण बढाउने र लुम्बिनीको गरिमा बिगार्नेगरी त्यस्तो काम भएको बताउँदै त्यसलाई तुरुन्त हटाउन उहाँले निर्देशन गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले अशान्तिको युग समाप्त भएको बताउँदै बिकास र सुशासनको युगमा शान्ति खलबल्याउने, चन्दा आतंक मच्याउने विप्लव समुहलाई धेरै सम्झाउँदा पनि नमानेकाले प्रतिवन्ध गरिएको बताउनु भयो । सरकारले प्रतिवन्ध गरेको समुहले सरकारको निर्णयलाई नटेरे कानुन अनुसार कारवाही गरिने चेतावनी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले बुटवलबाट काठमाण्डौको दुरी घटेको बताउँदै बर्दियाबाट पनि काठमाण्डौको दुरी घटाउन प्रधानमन्त्री ओलीलाई आग्रह गुर्नभयो । उहाँले प्रदेश पाँचको एउटा सिमाना बुटवल र अर्को सिमाना बर्दिया रहेको उल्लेख गर्दै बुटवल मात्रै नभएर बर्दियाबाट समेत राजधानीको दुरी घटाउन आग्रह गर्नुभएको हो । उहाँले सिद्धार्थ राजमार्गलाई ४ लेनमा स्तर बृद्धि गर्नु पनि संघीय सरकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै पूर्व अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले आयोजना समयमै सम्पन्न गर्न र गुणस्तर कायम गर्न आग्रह गर्नुभयो । उहाँले बर्दघाट दुम्किबास सडक खण्डमा आयोजनालाई संशोधन गरेर भएपनि सुरुङ् मार्ग बनाउन प्रधामन्त्री ओलीको ध्यानाकर्षण गराउनु भएको थियो । पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस हाईवेमा परिणत गर्ने सरकारको निर्णय अनुसार सडक बिस्तारको काम भएको बताउँदै एक्सप्रेस सडककालागि पनि त्यस्ता स्थानमा सुरुङ् मार्ग आवश्यक भएको बताउनु भएको थियो ।
यसियाली बिकास बैंकको ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार ८५१ रुपैंयामा नारायणघाट–बुटवल सडक बिस्तार आयोजनाको ठेक्का सम्झौता भएको छ । ४२ महिनामा निर्माण पुरा गर्नेगरी चिनियाँ कपन्नी चाईना स्टेट कन्स्ट्रक्सन ईञ्जिनियरिङ् कर्पोरेसन लिमिटेड र नेपाल सरकारबिच ठेक्का सम्झौता भएको छ । गैडाकोट–दाउन्ने (६४.४ किमि) र दाउन्ने–बुटवल (४८.५ किमि) दुई खण्डमा विभाजित गरि ठेक्का सम्झौता गरिएको भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले जानकारी दिनुभयो ।